इतिहास त दोहोरिएला तर..

news

-हरिविनोद अधिकारी

नेपालको राजनीति अनुमान गर्न नसकिने गरी विकसित भइरहेको अवस्था छ । नेपालको राजनीतिक भविष्य हाम्रा हातमा रहेन छ भन्ने  झन झन प्रमाणित हुँदैछ । नेपाल कम्युनिस्ट पार्टीका भित्रको विवाद र नेपाली काँग्रेसभित्रको भाँडभैलो कहिले सेलाउँछ त कहिले जागाजोती भएर देखापर्छ । झन अहिले सत्तारुढ नेकपा भित्रको अमेरिकी परियोजना मिलेनियम च्यालेन्न कर्पोरेसनको वारेमा देखिएको रहस्यमय विवादले विदेशी पकड दलहरुमा कसरी बढेको रहेछ भन्ने जगजाहेर भएको छ । कुरो स्पष्ट देखिन्छ—एम सी सी एउटा बहाना हो, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको सैद्धान्तिक अस्पष्टता कति रहेछ भन्ने उदाहरण पनि हो । कुरो चीन र अमेरिकासँग जोडिएको रहेछ । कम्युनिस्ट पार्टीहरुले अमेरिकालाई कसरी हेर्छन् भन्ने कुरा उनीहरुको आन्तरिक राजनीति र रणनीति हो तर नेपाल र अमेरिकाकाले सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरोचाहिँ नेपाल सरकारको हो जुन सरकार प्रजातान्त्रिक परिपाटीले निर्वाचित भएर मुलुक सञ्चालन गरिरहेको छ ।

भनिन्छः इतिहास आफैँ दोहोरिन्छ । अर्थात् राजनीतिमा सत्तासीनहरुका लागि सत्ता धरापमा पर्ने परिस्थिति बारम्बार उस्तै देखापर्छ , सत्तामा हुनेले सत्ता नछोड्न गर्ने सम्पूर्ण वैध र अवैध तरिका उस्तै हुन्छन् र नेतृत्वदायी व्यक्तिहरुले त्यस्ते व्यवहार दोहोर्‍याउँछन् जस्तो कि पहिले पनि भएको थियो । त्यो इतिहास दोहोर्‍याई सकारात्मक पनि हुन्छ र धेरै नकारात्मक हुन्छ । नेकपामा वामदेव गौतमजीको साँसद बन्ने नबन्ने विवादले त्यही कुरा झल्झली सम्झाउँछ जुन कुरो किसुनजी( कृष्णप्रसाद भट्टराई) आफैँ प्रधानमन्त्री हुँदै गराएको २०४८ सालको आम निर्वाचनमा हारेपछि त्यसपछिको उप निर्वाचनमा उठ्दा देखिएको थियो ।

किसुनजी कहिले भन्नुहुन्थ्यो यो पाँच वर्ष म उठ्दिन किनभने किसुनीका लागि स्थान रिक्त गर्ने थुप्रै कार्यकर्ताहरु साँसद बनेका थिए । तर किसुनजीले आफू पाँच वर्षका लागि कुनै निर्वाचन नलड्ने बताउँदै आउनु भएको थियो किनभने उहाँ नै पार्टीको सभापति पनि हुनुहुन्थ्यो । अचानक उहाँलाई पराजित गर्ने नेकपा एमालेका महासचिव मदन भण्डारीको दुर्घटनामा निधन भएपछि त्यही क्षेत्रमा उप निर्वाचन हुने भयो । अनि आफैँ पार्टीको सभापति हुनुभएको दल नेपाली काँग्रेसबाट उप निर्वाचनमा किसुनजीलाई नै उठाउने निर्णय भयो । त्यो बेलामा किसुनजी फेरि प्रतिनिधि सभामा निर्वाचित भएर आउनु भनेको भावी प्रधानमन्त्री हुन आउनु जस्तै थियो या उहाँ सँसदमा  आउनु भनेको गिरिजाबाबुको प्रधानमन्त्री पद छिन्नु थियो भनेर बुझियो र नेपाली काँग्रेसमा त्यही बेलादेखि नै घात अन्तर्घातको दोषारोपणको विषारोपण भयो जसको तुस अझै पनि बाँकी छ ।

फेरि त्यस्तै कथा सत्तासीन नेकपा पनि दोहोरिएको छ । अहिलेको  कथा अलि भिन्न त छ तर जडमा त्यही सत्ताको सेरोफेरो र प्रधानमन्त्रीको पदमा नयाँ व्यक्तिको पदार्पण सम्भव देखिन्छ । वामदेव गौतमलाई राजनीतिमा एकजना ढिपीवाला राजनीतिक व्यक्तिका रुपमा र आफ्ना भावना खुलस्त राख्ने सिधा व्यक्तिका रुपमा चिनिन्छ । उहाँको पराजय अनपेक्षित थियो वर्दियामा वा भनौँ वाम  राजनीतिक वृत्तमा तर उहाँ हार्नु भएकै हो र त्यो सँसदीय निर्वाचनमा नेपाली काँग्रेसका चर्चित उम्मेदवार सञ्जय गौतमले विजय हासिल गर्नुभएको हो । उहाँले त्यसपछि पनि प्रतिनिधि सभामा आउने  कोसिस गर्नु नै भएको हो । कहिले डोल्पाबाट वा कहिले काठमाडौँको रामवीर मानन्धरको क्षेत्रबाट । दुवै ठाउँका साँसदहरुले राजीनामा दिएर गौतमका लागि स्थान खालि गर्न खोजेकै हुन् , अनि कास्कीको २ नंबरमा रबीन्द्र अधिकारीको दुर्घटनामा मृत्यु भएपछि त्यहाँ पनि गौतमका लागि स्थान  सुरक्षित गर्न खोजिएकै हो । पक्का पनि  भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिँदा उहाँको मनोनयन हुन सकेन ।

उहाँको इच्छा प्रधानमन्त्रीको रुपमा प्रस्तुत  हुनुमा कुनै अचम्भ होइन तर उहाँँलाई बारम्बार प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेर सम्भावनाको नयाँ नयाँ खेल खेलिनुचाहिँ विडम्बना नै हो । उहाँलाई प्रतिनिधि सभाको साँसद हुन  अनेक तरिकाले रोकिएको थियो भन्ने स्पष्टै देखिन्थ्यो । अनि भर्खरै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा उहाँलाई उठ्नका लागि दलले अनुरोध गर्‍यो । म पाँच वर्ष जनताको राजनीति गर्छु भन्ने पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठलाई सत्ता सुन्दरीले झुकाइन् र उहाँ निर्वाचनमा भाग लिनु भयो र जित्नु भयो स्वाभाविक रुपमा नै । तर वामदेवजीले राष्ट्रिय सभाको साँसदले पनि प्रधानमन्त्री हुन पाउने प्रावधान संविधानमा नभई आफू माथिल्लो  सदनमा नजाने अडान व्यक्त गर्नुभएकाले त्यसबेलामा उहाँ बाहिर बस्ने हुनुभयो । तर प्रयास यतिसम्म अघि बढ्यो कि संविधान संशोधन गर्ने र माथिल्लो सदनबाट प्रधानमन्त्री हुने प्रावधान बनाउने , त्यसका लागि संविधान संशोधनका लागि सिफारिस समिति बनाइयो पार्टीको आन्तरिक सहमतिमा, त्यो पनि सचिवालयको एक्लो निर्णयमा । 

कुनै निर्णय अभिलेखमा नजनाई अनि कुनै जानकारी र अनुमति विनाका सदस्यहरु राखेर । अर्थात् पूर्व प्रधानमन्त्री माधव नेपालको संयोजकत्वमा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ् र पूर्व साँसद खिमलाल देवकोटा सदस्य रहेको समिति बनाइयो । अनि ती दुवै सदस्यहरुले आफूहरु यसरी सदस्यमा बस्न नसक्नेमात्र होइन कि यो बेला संविधान संशोधनको खास बेला नरहेको समेत जानकारी गराउनु भयो । तै पनि वामदेवजीलाई च्याँखे दाउका लागि माथिल्लो सदनमा पठाउने निधो भयो । तर प्रधानमन्त्रीले त्यसलाई एकपटक नकार्नु भयो तर अब को जाने भन्नेभन्दा पनि राष्ट्रपतिको कोटामा परेको साँसद मनोनीत गर्ने ठाउँमा अलिकति उहाँको  पनि रायको आवश्यकता पर्ने थियो होला । तर त्यसठाउँमा अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई साँसद बनाउने प्रधानमन्त्री ओलीको चाहना देखियो जवकि सचिवालयले वामदेवजीलाई पठाउने सर्वसम्मत निर्णय गरेको थियो । खडिवडा साँसद नबने पनि मन्त्रीमा संविधानअनुसार पुनर्नियुक्ति हुनु भएको छ बढीमा पनि ६ महिनाका लागि । ६ महिना किनभने कुनै पनि सदनमा सदस्य नभएको व्यक्ति पनि ६ महिनाका लागि मन्त्री हुनसक्ने प्रावधान संविधानमा छ । वामदेवजीको कुरो अब प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको मनोनयनमा भरपर्छ । किनभने प्रधानमन्त्रीको सिफारिसलाई राष्ट्रपतिले मान्नै पर्ने बाध्यता नरहेको कुरा स्वयं खडिवडाको माथिल्लो सदनमा मनोनयनका बेलामा स्पष्ट भएकै छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुरको सिफारिसलाई राष्ट्रपतिले नमानेको नजिर जो कायमै छ ।

कुरो प्रधानमन्त्रीका लागि को उपयुक्त उम्मेदवार हो भन्ने कुरा सम्बन्धित दलको सँसदीय दलको निर्णय हो । केपी शर्मा ओली अहिले पनि सँसदीय दलको  बहुमत प्राप्त नेता हो र पार्टीको एक नंबरको अध्यक्षीय नेता हो । दुईजना अध्यक्षमध्ये अर्को अध्यक्ष प्रचण्डलाई ओलीकै कृपामा कार्यकारी अध्यक्षता दिइएको छ र अहिले प्रचण्डले आफ्ना दुई धारे तरबारलाई जताततै घुमाइरहनु भएको छ त्यो पनि पुराना एमालेका पूर्व अध्यक्षहरुको सहायताले । ती पूर्व अध्यक्षहरु सबै प्रधानमन्त्रीका भित्री दाबेदार पनि हुन् जो भित्री मनमा पुनः प्रधानमन्त्री हुने रहर पालेर बसेका छन् । कहिल्यै पनि प्रधानमन्त्री हुन नपाइने भयो भनेर कुन्ठा पालेर बसेका गौतमजीलाई त्यो पदको लोभ बढी नै हुने नै भयो ।

अहिले वामदेवजीलाई उपाध्यक्ष बनाउने पनि प्रचण्डकै जोडबलले हो र प्रचण्डले अढाई वर्षपछि प्रधानमन्त्री हुने वाचालाई बिर्सनु परेको पनि ओलीजीकै ढिपीले हो । अबको गन्तव्य भनेको छिटै प्रचण्डको स्थापना हो प्रधानमन्त्रीमा तर प्रचण्डको चलाख्याईँले माधव नेपाललाई पनि प्रधानमन्त्रीको चकलेट चटाएको जस्तो देखिन्छ अनि वामदेवलाई जसरी पनि माथिल्लो सदनमा लगेर सभाध्यक्ष वा भावी प्रधानमन्त्रीको  तयारी गर्नु उहाँको रणनीति हुनसक्छ । वामदेवजीको अतीतका व्यवहारले समाजको तुलो ओलीजी तिर ढल्केको छ र प्रचण्ड जजसको भविष्य अन्धकार वा धरापमा पारेर भए पनि छिटै आफू प्रधानमन्त्री हुने दाउमा हुनुहुन्छ । यसो हुनुमा एम सी सी प्रति उहाँले देखाउनु भएको दोहोरो नीति र सभामुखमा आफूले चाहेको पात्रमात्र राख्ने रणनीतिमा सफल जो हुनुभएको छ ।

आखिर जे जति विवाद देखिएका छन्, तिनले आगामी दिनमा नेपाली राजनीतिमा देखिने विदेशी रणनीतिको झझल्को पाइएको छ र यसपटक प्रचण्डको राजनीतिक रणनीतिले तत्काललाई विजय हासिल गरेको छ । तर यसबाट फेरि इतिहास दोहोरिने  सम्भावना छ र सधैँ टुटफुटको राजनीतिमा रमाउने कम्युनिस्ट चलन फेरि पनि प्रकट नहोला भन्न सकिँदैन । स्थिरताको खोजीमा गरिएको जरासन्धीय गठबन्धनले पनि राजनीतिक स्थिरता दिन सकेन र जनतामा फेरि पनि मध्यावधिको अस्त्र फालियो भने कसलाई फाइदा पुग्छ भन्न गाह्रो छ । तर राजनीति यस्तो अपराधमा पनि होमिन सक्छ जहाँँ व्यक्तिको कुन्ठा शान्त पार्नका लागि मुलुक र जनता भनेको देखावटी मात्र हुन् भन्ने बारम्बार देखिएको छ र अब पनि त्यो देखिए अचम्भ मान्नुपर्दैन ।

इतिहास बारम्बार दोहोरिन्छ तर पात्रहरु तिनै हुँदैनन् समयलाई सम्पादन गर्नका लागि । इतिहास भनेको समयको नाम हो र समयले फड्को मार्दा नेतृत्वको विकास त्यति नभएको हुनसक्छ । झन आजको नैराश्यता अहिलेका पात्रहरुले नै मुलुकमा थपेका हुन् र झन झन नैराश्यता थप्न थालेमा मुलुकमा अनपेक्षित विद्रोह जन्मने छ जसले अहिलेको अवस्थाभन्दा पनि निराशाजनक अवस्थामा मुलुकलाई पुर्‍याउन सक्छ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...