खोकना पर्यटन महोत्सव २०७६ हुने

news

काठमाडौं, फागुन २ । ‘भूकम्पपछिको खोकना, स्थानीय सीप र संस्कृति जगेर्ना’ भन्ने नाराका साथ यही फागुन ९ गतेदेखि ११ गतेसम्म खोकना पर्यटन महोत्सव २०७६ हुने भएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ललितपुर महानगरपालिका वडा नम्बर–२१ मा रहेको खोकना गाउँलाई महत्वपूर्ण ग्रामीण पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न यो महोत्सवको आयोजना गरिएको जानकारी गराइएको छ ।

यस महोत्सवमा मौलिक संस्कृति तथा लोकप्रिय नेवार परिकार, परम्परागत दाफा भजनको साथै वाद्य परम्पराको बृहत् प्रदर्शनी गरिनेछ ।

खोकनाको लोभ भइसकेको प्राचीन जीवनशैलीकोसमेत जीवन्त प्रस्तुति रहने यस महोत्सवमा नेवाः मौलिक वास्तुकला, लाखेनाच, स्थानीय सीप तथा उत्पादनसमेत अवलोकन र संकलन गर्न सकिनेछ ।

शुद्ध तोरीको तेलका लागि ख्याति कमाएको खोकना नेपालमै पहिलो र एसियाको दोस्रो आधुनिक विद्युतीय बत्ती बलेको गाउँ हो भने पहिलो कलधाराको शुद्ध पानीको व्यवस्था भएको गाउँ पनि हो ।

साँस्कृतिक परम्पराले ध्यान तान्दै आएको खोकनामा दसैं मनाउने चलन छैन । स्थानीय जात्रापर्वमा रमाउने यहाँको जीवनशैलीमा सुँगुर, बंगुर र कुखुरा पूर्णरुपमा निषेध छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आयोजना हुने यो महोत्सवले नयाँ ऊर्जा र आत्मबलका साथ खोकना उठ्दैछ भन्ने सन्देश दिने पनि आयोजकले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...