
काठमाडौं । सिंहदरबारका ४ सचिवसहित एक सय भन्दा बढी कर्मचारीलाई (कोभिड–१९) कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र कृष्णबहादुर रावतलाई कोरोना संक्रमण भएको प्रवक्ता महादेव पन्थले बताउनुभयो ।
थपलिया, कोभिड–१९संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)का प्रमुख पनि हुन् । संक्रमण भएपछि सिसिएमसिसीको बैठक समेत बस्न सकेको छैन ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ । संक्रमित सबै सचिवहरू होमआइसोलेसनमा बसेका छन् ।
सिंहदरबारमा संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिमले पीसीआर परीक्षण गरिरहेको छ ।
प्रधानमन्त्री कार्यालयका मात्र ४० कर्मचारीलाई कोरोना पुष्टि भएको छ भने अन्य मन्त्रालयका ६० भन्दा बढी कर्मचारीमा पनि संक्रमण पुष्टि भएको हो । तर, एकीकृत तथ्याङ्क भने अझै आइसकेको छैन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीका अनुसार संक्रमित कर्मचारीलाई बढीमा १४ दिन कोभिड–१९ काज बिदा दिने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्