१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनामा बिजुली उत्पादन वृद्धि


455
Shares

काठमाडौं । लमजुङको बेशीशहरमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको बिजुली उत्पादनमा वृद्धि हुन थालेको छ ।

केहीदिन यता बेला–बेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मर्स्याङ्दी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिनुभयो ।

पुस लागेसँगै २६÷२७ मेगावाट मात्र बिजुली उत्पादन हुँदै आएकोमा यतिबेला ५८ देखि ६० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको बस्नेतले बताउनुभयो ।

विगत वर्षमा जेठमा मात्र बिजुली उत्पादन बढ्ने गरेको उहाँको भनाइ छ । मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाबाट ७० मेगावाट बिजुली उत्पादन हुँदै आएको छ ।

हिउँदको समयमा कुनै बेला २५ मेगावाट मात्रै बिजुली उत्पादन हुने गरेको आयोजनाबाट यही रफ्तारमा पानीको सतह बढे वैशाख महिनाभित्रै पूरै क्षमतामा बिजुली उत्पादन हुने केन्द्रले जनाएको छ ।