नौ सय मेगावाटको अरुण तेस्रोको काम स्थगित

news

खाँदबारी । कोरोना भाइरस सङ्क्रमणको त्रासले सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम स्थगित भएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमण नेपालमा समेत देखापरेपछि सरकारले मङ्गलबारबाट लकडाउन गरेको हो । लकडाउन गरेपछि अरुण तेस्रोको काम स्थगित गरेको जनाएको छ ।

भारतीय निर्माण कम्पनी सतजलले जलविद्युत् निर्माणको काम मङ्गलबारबाट स्थगित गरेको कम्पनीका सिइओ अरुण धिमानले जानकारी दिए ।

अरुण तेस्रो परियोजनामा दुई हजार ५०० भन्दा बढी भारतीय र नेपाली कामदार छन् । सतलज कम्पनीले निर्माण मकालु गाउँपालिकामा ड्यामसाइड र चिचिला गाउँपालिकामा विद्युत्गृहको काम गरिरहेको छ । अरुण तेस्रोको काम अहिले ३५ प्रतिशत सम्पन्न गरिसकेको जनाएको छ ।

नौ सय मेगावाटको अरुण तेस्रो आयोजनाको ड्यामसाइड फ्याक्सिदामा भारतीय निमार्ण कम्पनी जय प्रकाश एशोसिएट्स र पावरहाउस रहेको  दिदिङमा पटेल इञ्जीनियरिङ कम्पनीले निर्माणकार्यको जिम्मा पाएका छन् ।

पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो परियोजना ९०० मेगावट विद्युत् उत्पादन हुने र आयोजना निर्माणका लागि एक खर्ब २० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ ।

यस आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, निःशुल्क बिजुली, आयकर, भ्याट र भन्सार शुल्क छुटबाट लाभ प्राप्त गर्ने विकास सम्झौता पिडीएमा उल्लेख गरिएको छ ।  रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...