इमान सकिएको जनतामा बेइमान शासकको आलोचना गर्ने हैसियत रहन्न !

news

राजन कुईंकेल

मानिस यस धर्तीको जीव मध्येको चेतनशील आत्मा भएको प्राणी हो । उसको यही चेतनाले उसलाई अरू मूक प्राणीभन्दा फरक र भिन्न बनाएको छ । प्रकृतिका कोटीकोटी सन्तानमा मानिसले नै अचम्म र आश्चर्यलाग्दा अन्वेषण गरेको छ । कयौं हदसम्म प्रकृतिले दिने चुनौतिलाई सामना गर्दै उसले एकपछि अर्काे फड्को मारेको छ । ज्ञान, विज्ञान, प्रविधि र आविष्कारका क्षेत्रमा छलाङ नै मारेको छ ।
यही गुण र क्षमताको प्रयोग गर्दै कति अर्थमा प्रकृतिलाई सिंगारेको छ । विकास गरेको छ । कति अर्थमा प्रकृतिको विनाश र दोहन पनि । जेलाई विकासको जामा पहिर्‍याएर हामी नाक फुलाइरहेका छौ, त्यसैको अर्काे पाटोमा यही धर्तीको चरम दोहन पनि गरिरहेका छौ । प्रकृति र मानिसबीच विकास र विनासको दोहोरी लामो समयदेखि चलिरहेकै छ । अझ कयौं शताब्दीसम्म चलिरहने नै छ ।

बाँदररूपी मूढ जीव आफ्नो चेतनाको विकासका साथ प्रकृतिको स्याहार, सम्भार गर्दै आजको युगमा पुगेको हो । ढुंगे, कृषि, औद्योगिक, प्रोद्योगिक हुँदै प्रविधि (टेक) को युगमा प्रवेश गर्ने क्षमता उसले भिन्न चेतनाकै कारणबाट सम्भव बनाएको हो । यी सबै युगमा उसले प्रकृतिको आवरणको मात्र प्रयोग गरेन, गर्भगृहमा प्रवेश ग¥यो । धर्तीभित्र लुकेका विकासका लागि सहायक बन्ने तत्वको पहिचान गर्‍यो । खनिज, पेट्रोलियमलगायतका पदार्थको खोज र प्रयोग त्यसैको उपज थियो ।

लाज के हो, सम्बन्ध के हो, आमा को हुन् ? आफ्नै रगतकी दिदीबहिनी/दाजुभाइ के हो ? भन्ने चेतना नभएको मूढ जीव विकासको मार्गमा यसरी लम्कियो कि उ आकाशगंगाको खोजमा लाग्यो । उसको खोज र आविष्कारका लागि धर्तीको सीमा पर्याप्त भएन । निराकार आकाशगंगाका बारेमा घोत्लियो । शून्यमा धर्तीको एक कुनाबाट अर्काे कुना जोड्ने यन्त्रको विकास गर्‍यो । रेल बने, जहाज बने, विमान बने । हेर्दाहेर्दै धर्तीको पूर्व, पश्चिम, उत्तर, दक्षिण सीमाको कुनै भेद रहेन । जल, थल, वायु, आकाश केहीले पनि उसलाई रोक्न, छेक्न र अवरोध गर्न सकेन । कतिपय सन्दर्भमा त अन्वेषण र विकासको उन्माद यसरीले चढ्यो कि उसैले बनाएका साधन मानव सभ्यता सकाउन सक्ने भष्माशूर प्रतीत भइरहेका छन् । 

आवाज त निकाल्थ्यो, मैथुन त गथ्र्यो । बच्चा त जन्माउँथ्यो तर पशु र उसमा केही भिन्नता थिएन । जसरी पशुलाई मैथुनका लागि जनेन्द्रीय भए पुग्छ, उसैगरी उ पनि त्यतिमै सीमित थियो । आमा र आफ्नै रगतको सम्बन्धबीचको भेद नराख्ने पशु हेर्दाहेर्दै चेतनाका लौह अवरोधलाई छिचोल्दै विकासको चरमचुलीमा पुग्यो । यो सबै उसभित्रको चेतना, इमान र विकासमा सन्तोष नमान्ने जिज्ञासु प्रवृत्तिको परिणाम थियो । त्यसैले त उसले शासनमा, सोचमा र शक्तिमा परिवर्तन ल्यायो । धर्तीमा मात्रै होइन धारणामा पनि भिन्नपन देखायो ।


विकास र अन्वेषण मात्र उसका बुद्धिबाट निस्केनन् । लोभ–लालच, दुराचार-भ्रष्टाचार, आशक्ति, इष्र्या, क्रोध जस्ता तामसी गुण पनि सँगसँगै विकास भए । शक्तिको उन्माद, घमण्डले ‘मै ठूलो’ भन्ने भाव बढायो । ‘मै खाउँ मै लाउँ’ भन्ने प्रवृत्ति देखिन थाल्यो । राज्य बने । सरकार बने । सामूहिक हितका खातिर मानिसले आफ्ना अधिकार र शक्ति राज्य र सरकारलाई सुम्पियो । जनतासँगै लिएको अधिकारको आडमा शासकहरु निरंकुश बन्न थाले । स्वेच्छाचारी बाटोमा लम्के । नागरिकसँगै लिएको शक्तिलाई आफूनुकूल ब्याख्या गर्न थालियो । तन्त्र र वादमा समाज र मानिसलाई विभाजन गर्ने खेल भए ।

आफ्नै शक्ति लिएर आफैमाथि थिचोमिचो हुन थालेपछि जनताले विद्रोहको आवाज उठाए । सरकार र राज्यसत्ताहरु भत्किन थाले । फेरबदल हुन थाले । शक्तिको मात्र अदलीबदली भएन । राज्यका सीमा रेखाहरु नै मेटिने र नयाँ बन्ने क्रम भए । यो सबै मानिसमा भएको चेतनाको प्रतिफल थियो । अफ्ठ्यारा अवस्थाहरुमा एकले अर्कालाई सहयोग गर्नु मानवीय गुण र ‘बसुधैव कुटुम्बकम्’ को भावना थियो । संकटका बेला एकले अर्कालाई सघाउनु, पीर वेदना र पीडा साटासाट गर्नु मानिसले सभ्यताको विकाससँगै सिकेको विषय हो ।

तर नेपालमा के यो भावना मर्न थालेको हो ? भन्ने अवस्था बारम्बार देखिएको छ । जबजब आमजनता संकटमा हुन्छन्, खुला हृदयका साथ सघाउन हात अघि बढाउन सर्नुपर्ने पक्षहरु नै पीडितलाई लूट्ने मौकाको ताकमा देखिन्छन् । सत्ता परिवर्तनका बेला हुने संक्रमणको समय होस् वा प्राकृतिक विपदका समय, व्यापार र व्यवसायमा भएकाहरुबाटै आमसर्वसाधारण लूटिन्छन् । उदाहरणका लागि, भूकम्प, नाकाबन्दी र अहिलेको कोरोना सन्त्रासमा हामीले गरेका कर्म काफी छन् । राज्यले त लोककल्याणकारी चरित्र गुमाइसकेको छ । उसबाट नागरिकले अपेक्षा गर्नु नै बेकार छ । सत्ता राजनीतिको उपल्लो आसनमा बसेकाहरु नीति, मिति र मति मिलाएर लूटिरहेका छन् । सरकार र सरकारी सेवा प्रदायकहरुको आलोचना त भइरहेकै छ ।

तर के नागरिकका रुपमा हामीबाट भइरहेका कर्महरु ठीक छन् ? मौकापरस्त कालोबजारी हुन् वा सडक किनारामा उभिएर मूकदर्शक बन्ने नागरिक के हामीले आफ्नो कर्तव्य पूरा गरिरहेका छौं ? आफैतिर फर्केर प्रश्न गर्ने बेला भएन र ? सुनदेखि नून, औषधिदेखि पानी, दूधदेखि रक्सीसम्ममा मिसावट गर्ने, कालोबजारी गर्ने कृत्रिम अभाव सृजना गर्ने को हुन् ? सरकार हो ?

अनुगमनकारी क्षमता गुमाउनु, घूष खाएर यस्ता कर्म गर्न प्रोत्साहन गर्न दिनुमा राज्यका निकायहरुको भूमिका छ । तर एक नागरिकका रुपमा मौका पाउना साथ हामी जे गरिरहेका छौं नि, त्यसले हामीलाई सरकारको निर्धक्क आलोचना गर्ने नैतिक बल दिन्छ ? जब चेतना शून्य हुन्छ नि तब त्यो जड मूढोमा परिणत हुन्छ । जो जो जुन जुन भूमिकामा छौं, मम भनौं । के यसरी समाज, देश र मानवको हित हुन्छ ? मौकापरस्त नै साध्य ठान्नेहरुले कम्तिमा त्यस्तै काम अर्काले गर्दा आलोचना गर्ने हकचाहिँ दावी नगरौं । जय नेपाल !

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...