आगे सम्माननीय प्रधानमन्त्रीकै मर्जी

news

-हरिविनोद अधिकारी

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली विरामी हुँदा देश पनि विरामी हुनुपर्छ कि पर्दैन भन्ने यक्ष प्रश्न अहिले नेपालका सामु उभिएको छ । दुईओटा जरासन्धझैँ मिलेका कम्युनिस्ट पार्टीहरुलाई खासमा नेतृत्व गरिरहनु भएका ओलीको इच्छामा भावी प्रधानमन्त्री र भावी नेतृत्वको व्यवस्था हुनेछ । अहिले न त पार्टी  न त सरकार नै राम्रोसँग चलेको आभास पाइएको छ । आपसमा देखिएको विवादले भुसको आगोको काम गरेको छ जुन छिटै बाहिर धुवाँसहितमात्र होइन, आगोका लप्कासहित देखिनेवाला छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला  प्रत्यारोपण सफलताका साथ हुन सकेको छ र उहाँको दीर्घ जीवनको कामना गरेकै छौँ । सफल प्रत्यारोपणले एकैपटक दुईओटा सन्देश प्रवाहित गरेको छ : नेपालमा पनि मिर्गौला सफलताका साथ प्रत्यारोपण हुन्छ र प्रधानमन्त्री ओली अब मिर्गौलाका कारणले विरामी भइरहनु पर्ने छैन । तर आएका समाचारहरु विवादास्पद छन् किनभने सम्वेदनशील अंग अनि उमेरको अवस्थासँगै रोगसँग लड्ने प्रतिरोधी क्षमतामा देखिने कमीसँग संक्रमणले पनि आक्रमण छिटै गर्ने हुन्छ । अरु सबै कुरा राम्रो हुँदाहुँदै पनि शरीरमा संक्रमण हुनसक्ने खतरा बढेको छ । शरीरले सामान्य जुत्तालाई त केही दिन लगाएपछि मात्र सजिलो महसुस गर्छ भने अर्काको मिर्गौलालाई शरीरले आफ्नो सामान्य प्रक्रियामा स्वीकार गर्न पक्कै पनि केही समय लाग्ला नै ।

व्यक्ति केपी शर्मा ओली विरामी मान्छे हो । उहाँ नेकपाको अध्यक्ष पनि हो र मुलुकको निर्वाचित प्रधानमन्त्री पनि हो । उहाँ नेपाललाई चाहिने मानिस हो र त एमालेको अध्यक्ष हुँदै प्रधानमन्त्री अनि नेकपाको अध्यक्षसँगै प्रधानमन्त्री पनि हुनु भएको छ त्यो पनि प्रचण्डसहितको अत्यधिक बहुमतले ।

उहाँको १२ वर्ष अघि दुवै मिर्गौलाले काम नगरेकाले नयाँ मिर्गौला प्रत्यारोपण गरेर निको हुनु भएको हो र पनि यता केही समयदेखि उहाँले राम्रोसँग काम गर्न नसक्नु भएको थिएन अर्थात् उहाँको मिर्गौैलाले राम्रोसँग काम गर्न सकेको थिएन । त्यो समय गणना गर्दा लामो देखिन्छ तर दिनका हिसाबले अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएपछि चाहिँ औपचारिकरुपमा नै उहाँ असक्त देखिनु हुन्छ । यो समीक्षा तयार गर्दासम्म उहाँ कहिले अस्पतालबाट डिस्चार्ज हुनेभन्दा पनि कहिलेदेखि सहजतरिकाले काम गर्नसक्ने भन्ने प्रश्न अहं बनेको छ । चिकित्सकहरुको स्पष्ट धारणा छ: उहाँको दैनन्दिनी पहिले जस्तो हुनका लागि करिब ६ महिना या १ वर्ष लाग्छ । यसरी यस्तो बेलामा कार्यकारी को हो भन्ने प्रश्न एकातिर उठेको हुन्छ भने मुलुकमा तत्काल चाल्नुपर्ने कुनै पनि कदमका वारेमा कसरी निर्णय लिने भन्ने समस्या देखिन्छ । सरकारमा यसै पनि दुई धार या तीन धारले काम गरेकै छ , त्यसको उदाहरणमा लामो समय लगाएर सभामुखको निर्वाचन र अझै उपसभामुखको चयन हुन नसक्नुले पुष्टि गरेको छ ।

प्रधानमन्त्री ओलीले मुलुकको बृहत्तर हितका लागि भन्दा पनि सत्तामा तत्काल टिक्न र सत्ता लम्ब्याउनका लागि पार्टी एकीकरण गर्नु भएको थियो तत्कालीन माओबादी केन्द्रसँग । साँच्चै भन्ने हो भने सधैँ टुटफुटमा रमाउने नेपाली कम्युनिस्ट भँगालाहरु एकपटक ठूलो नदीको रुपमा देखिनु मुलुकका लागि हितकर होला भन्ने यसकारणले मानिएको थियो कि मुलुक सदैव अस्थिर सरकारका कारणले रुमलिएको थियो । तर त्यो मृग मरीचिका साबित हुँदैछ स्वयं नेकपाभित्र नै ।

सिद्धान्त र व्यवहारमा एक नदीका दुई किनाराजस्ता कम्युनिस्ट पार्टीहरुका बीचमा भएको एकीकरणले तत्काललाई त नेकपाको सरकार बन्यो र अहिलेसम्म पनि कायम छ तर त्यसले सृजना गरेको अन्यौल र विवादको जड अब परिणाम देखाउने ठाउँमा पुगेको बुझिन्छ । स्वसिर्जित समस्यासँग अहिले ओली स्वयं लडिरहनु भएको छ । तत्कालीन एमालेले भोगिरहेको छ र माओवादी पक्षचाहिँ सुरक्षात्मक तरिकाले नियालिरहेको देखिन्छ । सत्ताका सबै सुविधा लिँदै तर सत्ताका लागि पर्खँदै अर्थात् प्रधानमन्त्रीको  पदको लागि अधैर्यताका साथ पर्खँदै ।

स्वयं सृजना गरिएका समस्या भनेको सरकार बनाउनका लागि जस्तोसुकै सम्झौता गर्न पछि नपर्ने ओली सिद्धान्तको कुरा गर्दा पहिले राप्रपासँगको मिलन र पछि माओबादीसँगको मिलनलाई लिइने गरिन्छ । भन्न त भनियो, अस्थिरतालाई चिर्नका लागि  माओबादी र एमालेको मिलन भएको हो तर राजनीतिक पर्यवेक्षकहरु त्यही दिनबाट झन सैद्धान्तिक विचलन र गहिरो अस्थिरताको वीजारोपण भएको थियो जसलाई अहिले ओलीले झेल्नुपरेको समस्यासँग जोडेर हेरिन्छ ।

अबको ओलीजीको सहज निकासको  बाटो भनेको मुलुकलाई नयाँ प्रधानमन्त्रीका लागि बाटो खुला गर्ने हो, त्यो पनि पहिलेको एमालेबाटै नेतृत्वको विकास गरेरमात्र । त्यसोभन्दा पक्कै नै सँगै कुम जोडेर बस्ने प्रचण्डजीका लागि गाह्रो त हुन्छ तर तत्काललाई नेपाली समाजलाई स्वीकार्य पात्र पनि हुनु जरुरी छ त्यसमा प्रजातान्त्रिक प्रक्रियामा लामो समयदेखि सक्रिय तत्कालीन एमालेजनहरु नै नेपाली समाजलाई स्वीकार्य हुनेछन् । हाललाई वामदेव गौतमको कुरा आएन, माधव नेपाल, झलनाथ खनाल र ईश्वर पोखरेलमध्येबाट प्रधानमन्त्रीका लागि विकल्प तयार गर्नुपर्छ जसका लागि स्वयं ओलीकै हातमा छ । फेरि एकपटक सत्ताा हातबाट गएपछि फर्केर  आउँदैन भन्ने त्रासले भन्दा ओलीजीले आफ्नो स्वास्थ्यको लागि न्याय गर्दाको परिणाम भनेको तत्काल आराम गर्नका लागि कार्यकारी हाललाई उपप्रधानमन्त्री पोखरेललाई कार्यवाहक दिने र आफू मुलुकलाई सहज बनाउनका लागि विदामा बस्नु आवश्यक छ, नत्र कम्युनिस्ट पार्टीको सरकार भनेको दलको जिम्मामा हुन्छ, उहाँलाई पदच्यूत गर्ने सम्भावना बढेर गएको छ ।

यसबीच धेरै खिचडी पाकेको छ र प्रतिशोध लिनेहरुले समय र परिस्थितिको संवेदनशीलतामात्र पर्खेर बसेका हुन्छन् । सरकार बनाउने बेलाको जस्तोमात्र समीकरण अहिले छैन । प्रजातन्त्र भन्दा सत्ताको बढी चिन्ता हुनेहरुको जमात अहिले सँसदमा छ । चाहे त्यो सरकार पक्षमा होस् या प्रतिपक्षमा होस् ।

यदि प्रधानमन्त्री ओलीले आफूलाई राजनीतिक रुपमा सक्रिय र सान्दर्भिक राख्ने हो भने तत्काल नै पूर्व एमालेसँगको गठबन्धनद्वारा नयाँ समीकरण तयार गरेर सरकारको नेतृत्व परिवर्तन गर्नु जरुरी छ जसले ओलीको दलमा रहेको पकड पनि कायम रहने छ र प्रधानमन्त्री पनि आफ्नै इच्छामा निर्वाचित हुनेछ । असक्त अवस्थामा पनि प्रधानमन्त्री पदलाई दिग्दारी भागजस्तो नबनाउँदा भोलिका दिनका लागि पनि नयाँ नजिर हुनेछ । विरामी प्रधानमन्त्रीप्रति सम्मान हुँदाहुँदै पनि भावी राजनीतिको अदृश्य अवस्थाको आँकलनमात्र गरिएको हो । आगे सम्माननीय प्रधानमन्त्रीकै मर्जीमा । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...