जातीय विभेदको शिकार बनेकी चेली दीपा नेपालीलाई चिट्ठी

news

-सन्जिब कार्की  

प्रिय बैनी दीपा नेपाली,

मिठो स्मृति !

उर्जायुक्त आशीर्वाद !!

जातीय विभेदको सिकार बनेर तिमीलाई पनि हाम्रो समाज, देशको राजधानी शहर काठमाडौंले प्रताडित गरेको खबर सुनेर स्तब्ध छु । फेरि अर्को पटक आफ्नो अनुहारमा कालो पोतेको अनुभुति भएको छ । मानौं त्यो बिभेद गर्ने पात्र म नै हुँ । काठमाडौं जसले सिङ्गो देशको प्रतिनिधित्व गर्छ त्यही शहर जहाँ मानवता हराएको र मानवीय मूल्य गिरेको अनुभव गर्नुपर्दा तिमीलाई जति पीडा छ मलाई पनि त्यो भन्दा कम अनुभुति छैन । म गैरदलित समुदायको मान्छे भएकाले मेरो समुदाय मार्फत घटीत घटनाको दोषी म पनि हुँ । त्यो घटना मेरो समुदायको चेतना र चरित्रसँग जोडिएको छ तसर्थ म स्वयं उक्त घटनामा कारवाहीको भागीदार हुँ । मैंले विनित भावमा तिमी मार्फत त्यो पीडित उपेक्षित समूदायसँग क्षमा माग्छु र वचनवद्धता व्यक्त गर्द्छु । म छुवाछूत गर्दिन र सकेसम्म अरुलाई पनि गर्न दिने छैन । जसले छुवाछूत गर्छ, जातीय भेदभाव गर्छ उसको विरुद्ध मानवअधिकार उलंघनको अभियोगमा उजुरी गर्छु । विभेदको विरुद्ध आफ्नो ठाँउबाट लेख्छु बोल्छु, सामाजिक ‘एडभोकेसी’ गर्छु । म दलित समूदाय लगायत सबै भेदभावजन्य कसुर र अपराधको विपक्षमा सकेको योगदान दिन्छु ।

प्रिय दीपा,

म एक सामान्य भुइँ मान्छे हुँ । मेरो आवाज र प्रतिबद्धता केवल आत्मसन्तुष्टी हो । शक्ति र राज्य सत्तासँग पार्टी र तिनका नेतासँग मेरो साइनो सपना छैन । खोज्दै जाँदा गोरु बेचेको साइनोसम्म पर्ला तर पहुँच र प्रभाव पार्ने मेरो सामर्थ्य छैन । हामी हैसियत नभएका मान्छेको कुरा त कसले सुन्ला र ? तर पनि तिमीलगायत जातीय भेदमा परेका मान्छेहरुप्रति बोल्नु मेरो कर्तव्य हो । जिम्मेवारी हो । मानवीय धर्म हो अतः म तिमी जस्तै पीडितहरुको पक्षमा लेख्छु बोल्छु । व्यक्तिको पीडा भन्दा समुदायको पीडा ठूलो छ । जातीय भेद, छाउ, दाइजो, बोक्सी र भूत प्रेतको मानसिकताले हाम्रो समाजमा गहिरो जरा गाडेको छ यो जरा आज गाडीएको होइन र सामान्य मान्छे जनस्तरले गाढेको पनि होइन । त्यो त राज्यले हुर्काएको, बढाएको कुपरम्परा र कुप्रथा हो जसको मुल जिम्मेवार राज्य हो । सरकार हो । त्यो हिजोको राज्य होस या आजको ? राज्यमा सरकार त्यस्तो अविच्छिन्न उत्तराधिकारी हो जसले आज पर्यन्त पनि जात धर्म संस्कार र संस्कृतिको नाममा छुवाछूत हुन्छ । विभेद हुन्छ जसको आडमा मान्छे मारिनुपर्छ । लैङ्गिक विभेद हुन्छ । बोक्सी छाउ ,जातीय बिभेदको कारण मान्छे अपमानित हुनुपर्छ, तिरस्कार र बहिष्कार खप्नुपर्छ । गाली बेइज्जती र हुल हुज्जत सहनुपर्छ । यी यावत कुकृत्यको जबाफदेही सरकारहरु हुन र हुनुपर्छ । व्यक्ति समाज र क्षेत्रले आज सिर्जित, निर्मित परम्परा होइन यो त्यसैले व्यक्तिले, समाजले गर्ने कुकर्मको जबाफ सरकारले दिनुपर्छ ।

राज्य निर्मित कुप्रथा आज पनि जिवन्त रहिरहनु भनेको सरकारहरुको कमजोरी हो अकर्मण्यता हो । अबुझता हो । सरकारी खेलाची र हेलाँची हो त्यसैले पहिलो खबरदारी सरकार र तिनका संचालकलाई गर्नुपर्छ । जातीय छुवाछूत जन्य भेदभावको पाप र अपराध तिनीहरूलाई लाग्नुपर्छ जसले शिक्षा, संस्कृति मन्त्रालय पाएर पनि कुप्रथा त्याग्ने शैक्षिक पाठयक्रम पढाउन सकेनन् , नैतिक नागरिक उत्पादन गर्न सकेनन् । रुढीबादी संस्कार र संस्कृति जो असाध्यै हानिकारक छ्न तिनलाई बदल्न रचनात्मक र सकारात्मक पहल गर्न सकेनन् । जातीय विभेद अब राजा जयस्थिती मल्ललाई श्राप दिएर र जंग बहादुरलाई गाली गरेर अन्त्य हुन्न । न स्वस्थानी कै पन्ना च्यातेर सम्भव छ न वेद र पूराण जलाएर सम्भव हुन्छ । हो हाम्रो समाज अहिले पनि धर्म सत्ताले शासित छ । समाज धर्म सत्ताले शासित भै रहनुमा हाम्रो सरकारको असक्षमता छैन र ? किन हाम्रो देश समाज हाम्रा प्रतिनिधिले खर्बौं खर्च गरेर बनाएको संविधान, ऎन कानुन र नियमले शासित हुदैन ? समाजमा प्रत्येक व्यक्तिका लागि बनाइएको समानता र स्वतन्त्रताको संबैधानिक ग्यारेन्टी संविधानको सुन्दरता र सुसोभनका लागि मात्रै हो त ?

दीपा बैनी,

म तिम्रो पृष्ठभुमि र हैसियत बारेमा स्मरण गराउछु है । तिमी कानुनमा स्नातक र अंग्रेजी विषयमा स्नातकोत्तर अध्य्यनरत विद्यार्थी । जनयुद्ध लडने बाबुकी छोरी, तत्कालीन वाइसीएल र नेकपा माओवादीको जुझारु विधार्थी संगठन अखिल क्रान्तिकारीकि केन्द्रिय सदस्य, सामाजिक अभियन्ता र समाजसेवी, लेखिका, केही गरौं र समाजमा नयाँपन भित्र्याउन मरिहत्ते गर्ने बहुप्रतिभा भएकि व्यक्ति  । तिम्रो परिचय र पहिचान धेरथोर देशव्यापी छ । बिडम्बना ! तिमी नै एक दमाइकी छोरी हुनुको कारण अन्यायमा छौ भने कहिँ कतै पहुँच र प्रभाब नहुने दलित समुदायको अवस्था कस्तो होला ? हामी कल्पना गर्न सक्छौं तर भोग्दाको पीडा हाम्रो कल्पना र लेखनी भन्दा पक्कै भयावह र कहालीलाग्दो छ । भोगाइको ब्यथा शब्दमा म जस्ताको तस्तै अभिब्यक्त गर्न नसक्न सक्छु तर तिम्रो दुःखमा दुख्ने मन छ मेरो पनि । तिम्रो पीडा ऎया आँखाबाट खसेको आशु हेरेर विचरा भनेर सहानुभूति दिनसक्छु तर आँसु पुछ्न सक्दिन बैनी । क्षमा गर । कारण म पहुँचवाला राज्य संयन्त्रको कुनै नीतिगत निर्णय गर्ने र कदम चाल्ने निकायको प्रतिनिधि होइन केवल तिम्रो दुख सुन्ने भुइँमान्छे हुँ । तिम्रो शुभेच्छुक मात्रै हुँ । म केवल  सरकारलाई खबरदारी गर्छु तिमी पनि गर है ।

समतामूलक समाजको सपना देखेर ज्यान जोखिममा राखेर जनयुद्ध लडने तिम्रा पिताजीलाई राजधानी शहरमा डेरा बस्दा जातीय बिभेदको शिकार आफ्नी छोरी बनेको सुनेर कस्तो लाग्यो होला ? जब कि प्रचण्ड कार्यकारी अध्यक्ष रहेको पार्टी नेकपाको झन्डै दुई तिहाई बहुमत प्राप्त सरकार, कम्युनिस्ट सरकार छ । १४ वर्ष जेल जीवन यापन गरेका क्रान्तिकारी नेता देशका प्रधानमन्त्री छन् । केन्द्रिय क्याम्पस त्रिभुवन विश्वविद्यालय कि सत्ता सम्बद्द अखिल कि विद्यार्थी नेतृले जातीय बिभेदमा परे भनेर हारगुहार गर्नु परेको छ ।

आफ्नो परिचय आफ्नै लागि भारी र अपमानको तथ्य पस्कनु परेको छ । यतिबेला मलाई लाग्ने लाज सत्तासिन र सत्ता उपभोग गरेका अनि सत्ता उन्मुख तिनका पार्टी र नेताकार्यकर्तालाई  लाग्नुपर्ने हो । लाज प्रचण्डलाई लाग्नुपर्ने हो, ओलीको छाती नमिठो गरेर पोल्नुपर्ने हो, शेर बहादुरले संसद अवरुद्ध गर्नुपर्ने हो । धन्न काङ्ग्रेसका मीन विश्वकर्माले संसदमा बोलेर कर्मकाण्ड पूरा गरे । तर खै अरु दलित संसदहरुले बोलेको किन साझा एजेन्डा र मुद्दा बन्दैन पार्टीहरुको लागि दलितको सबाल ? हेर बैनी कोठा नपाउनु एउटा दुःख र पीडा, अपमान र सास्ती अर्को कष्ट तर यहाँ पानी छोएको निहुँमा मान्छे मारिन्छ्न, उच्च जातिसँग प्रेम गरेको कारण मान्छे मारिन्छ्न । जातीय छुवाछूत र भेदको कारण काब्रेकी लक्ष्मी परियार, अजित मिजार र दैलेख कि मुना सार्की हामीले गुमाएको धेरै भएको छैन ।

बोक्सीको आरोपमा मनिता मगर धादिङमा मारिएको घाउ आलै छ । यी सब घटना, परिणाम र कारण राज्य संरक्षित काला कुप्रथा र घिनलाग्दा विश्वासको कारण भएको हो । तर हाम्रो कानुन कागजको फूल झैं सुन्दर छ तर सुवासित र सजाउन योग्य छैन । कारण हाम्रा कानुन पालक र नियामक निकायमा एक छत्र ब्राह्मणवादको वर्चस्व छ । अरु जति दलित प्रतिनिधि र ब्यक्तिहरु छ्न तिनीहरू पनि आफ्नो समूदाय र बर्ग भन्दा पार्टी प्यारो सम्झन्छन् । तसर्थ दलितको मुद्दाले राष्ट्रिय आकार ग्रहण गर्न सक्तैन । अरुलाई त दुखेन-दुखेन तर दलित संसद र प्रतिनिधिलाई लक्ष्मी परियारको मृत्यु र मुना सार्कीको मरण अनि अजित मिजारहरुको नियति सामान्य लाग्यो ।

कर्मकाण्डी बिरोध गरे तर प्रभावकारी हस्तक्षेप गर्न सकेनन् सबै संसदमा प्रतिनिधित्व गर्ने दलित प्रतिनिधिले संसद र सिहदरबारमा लम्पसार परेर मर्न ज्यानको माया गरे । दलित अधिकारकर्मीको पनि चाला र माला उही छ । दलीय कोटामा सत्ता र भत्ताको लागि मात्रै जात जातीको पसल खोल्छ्न र दलितको नाममा आफ्नो भाग सुरक्षित गर्छन् । यो आरोप होइन बैनी सत्य हो । कटु सत्य । विभिन्न ताबेदारी, दाबेदारी र भाग शान्तिको लागि खोलिएका दलित अधिकार कर्मीको पसलले सामाजिक न्याय थोरै दियो तर आफ्ना लागि धेरै लियो ।

सामाजिक न्याय र दलित समुदायको मुद्दा पार्टीहरुको संसद बन्द गर्ने मुद्दा बन्न सकेन । सामान्य झीना मसिना कान्डमा अबरुद्ध हुने संसद पार्टीहरुले ६० लाख दलितको मुद्दा अमानवीय पीडा खेप्न विवश समुदायको हकको खातिर कहिल्यै बन्द गर्ने हिम्मत जुटाएनन् । अब पनि राजा महाराजाहरुलाई गाली गरेर क्रान्तिकारीहरुले आफ्नो अक्षमता ढाकछोप गर्न सुहाउँदैन । समतामूलक समाज र दलितको मानवअधिकार राज्यले संरक्षण गरेन भने दीपा नेपाली र धना परियारहरुले भोग्ने पीडा सहने अपमान उस्तै रहन्छ जस्तो हिजो थियो आज छ र भोलि रहनेछ । देशभर सर्वत्र फिजिएको भेदभावपूर्ण जातीय जालोको पर्खाल च्यात्न तिमी झैं हिम्मतवाली, हिम्मतवाला व्यक्ति र सामाजिक अभियन्ताहरुको खाँचो देशको आजको पहिलो आवश्यकता हो ।

प्रिय बैनी,

एक पटक आफ्नो समूदाय र त्यहाँ भित्र रहेको आन्तरिक बिभेदको पनि अवस्था हेरौं है । दलित–दलित बिच पनि पानी नचल्ने र छोइछिटो गर्ने जुन प्रचलन छ त्यो निन्दनीय छ । त्यसलाई सुधार्नु अत्यावश्यक छ । आफैं बिचको बिभेदको अन्त्य नगरी अरुले गरेको भेदभावको बारेमा बोल्ने र आवाज उठाउने नैतिक हक सुरक्षित हुँदैन । त्यसैले सर्वप्रथम आफूहरूबीचको भेद चिर्न सक्नुपर्छ । दलित भित्रका पनि दलितहरु कामी–सार्की, दमाई, बादी, चमार र डोमले एकापसमा सम व्यबहार र समता कायम गर्नुपर्छ ताकि अरुले प्रश्न गर्ने ठाँउ नपाउन ।

दलितले दलितलाई विश्वास नगर्ने बातावरणको अन्त्य गर्नुपर्छ । नत्र एकमात्र दलित उम्मेद्बार भएको क्षेत्र दलित समुदायको मत बाहुल्य क्षेत्रमा अरु गैरदलित निर्वाचित हुने र दलितको मत सुनाउन पनि लाज लाग्ने स्थितिको हुनसक्छ । जस्तो कि गत उपनिर्वाचनमा बाग्लुङमा दलित उम्मेद्बारले दुई सय असी मत प्राप्त गरे जहाँ १३ हजारको हाराहारीमा दलित मतदाता रहेको आँकडा छ यसो हुनुमा दलितले दलितलाई अविश्वास गरेको कारण हो । आफ्नो टेक्ने जमिन निर्माणमा पहिले ध्यान केन्द्रित गरौं ।

बैनी, यो देशमा ज–जसले शासन गरे तिनीहरू सत्तामा पुगेपछि अन्धा र वैरा हुन्छन् । जनताका समस्या हत्तपत्त सुन्दैनन नत्र आफ्नो समस्या सुनाउन बादी महिलाहरूले सिंहदरबारको गेटमा नाङ्गै हुनु पर्थेन । निर्मलाको न्यायको लागि पेटीकोट मात्रै लाएर महिलाहरु माइतीघरमा उभिनु पर्थेन । हाम्रो सरकारको छाला बाक्लो छ, श्रवण शक्ति क्षिण छ । प्रतिपक्ष आलंकारिक मात्रै छ । त्यसैले यिनीहरु जनताको पीर मर्का बुझ्दैनन । सत्ता र प्रतिपक्ष मात्रैले देशको न्याय प्रणाली चल्दैन ।

राजनीतिशास्त्र भन्छ सत्ता र प्रतिपक्षले मात्र राज्य अपुरो हुन्छ । हरेक समाजमा दबाब समूह हुनुपर्छ जसले राज्यको अभिन्न अंगका रूपमा संस्थापनको खबरदारी गर्छ र जनपक्षीय निर्णय गर्न बाध्य बनाउँछ । अब जातीय बिभेदको अन्त्यको लागि गोविन्द केसीहरु बोल्नुपर्छ । सुशिला कार्की सडकमा निस्कनुपर्छ । केदारभक्त माथेमाले बौद्धिक खबरदारी गर्नुपर्छ । श्याम श्रेष्ठ र खगेन्द्र संग्रौलाले अखबारी लेखन भर्नुपर्छ । दमन ढुङ्गाना, कृष्ण पहाडी, देवेन्द्रराज पान्डेले राजनीतिमा दवाव दिनुपर्छ ।

विभिन्न पार्टीका युवा नेताहरूले शसक्त र संगठित भएर संसदमा लबिङ गर्नुपर्छ । पार्टीहरुका नर्सरी विद्यार्थी संघ संगठनको साझा र ताजा एजेन्डा दलितको समस्या बन्नुपर्छ । ताज्जुब लाग्ने र दुःख लाग्ने कुरा यो छ कि अखिल जस्तो शसक्त र जुझारु संगठनले जातीय बिभेदको मुद्दा उठाएर सडक तताएन । विश्व विद्यालयमा बौद्धिक बहस चलाएन । समाजमा सकारात्मक हस्तक्षेप गरेन । आफ्ना नेताहरूको कुकर्मको ढाकछोप गर्ने ढाल र हतियार बन्न मन्जुर गर्यो तर समाज परिवर्तन गर्ने जातीय भेदको अन्त्यको पुण्य कर्ममा जोडीन सकेन । यसको नेतृत्व गर्न समाज ब्युझाउने कर्ममा चुक्यो । उदासिन र बेपर्वाह रह्यो । दलितको समस्या महाअभियान भनेर देश र दुनियाँ पुग्नुपर्ने थियो । तर सकेन, पुगेन ।

अब देशभर निर्वाचित दलित जनप्रतिनिधिले आवाज मुखरित गर्नुपर्छ । गैर दलितलाई पनि बर्जित र प्रतिशोध नराखेर संयुक्त हातेमालो गर्दै जातीय भेद अन्त्य गर्न साररी र साथी बनाएर अघि बढनुपर्छ । देश जातीय विभेद मुक्त बन्न कतिबेर लाग्दैन । सबै घर परिवारबाट छुवाछूतरुपी कलंक मेटने संकल्प गर्यो र सरकारले विभिन्न ढंगले, बिबिध रुपले  फ्यासीलेटेड गर्यो भने असभ्य बर्बर प्रचलनको चिहान बन्न समय लाग्दैन । दलित जनजाति, महिला र उत्पीडित बर्गको समस्या राज्यलाई दुख्नुपर्छ, राज्यलाई बिझ्नुपर्छ । देशको प्राज्ञिक र बौद्धिक बर्गलाई खटकिनु पर्छ । विभिन्न पेसा र ब्यवसायमा अब्बल भएकाहरुको नजरमा पर्नुपर्छ ।

प्रिय बैनी,

तिमी कानुन कि पनि विद्यार्थी, अनेरास्ववियुकि नेता तिमीले आफ्ना नेता र प्रधानमन्त्रीलाई प्रश्न गर्नुपर्छ । के दलित यो देशका नागरिक होइनन् ? दलितको निर्वाध स्वतन्त्रता भनेको दलित भएको कारण कोठा नपाउनु हो ? कोठा पाएपनि अपमान पूर्वक निकालिनु हो ? जात ढाँटेर म आफ्नो आत्मसम्मान कसरी घटाऊ ? दलितको मानवअधिकारको रक्षा कसले र कहिले गर्ने ? खै दलितको लागि न्याय ? खै हाम्रो सम्मान ? दोस्रो दर्जाको नागरिक मात्रै होइन पशु भन्दा तल रहेर बाँच्नुको दर्द कसरी देखाउ ? अहिलेसम्म पाएको पीडा र अपमानको सोध भर्ना कहिले र कसरी हुन्छ ? आज पनि दलितको पक्षमा निर्णय गर्ने सामर्थ्य मेरो सरकारले राख्दैन भने मैंले १३ वर्षको कलिलो उमेरदेखि माओवादी आन्दोलनना लागेर आज नेकपा बन्नुको औचित्य अब देख्छु देख्दिन भनेर सोध सरकारलाई ।

खबरदारी गर प्रचण्डलाई ? चोर औंला देखाउ दलित प्रतिनिधिलाई । कान दुख्नेगरी चिच्याउ यो देशका नीति निर्माताहरुको । दलित भएको कारण अपमानित बनेर, पानी छोएको निहुँमा मारिएर कतिन्जेल सहेर बस्ने ? तिमी पनि म जस्तै मान्छे हौ बैनी आफ्नो हकको खातिर समुदायको अधिकारको निमित्त बोल, लेख, संंघर्ष गर । आवाजवीहिनहरुको आवाज बन । पार्टीको अन्धभक्त कार्यकर्ता मात्रै नबन दलित आन्दोलन, सभ्यता र समतामूलक अभियानको राष्ट्रिय अभियन्ता बन शुभकामना ।

प्रिय बैनी , मेरो लेखनी तिमी र तिमी जस्ताहरुको दुखेको घाउमा मलमपट्टी बनोस भन्ने हेतुले सार्वजनिक गरेको छु । कतै दुखाए पिराए भने क्षमा चाह्न्छु । तर मानवीय पीडा र संवेदना बेचेको आरोप नलागोस । आँशुको ब्यापार गरेको अर्थ नदेखियोस । म दलित समूदायको मान प्रतिष्ठा सम्मान र इज्जत सबै नेपालीको बराबर हुनुपर्छ भन्ने अभियानकर्मी हुँ । मेरा भाव सन्देश र सचेतता सरकार र हामी सबैको लागि हो । विभेद बिरुद्ध तिम्रो अबिराम अविरल यात्रा रहोस आशीर्वाद र शुभकामना छ प्रिय बैनी । तिम्रो होस्टेमा हैंसे गर्ने वचन वद्द्ता प्रकट गर्दै बिदा चाह्न्छु । नागरिक स्वतन्त्रता सम्मान र समान सहभागीता प्रजातान्त्रिक मुलुकको सुन्दरता हो । त्यो प्राप्त गर्न हर नागरिक हरदम तयार र सचेत रहनुपर्छ ।  शुभेच्छुक दाइ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...