गौर घटनाः त्यो कालो दिन, महिलाहरुलाई बलात्कार गरी स्तन काटी जिउँदै जलाइयो

news

काठमाडौं । आज चैत ७ गते गौर घटना भएको दिन । यसलाई कालो दिनको रुपमा लिइन्छ ।

यस दिन अनाहकमा २८ जनाले ज्यान गुमाएका छन् भने पाँच जना अझै बेपता छन् ।

घटनाक्रम अनुसार २०६३ साल चैत्र ७ गते  रौतहटको गौरस्थित राईसमिलमा मधेशी जनाधिकार फोरम र तात्कालीन नेकपा माओवादी मधेशी मुक्ति मोर्चाको एउटै स्थानमा छुट्टै मञ्च बनाएर सभा गर्न लाग्दा दुई पक्ष बीच झडप भएको थियो ।

सो झडपमा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यू भएको थियो । सोही झडपमा कैयौ घाईते भएका थिए । यसलाई  ‘गौर हत्याकाण्ड’ को नामले समेत चिनिन्छ ।

पर्सा, बारा र रौतहटमा र्‍याली गर्ने मधेशी जनाधिकार फोरमको योजना अनुरुप रौतहट जिल्ला स्तर समितिले २१ मार्चमा गौरको धान मिल क्षेत्र मा र्‍यालीको सार्वजनिक घोषणा गर्ने अग्रिम तयारी थालेको थियो।

मधेशी जनाधिकार फोरमको यो निर्णयको एक हप्ता पछि नेकपा माओवादीको मधेशी मुक्ति मोर्चाले पनि सोहि ठाउँमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्यो।

र्‍यालीको दुई दिन अघि देखि नै तनावको सिर्जना हुने आशंका गरिएको थियो। त्यसैले दुवै पार्टीका नेतृत्व तहका नेताहरु बसेर एउटा कार्यक्रम सकिएपछि अर्को गर्ने सहमति भएको थियो ।

तर मधेशी मुक्ति मोर्चाको कार्यक्रम भइरहेको समयमा झन्डै १५०० देखि ४००० को संख्यामा फोरमका समर्थकहरू बिहान देखिनै खडा र भाटासहित र्‍यालीको लागि गौर आइपुगे ।

फोरमका कार्यकर्ताहरु नेकपा माओवादीका समर्थकहरुसंग भिड्ने तथा आक्रमण गर्ने तयारीका साथ उपस्थित थिए ।

तत्कालिन नेकपा माओवादीका केहि कार्यकर्ताले पनि बन्दूक र सकेट बम, साथै अन्य विस्फोटक उपकरणका साथ उपस्थित थिए ।

यसरी झन्डै दिउसो १.४५ बजे, १५ जना हतियारधारीहरुले माओवादीको कार्यक्रम विथोल्ने तथा तनावपूर्ण स्थितिको सिर्जना गरे र परिणाम स्वरूप हत्याकाण्ड भयो ।

मारिएकाहरु अधिकांशलाई स्वचालित हतियारले गोली हान्नुका साथै बाँसको फट्टा, ढुङ्गा/इट्टाले टाउको र मुखमा थिचेर, धारिलो हतियार प्रहार गरेर मारेका थिए ।

महिलाहरुलाई बाँसको भाटाले संवेदनशील अंगहरुमा घोचेर, बलात्कार गरी स्तन काटेर छट्पटीरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको थियो ।

स्थानीय प्रत्यक्षदर्शीहरुको भनाइमा समेत उक्त घटना दोहोरो मुठभेड थिएन । मधेसी राष्ट्रिय मुक्ति मोर्चार्का कार्यकर्ताहरु निःशस्त्र थिए । उनीहरुले प्रतिरोध गर्नै पाएनन्।

त्यही कारण नै फोरमका सशस्त्र कार्यकर्ताहरुले ज्यान बचाउन भाग्दै गरेका निशस्त्र र आतंकित मोर्चा कार्यकर्ता तथा र्सवसाधरणहरुलाई गौरभन्दा सात आठ किलोमिटर टाढासम्म गौंडा कुरेर तथा लखेटी लखेटी हत्या गरेका थिए ।

यो पाशविक घटनाका पीडितहरुले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । मधेशी नागरिक समाजका संयोजक गणेश मण्डल घटनाका दोषीमाथि कडा भन्दा कडा कारवाहीको माग गर्छन् ।

उनले भने, ‘महिलाहरुलाई यति पाशविक किसिमले मारेको ईतिहाँसमा अहिलेसम्म छैन् होला, म तपाईसँग विवाह गर्छु मलाई नमार भन्दा पनि छाडेका छैनन्, यस्ताहरुलाई कडा भन्दा कडा कारवाही हुनैपर्छ ।’

यस घटनाको मुख्य दोषी पुर्व मन्त्री उपेन्द्र यादव रहेका छन् । साथै उनलाई नजिकबाट सहयोग गर्ने अपराधिक गिरोहहरु बबन सिंह, ललन सिंह, चन्द्रीका सिंह, भुषण सिंह, अजय गुप्ता, बाबुलाल साह, गौरी शंकर, गगनदेव बैठा, शम्भू साह, बलराम सिंह कुँवर, गणेशमान यादवलगायत पनि दोषी छन् ।

घटनापछि उपेन्द्र यादव पटक-पटक मन्त्रीसमेत भइसकेका छन् । उनको शक्तिको डरले अहिलेसम्म यो घटनाबारे कुनै छानबिन हुन सकेको छैन् । 

सरकारले गौर घटना छानबिनका लागि तात्कालिन सर्वोच्च अदालतका न्यायधीश खिलराज रेग्मीको नेतृत्वमा २०६४ मा  छानबिन समिति गठन गरेको थियो ।

उक्त छानबिन समितिले अध्ययन पश्चात सरकारलाई रिपोर्ट दियो ।  सो रिपोर्ट अहिलेसम्म सार्वजनिक भएको छैन् । 

संयोजक मण्डल भन्छन् दोषीलाई कारवाही होइन राज्यले अझै प्रोत्साहन गर्ने काम गर्‍यो त्यसैले अहिलेसम्म दोषी खुल्लम खुल्ला हिडिरहेका छन् । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...