१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


क्रान्तिकारी माओवादीका विद्यार्थी र युवा नेताद्वारा संयुक्त समाजवादी मोर्चा घोषणा


117
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले निर्वाचन बहिष्कार गर्ने भएपछि पार्टीबाट विद्रोह गर्दै युवा, विद्यार्थीहरूले संयुक्त समाजवादी मोर्चाको घोषणा गरेका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन वहिष्कार गर्ने निर्णयमा असन्तुष्टि जनाउँदै पार्टीका युवा तथा विद्यार्थी नेताहरूले पार्टी परित्याग गरेका हुन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्वकेन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा संयुक्त समाजवादी मोर्चाको घोषणा गरिएको हो ।

पार्टीले निर्वाचनलाई वहिष्कार, उपयोग र फेरि वहिष्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले पार्टी परित्याग गर्नुपरेको संयुक्त समाजवादी मोर्चाका अध्यक्ष भण्डारीले बताउनुभयो ।

उहाँले मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले तत्कालिन माओवादी पार्टीबाट विभाजन हुनुको औचित्य पुष्टि गर्न नसकेको उल्लेख गर्नुभयो ।

भण्डारीले मोहन वैद्यको नेतृत्वमा समाजवादी क्रान्ति पुरा गर्न सम्भव नभएकाले युवाहरुले विद्रोह गरेको पनि बताउनुभयो । उहाँले नवगठित मोर्चा आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भाग लिने बताउनुभयो ।

तत्काल आफूहरुको मोर्चा निर्वाचन आयोगमा दर्ता हुन नसक्ने भएकाले अन्य पार्टीको निर्वाचन चिन्हमार्फत् निर्वाचनमा जाने अध्यक्ष भण्डारीले बताउनुभयो ।