
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको छ ।
मन्त्री झाँक्रीले सिंहदरबार परिसरभित्र चण्डीदल गणको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको हो । उहाँले भवन निर्माणको काम समयमै सक्न निर्देशन दिनुभयो। मन्त्री झाँक्रीले मन्त्रालय र भवन नर्मिाण विभागले आवश्यक सहयोग गर्न तयार रहेको भन्दै लक्ष्यमा ध्यान केन्द्रित गरेर काम गर्नुपर्ने बताउनु भयो ।
देश सञ्चालन हुने केन्द्र सिंहदरवारभित्र पनि समयमै काम नसके सरकारमाथि प्रश्न उठ्ने भन्दै मन्त्री झाँक्रीले प्रश्न उठ्न दिने वातावरण नबनाइ काम गर्न आग्रह गर्नुभयो। सिंहदरबार भित्र बन्न लागेको चण्डीदल गणको भवन निर्माणको जिम्मा बिकोइ, रसुवा र तुँदि जोइन्ट भेन्चरले प्राप्त गरेको छ ।
भवन निर्माणको अनुमानित लागत रकम ६५ करोड ९५ लाख रहेको र निर्माण अवधि २ वर्ष रहेको छ । कुल क्षेत्रफल एक लाख वर्गफिटमा बन्न लागेका दुई भवनमा ७ सय २ जना जवान रहन सक्ने गरेर डिजाइन गरिएको छ । त्यस्तै भवन परिसरमा ४ वटा ब्याडमिन्टन र एउटा बास्केटबल कोर्ट रहनेछ भने परेड खेल्नका लागि ग्राउण्ड समेत बनाइनेछ ।
कुल ४३ रोपनी ६ आना क्षेत्रफलमध्ये १० आना मात्रै भवनले ओगट्ने छ ।
प्रतिक्रिया दिनुहोस्