‘लकडाउन’मा सोसल क्याफेको ‘भर्चुअल’ लाइभ कन्सर्ट

news

काठमाडौं । देश लकडाउन भएसँगै सबै नागरिक घरभित्रै थुनिएका छन् । कोरोना भाइरसको संक्रमणको त्रासले विश्व नै आक्रान्त छ र त्यसको असर विस्तारै नेपालमा पनि देखिन थालेको छ ।

नेपालमा ६ सय १० मा कोरोना भाइरसको परीक्षण भएको छ । त्यसमध्ये दुईजनामा संक्रमण पुष्टि भएको छ । यसलाई अझ फैलन नदिन सरकारले पुरै देश लकडाउन गरेको छ ।

लकडाउनका कारण सबै नागरिक घरमा नै बन्दी भएर बसेका छन् । भाइरससँग जित्न घर बस्नु बाहेक अरु विकल्पहरु केही पनि छैनन् । घरमा तपाई के गर्दै हुनुहुन्छ ?

तपाईलाई समय काट्न मुश्किल भइरहेको होला ? कहाँ जाउ के गरु भइरहेको होला ? यो सबैबाट तपाइलाई दुर राख्न र सकारात्मक विचारहरुको विकास गर्न आफ्नै घरमा नै बसी बसी लाइभ कन्सर्ट हेर्न सक्नुहुनेछ ।

काठमाडौंको गैरीधारामा रहेको सोसल क्याफेले लकडाउन भरि मनोरञ्जन दिने उद्देश्यले भर्चुअल लाइभ कन्सर्ट (अनलाइन कन्सर्ट) को आयोजना गरेको छ ।

 लाइभ कन्सर्टसँगै घरमा बसी-बसी मनोरञ्जन लिन सकिनेछ । सोसल क्याफेको “ह्यासट्याग म्युजिकल आउट ब्रेक” (# musicaloutbreak) प्रोजेक्ट अन्तर्गत क्याफेका सस्थापक रञ्जन ओझा साथै उनका साथीहरु मिलेर भर्चुअल लाइभ कन्सर्टको कन्सेप्ट तयार पारेका हुन् ।

सामाजिक उतरदायित्व र आम नागरिकलाई मनोरञ्जन दिने उद्देश्यले लाइभ कन्सर्टको आयोजना गरिएको उनले बताए ।

कन्सर्टमा प्रत्येक दिन तीन जना गायकगायिका वा वाद्यवाधकले प्रस्तुति दिनेछन् । दैनिक मध्यान्ह १२.३०, दिउँसो ४.३० र साँझ ७.३० बजे भर्चुअल लाइभ कन्सर्ट हुनेछ । 

सोसल क्याफेको फेसबुक पेज https://www.facebook.com/thesocialcafe/ मा गएर मोबाइल वा ल्यापटपबाट  कन्सर्ट हेरेर मनोरञ्जन लिन सकिनेछ ।

आजको कन्सर्टमा सितारवाद्यक डा. धुर्वेश रेग्मी, गायकद्धय सञ्जय महत र रुसन श्रेष्ठले प्रस्तुति दिने कार्यक्रम छ ।

कन्सर्ट हिजोबाट सुरु भएको हो । हिजो कन्सर्टमा आरिफ राव, इशान आर वन्त र अभिशेख मिश्रले प्रस्तुति दिएका थिए ।

यो लाइभ भर्चुअल कन्सर्ट लकडाउन अवधिभर हुनेछ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...