सांसद बन्ने वामदेवको बिलो, ओलीका लागि पिलो !

news

राजन कुईंकेल ।

वामदेव गौतम नेपाल कम्युनिष्ट पार्टीका नेता हुन् । नेता मात्र होइन अब उनी पुराना नेताको दर्जामा पुग्ने बेला भैसक्यो । राजनीतिमा लागेर उनले गर्ने नगर्ने, सक्ने नसक्ने सबै गरिसके । हक्की स्वभावका उनले कम्युनिष्ट विचार बोकेर हिंड्दा अरु नेताले सरह दुःख, हण्डर, हैरानी ब्यहोरेका छन् । सँगै अरु नेताले झै सत्तासुख पनि उत्तिकै पाएकै हुन् । भूमिगत मोर्चादेखि संसदीय मोर्चासम्म डटेर लड्ने योद्धाको छबी छ उनको । पार्टीको कार्यकारी महासचिव त उतिबेलै बनेका हुन्, नेकपा एमाले फुटाएरै । नेकपा माले बनाएरै भएपनि महासचिव बनेर पार्टी सत्ताको कार्यकारी बन्ने सपना पूरा भैसकेको छ । गृह र उपप्रधानमन्त्रीको भोटो फटाइसके । तैपनि उनको मनमा एउटा घिडघिडो बाँकी रहेको रह्यै छ, प्रधानमन्त्री बन्न नपाएको ।

उनका समकालिन मित्र सबै मुलुकको प्रधानमन्त्री बनिसके । आफू प्रधानमन्त्री बन्न नपाएको घिडघिडोले उनलाई सताएको सताएकै छ । राणाहरुले शासन गरुञ्जेल वंश नै प्रमाण थियो, शासन सत्ताको भोग गर्न । पञ्चायतमा राजाको कृपा परेपछि चाहेको पद सजिलै पाइन्थ्यो । त्यही कृपामा मरिचमान प्रधानमन्त्री बनेकै हुन् । यो त जनताको शासन व्यवस्था अर्थात् प्रजातन्त्र । त्यसमा पनि लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा छौं हामी । यो व्यवस्था ल्याउन गौतमले पनि उत्तिकै संघर्ष गरेका हुन्, जति प्रधानमन्त्री भएका उनका अरु समकालीनले गरेका थिए । तर पनि उनले प्रधानमन्त्री बन्न पाएका छैनन् । पूर्वएमालेका मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल र केपी ओली एवं पूर्वमाओवादीका प्रचण्ड र बाबुराम छ/छ जना कम्युनिष्ट प्रधानमन्त्री बनिसके । उनको पालो आएन । 

पार्टीलाई ठूलो शक्ति बनाउने, आफूनुकूलको निर्णय गराउन पाइएला भनेरै माओवादीसँग निर्वाचनमा कार्यगत एकता र चुनावपछि पार्टी एकीकरण गर्न दिलोज्यान लगाए । पार्टी ठूलो भएको त दुई ‘गजुवा’का लागि मात्र ‘सत्र’ पल्टियो । केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष बने । साढे दुई वर्ष मात्र प्रधानमन्त्री बन्छु भन्ने लिखितम् गरेका ओलीले पाँच वर्षका लागि प्रधानमन्त्री खान सबै तारतम्य मिलाइसके । हुँदाहुँदा मिर्गौला नै दुई/दुई पल्ट प्रत्यारोपण गरेर स्वास्थ्यमा देखिएको चुनौति सल्टाउँदै छन् । तर प्रधानमन्त्री बन्ने आफ्नो पालो आउँला जस्तो छाँट गौतम देख्दैनन् । 

जनताबाट निर्वाचित भएर आउनेले मात्र प्रधानमन्त्री पद पाउने संवैधानिक व्यवस्था छ । जुन उनका लागि घाँडो बनेको छ । यो व्यवस्था रहुञ्जेल जनताबाट निर्वाचित नभई सिंहदरबारस्थित कुर्सीमा पुग्ने लालसा पूरा हुने सम्भावना छैन । यो पनि भलिभाँती थाहा छ । त्यसैले त उनी संविधानको यो फुर्को नै मिल्काउने बाटोमा जेहाद छेडेर लागेका छन् । नलागुन् पनि किन ? त्यत्रो दुःख, खर्च गरेर पार्टीले दुई तिहाईनजिक सिट ल्याएको छ । सत्तामा जान खुट्टा उचालेर बसेका मधेशी दलको एक्का दुई मागमा मुन्टो हल्काइदिने हो भने गौतमको चाहनामा घाँडो बनेको संविधानको फुर्को सरक्कै मिल्कने छ । विपक्षीले विरोधै गरेपनि रोक्ने ताकत पुग्दैन । उसैपनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अस्तित्वकै संकटमा छ । बेतूकको घर झगडाबाट फुत्कन नसक्नेले यस्ता मुद्दामा के लछारपाटो लाउनु ? 

तैपनि र्‍याङको ठ्याङ मिलिरहेको छैन । ‘आफू ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो’ भनेझै मात्रै भइरहेको छ । संविधान संशोधन गर्न सहजै सकिँदैन । मान्दैनन् । यस्तै भाउँतो आइलाग्छ भनेरै संसदमा पुग्ने अरु उपाय खोजेकै हुन् । त्यो पनि पूरा हुन दिएनन् । शत्रू खोज्न अन्यत्र जानै नपर्ने । पार्टीकै आफ्ना भन्नेहरु नै मिलिसकेको तारतम्यमा भिलेन बनेर उत्रिए । सारा प्रयासमा पानी फेकियो । 

बर्दियाबाट झिनो मतमा पराजित भएकै स्वीकार्न सकिने अवस्था थिएन । पार्टीकै नेताहरुको षड्यन्त्रमा आफू पराजित बन्नुपरेको निष्कर्ष छ उनको । आफूविरुद्ध षड्यन्त्र गर्नेहरुलाई कार्वाहीको माग नगरेका पनि होइनन्, कसैले सुनुवाई गरिदिएन । अरुबाट पार नलाग्ने देखेपछि आफै अघि सरे । जसरी भएपनि संसदमा उक्लने र प्रधानमन्त्री बन्ने घिडघिडो पूरा गर्न । बिलो झै अड्केको प्रधानमन्त्री बन्ने आकांक्षा मुटुमा किलो बनेर बिझेको छ ।  

जसरी पनि संसदमा जाने चाहना पार्टी नेतृत्वसमक्ष राखे । एकीकरणपछिको सचिवालय बैठकमै कुरा भयो । सबैले मुन्टो हल्लाए । ओली र प्रचण्ड कमरेड पनि संसदमा उकाल्न सहमत देखिए । आशाको किरण सल्बलायो । झलनाथ खनाल र माधव नेपाल मध्ये एकलाई राष्ट्रपति बनाएर रिक्त हुने सिटमा चुनाव लड्ने प्रयास पनि गरेका थिए । दुबैबाट सकारात्मक जवाफ नपाएकै झोकमा नेपाल खनालको विरोध हुँदाहुँदै विद्या भण्डारीलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति बनाउने ओलीको प्रस्ताव पारित गर्न सघाइदिए । 

जसरी पनि सांसद बनेरै छाड्ने लालसा पूरा गर्न बर्दियाकै माओवादी सांसद सन्तकुमार चौधरी, रुकुम पूर्वकी सांसद कमला रोक्का, नवलपुर २ का सांसद तिलक महतसम्मलाई राजीनामा गराउने प्रयास गरे । तर कसैले टेरपुच्छर लगाएनन् । उनको आशा डोल्पामा पुगेर टक्क्रक्क अडियो । राप्रपाबाट आफैले पार्टी प्रवेश गराएर राज्यमन्त्रीसम्म बनाएका धनबहादुर बुढालाई सम्झाए । आफ्ना नेताले भनेपछि बुढा पनि राजी भए । तर राजीनामाका लागि मतदातालाई सम्झाएर फर्कन्छु भनेका बुढा काठमाडौं पुग्दा नछाड्ने निष्कर्षमा पुगे । बुढाको जवाफले घुत्रुक्कै बनेका गौतमले धनकुटाका राजेन्द्र राई, बाँके ३ का नन्दलाल रोकाया, बैतडीका दामोदर भण्डारी, कञ्चनपुर ३ का दीपकप्रकाश भट्ट, प्युठानकी जनमोर्चा सांसद दुर्गा पौडेलसम्मलाई सम्झाएर क्षेत्र खाली गराउने र सांसद लड्ने चाहना पूरा गर्न महासचिव विष्णु पौडेललाई खटाए । तर सबै प्रयासमा हात लाग्यो शून्य !

मन त कल्पिरहेकै छ । ‘एक पटक जसोतसो प्रतिनिधि सभामा छिर्न पाए प्रधानमन्त्री पद कसरी फुत्काउनु पर्छ, मैले जानेको छु’, मनमा हररात ऐंठन परिरहन्छ । भएन उनी फेरि जुर्मुराउँछन् । थाँती रहेको इच्छा जाग्छ । काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलाई अनेक गरेर फकाउँछन् । रामवीर वामदेवका लागि सती जान तयार हुन्छन् । राजीनामा दिन्छन् । फेरि बैरी लाग्यो । बीचमा के के पाक्यो । शुरुमा हुन्छ भन्ने ओलीले नै वामदेव आफ्ना लागि असुरक्षित देखे । रामवीरविरुद्ध उनकै क्षेत्रका अरु नेता विरोधमा उत्रिए । हुँदा हुँदा चुनाव लडे, नराम्ररी हराउने षड्यन्त्र देखेपछि उनी खिस्रिक्क पर्दै पछि हटे । 

नेकपाको आन्तरिक राजनीतिको तूलो कहिले ओली त कहिले ओली इतरतिर नाचिरहेकै छ । पार्टी एकतापछि प्रचण्डका साथ पाएका ओली सत्तान्ध थिए । नेपाल–खनाल ओलीको पजनीमा पर्दै थिए । तर अरुलाई खेलाएर पद र शक्तिभोग गर्ने आदत परेका प्रचण्डलाई पनि ओलीको एकलौटी तातो तावाको माछा हुँदैथियो । यस्तोमा गौतम दुबै पक्षका लागि पेण्डुलमको पात्र बनाइए । गौतमलाई आफूतिर तानेर तुलो गह्रुँगो बनाउन ओली र प्रचण्ड दुबै लागे । गौतमको सांसद बन्ने लालसको अग्निमा घ्यू थप्ने काम दुबैले पटक पटक गरे । हुँदाहुँदा रबीन्द्र अधिकारीको निधनपछि रिक्त कास्कीको क्षेत्रमा चुनाव लड्न ओलीले नै प्रस्ताव गरे । तर परिणाम आफ्नो पक्षमा आउन नसक्ने बुझेपछि गौतमले नै धेरै वास्ता गरेनन् । 

बरु उनले नयाँ प्रस्ताव पार्टीसमक्ष गरे । राष्ट्रिय सभाको सांसद पनि प्रधानमन्त्री बन्न मिल्ने व्यवस्था संविधानमा राखौं । ‘संविधान संशोधन गर्ने हो भने प्रधानमन्त्री बन्न पाउने शर्तमा राष्ट्रिय सभाको सांसद बन्न तयार छु’ उनले भने । प्रचण्डले हौसाइदिए । शक्तिमा हुँदा भित्तामा पुग्नेगरी पेलिएका नेपाल–खनाल ओलीसँग रीसईबी साँध्ने ताकमा थिए । गौतमलाई राष्ट्रिय सभामा लैजान सचिवालय बैठकले निर्णय नै गर्‍यो । संविधान संशोधन गर्न नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बन्यो । सबै एकातिर भएपछि प्रधानमन्त्री ओली मौन रहे । तर एउटा व्यक्तिलाई पद दिलाउनकै लागि संविधान संशोधन गर्न कार्यदल बनाएको विषयको अत्याधिक आलोचना भएपछि कार्यदल निष्क्रिय बनाइयो ।

शुरुमा संविधान संशोधन नगर्दासम्म राष्ट्रिय सभा जान्न भन्ने गौतम रातारात सांसद मात्रै बन्न तयार पारिए । ओलीको मनमा गम्भीर आशंका पर्‍यो । आफ्ना प्रिय अर्थमन्त्री युवराज खतिवडाको स्थानमा हेर्दाहेर्दै आफ्नै ‘गाथगादी’ ताक्ने गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय कसरी कार्यान्वयन गर्नु ? आफूविरुद्ध षड्यन्त्रका लागि सबै एकजुट भएकाले गौतमलाई सांसद बनाउने सचिवालयको निर्णय मान्न बाध्य नभएको जवाफ दुई दिनपछि ओलीले फर्काए । तर बाँकी नेताले गौतमलाई सांसद नबनाए दूर्भाग्य हुने भन्दै पार्टी फुटसम्मको चेतावनी दिए । प्रचण्डको साथ पाउँदासम्म नेपाल समूहलाई भीरमै पुर्‍याएर अचेट्न खोज्दाको परिणाम भोग्नुपर्ने अवस्थामा थिए, ओली । कुनैबेला आफैले उक्साएका गौतम आफ्नै लागि पिलो बनेर निस्किए । 

तै जुक्तिका धनी ओलीको यहिबेला मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भयो । खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने निर्णय धस्काएर ओली टिचिङ अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएर बसेका छन् । स्वास्थ्य लाभ गरेर बालुवाटार फर्कंदासम्म यो प्रकरण सेलाएर खरानी बन्नेछ वा गौतमको सांसद बन्ने बिलो ओलीका लागि निचर्नेपर्ने पिलो हुनेछ, त्यसका लागि भने केही दिनको प्रतीक्षा जरुरी छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...