प्रधानमन्त्रीको सम्बोधनः सरकारको दुई वर्षे कार्यकाल सफल, संविधानको स्वीकार्यतामा समस्या छैन, सुन तस्करको लाइन तहसनहस

news

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको दुई वर्ष कार्यकाल सफल भएको दाबी गरेका छन् । सरकार गठन भएको दुई वर्ष पूरा भएको अबसरमा संसदमा आज सम्बोधन गर्दै उनले दुई वर्षे कार्यकाल उपलब्धीमूलक र सफल रहेको दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको पहिलो वर्ष आधार वर्ष भएको र चालु दोस्रो आर्थिक वर्षलाई विकासको आरम्भको वर्ष भएको बताए ।

बलियो जगमा उभिएको सरकार भएकाले काम गर्ने शैली फरक रहेको भन्दै उनले आफ्नै आयु र भविष्यको टुंगो नभएको सरकारले गर्ने काम र बलियो जग र भविष्यको टुंगो भएको सरकारले गर्ने काम फरक हुने बताए ।

संविधानको स्वीकार्यतामा समस्या देखिंदैन भन्दै प्रधानमन्त्री ओलीले वित्तिय संघीयता कार्यान्वयनमा आएको बताए । वर्तमान सरकारले लोकरिझ्याँइ र इच्छासूचीका योजना नल्याएको भन्दै उनले भ्रष्टाचार न्यूनीकरण, गरिवी निवारणमा सरकारले सफलता हाँसिल गरेको उल्लेख गरे ।

सरकारले अनुभूति गर्नेगरी काम गरेको र राज्यको सम्पत्ति दोहनका विषयमा निष्पक्ष छानबीन गरिने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले दुराचार र दुराचारी, भ्रष्टाचार र भ्रष्टचारीका सम्बन्धमा मुखमा पानी हालेर बस्ने बानी छैन भन्दै जो जतिसुकैै उच्च ओहोदा वा कथित पहुँचवाला भएपनि तिनको मुख हेरेर सजाय नतोकिने दृढता व्यक्त गरे ।

सार्वजनिक जग्गा हडप्नेविरुद्ध र राजश्व अपचलनका कसुरका विरुद्धमा लाग्दा आलोचना खपेको भन्दै अदालतले छोडेका बाहेक अन्य तस्करहरु जेलमा रहेको, सुन तस्करीको लाइन तहसनहस पारिएको छ, भने ।

उनले राज्यको लुटिएको सम्पत्ति फिर्ता गरेरै छाड्ने भन्दै बालुवाटार र ललिता निवास जग्गा प्रकरण, सुन प्रकरण, वाइड वडी प्रकरणमा निष्पक्ष छानबीन हुने स्पष्ट पारे ।

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको भूमिका र पहुँच विस्तार भएको भन्दै प्रधानमन्त्री ओलीले संवादबाट सीमा विवाद समाधान गरिने बताए ।

सामाजिक सुरक्षा कार्यक्रमको दायरा बढेको र श्रमिकको ज्याला बढेको प्रधानमन्त्रीको भनाई थियो । रेल मार्गहरु सरकारको ड्रिम प्रोजेक्ट भदै उनले शहरी क्षेत्रमा छिट्टै विद्युतिय बस सञ्चालन गरिने उल्लेख गरे ।

सरकारले चटके नभइ दिगो परिणाम हुने गरी काम गर्ने प्रधानमन्त्रीको भनाइ थियो । उनले देश अब तुइनमुक्त भएको दाबी गर्दै एक सय ३० भन्दा बढी तुइन रहेकोमा अब १०–१५ वटा मात्रै बाँकी रहेको बताए । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...