प्रधानसेनापति म्याराथनको उपाधि होमलाललाई

news
विक्रम गिरी/रासस ।

काठमाडौं, फागुन ३ । प्रधानसेनापति खुला म्याराथनको पाँचौं संस्करणको उपाधि नेपाली सेनाका जमदार होमलाल श्रेष्ठले जितेका छन् ।

नेपाली सेनाले शनिबार आयोजना गरेको सो प्रतियोगितामा उनले ४२.१९५ किलोमिटरको दूरी दुई घन्टा २२ मिनेट १७ सेकेन्डमा पूरा गरे ।

होमलालले साविक विजेता सेनाकै जमदार कृष्ण बस्नेतलाई पछि पार्दै रु एक लाख २५ हजार तथा मोटरसाइकल पुरस्कार प्राप्त गरे ।

दोस्रो भएका कृष्णले उक्त दूरी दुई घन्टा २३ मिनेट ४९ सेकेन्डमा पूरा गरी रु ६५ हजार तथा तेस्रो भएका सेनाका प्यूठ नवराज साउदले दुई घन्टा २९ मिनेट ३६ सेकेन्डमा दूरी पूरा गरी रु ३५ हजार पुरस्कार प्राप्त गरे ।

यस्तै, सेनाका अमल्दार ज्ञानप्रसाद भट्टराई र जमदार वेद सुनवार चौथो तथा पाँचौं हुँदै क्रमशः रु २५ हजार र रु १५ हजार प्राप्त गरे ।

यसैगरी, सेनाका अमलदार मोहनदेव जोशी, सिपाही जुनेश खड्का, सिपाही भूमिराज राई, अमलदार विनोद सिजापति र सिपाही निरजसिंह मडै क्रमशः छैटौं, सातौं, आठौं, नवौं र दशौं भए । उनीहरुले क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार, रु तीन हजार र रु दुई हजार पुरस्कार प्राप्त गरे ।

म्याराथनको पहिलो संस्करणको उपाधि नेपाल पुलिसका भूमिराज राई, दोस्रो संस्करणको उपाधि सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की तथा तेस्रो र चौथो संस्करणको उपाधि सेनाकै कृष्ण बस्नेतले जितेका थिए ।

यस्तै, पुरुष हाफ म्याराथनको उपाधि भारतीय सेनाका तीर्थ पुनले जिते । उनले २१ किलोमिटर दूरी एक घन्टा पाँच मिनेट पाँच सेकेन्डमा पूरा गरे ।

सेनाका खगेन्द्र भाटले एक घन्टा पाँच मिनेट ५८ सेकेन्डमा सो दूरी पूरा गरी दोस्रो तथा सेनाकै दीपक अधिकारीले एक घन्टा सात मिनेट दुई सेकेन्डमा उक्त दूरी पूरा गर्दै तेस्रो भए ।

महिलातर्फको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी पुष्पा भण्डारीले जितिन् । उनले निर्धारित् दूरी एक घन्टा १७ मिनेट आठ सेकेन्डमा पूरा गरिन् ।

यस्तै, नेपाल पुलिसकी राजपुरा पछाईंले उक्त दूरी एक घन्टा १८ मिनेट ३७ सेकेन्ड तथा सेनाकी विश्वरुपा बुढाले एक घन्टा २० मिनेट २२ सेकेन्डमा पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो भए ।

हाफ म्याराथनमा पुरुष र महिला दुवैतर्फका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार पुरस्कार प्राप्त गरे ।

यसैगरी हाफ म्याराथनको ४५ वर्षभन्दा बढी उमेरतर्फ धर्म महर्जनले उपाधि जिते । सो स्पर्धामा भीमबहादुर गुरुङ दोस्रो तथा भीमसेन अवाले तेस्रो भए । उनीहरुले क्रमशः रु ४० हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार प्राप्त गरे ।

१० किलोमिटर दौड सैनिक सहचारी पुरुषतर्फ भूपेन्द्रसिंह रावत पहिलो, दिनेश घले दोस्रो तथा दुरा इमुरुगन तेस्रो भए ।

यस्तै, १० किमि दौड अधिकृत पुरुषतर्फ सहसेनानी नवराज थापा पहिलो, सहसेनानी अजयजंग सुवेदी दोस्रो तथा सेनानी चन्द्रबहादुर थापा तेस्रो भए ।

१० किमि दौड अधिकृत महिलातर्फ सहसेनानी देवी पुन, सहसेनानी रश्मिला अर्याल र उपसेनानी सीता कुँवर क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । उनीहरुले क्रमशः १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

पाँच किमि दौड छात्रतर्फ सैनिक आवसीय महाविद्यालयका ईश्वरचन्द्र बस्नेत पहिलो भए । सोही विद्यालयका प्रवीणराज अधिकारी दोस्रो तथा थापसी तिलिङटारका सविन राई तेस्रो भए ।

छात्रातर्फ विजेश्वरी ज्ञान मन्दिरकी स्वेच्छा बलामीमगर पहिलो, सोही स्कुलकी सुनिता श्रेष्ठ दोस्रो तथा विजेश्वरीकै रचना रानामगर तेस्रो भइन् । उनीहरुले क्रमशः १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरे । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...