गम्भीर प्रकृतिका थुप्रै आपराधिक घटनाहरुको रहस्य पत्ता लगाउन प्रहरी ‘असफल’ (भिडियो)

news

दीपक श्रेष्ठ/भरत केसी (इमेज)

काठमाडौं, साउन २८ । अपराध अनुसन्धानमा नेपाल प्रहरीको छवि अन्तर्राष्ट्रियस्तरमै राम्रो मानिँदै आएको छ ।

तर, मुलुकभित्रै भएका कतिपय घटनाको अनुसन्धानमा भने नेपाल प्रहरी चुक्दै आएको छ ।

नेपाल प्रहरीले गरेको अपराध अनुसन्धानका धेरै सफल उदाहरण छन् । तिनै उदाहरणका कारण नै नेपाल प्रहरीको छवि अन्तर्राष्ट्रियस्तरमा राम्रो मानिँदै आएको छ ।

तर, मुलुकका कतिपय चर्चित घटनाको अनुसन्धानमा प्रहरी चुक्दै पनि आएको छ ।

वि.संं २०६६ साल फागुन १६ गतेदेखि बेपत्ता भएकी काठमाडौंको जैसीदेवलकी छोरीमैया महर्जनको अवस्था पत्ता लगाउन प्रहरीले सकेको छैन ।

बेपत्ता भएको ७ वर्ष बितिसक्दा पनि घटनाबारे प्रहरीले अहिलेसम्म कुनै तथ्य पत्ता लगाउन नसकेको हो ।

त्यस्तै, २०६४ साल असार २१ गते कन्चनपुुरको झाँसीस्थित आफ्नै घरबाट अपहरणमा परेका पत्रकार प्रकाश ठकुरीको अवस्था अहिलेसम्म अज्ञात छ ।

पत्रकार ठकुरी बेपत्ता भएको ११ वर्ष बितिसक्दा पनि घटनाको वास्तविकता तथ्य प्रहरीले पत्ता लगाउन नसक्दा परिवार थप पीडामा छ ।

यी त अनुसन्धानमा देखिएका प्रहरीका कमजोर पक्षका केही उदाहरणमात्रै हुन् । पक्राउ परिसकेका अभियुक्तहरु पनि प्रहरीकै सामुन्नेबाट उम्कने गरेका पनि छन् ।

२०६४ साल कात्तिक ५ गते श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका काठमाडौंको एकलटारका रामशरण पन्त जेलबाटै फरार भए ।

२०६५ साल साउन १८ गते सदरखोर डिल्लीबजारबाट उपचारको बहानामा अस्पताल गएका पन्त प्रहरीलाई झुक्याएर फरार भएका थिए । उनलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

यस्ता घटना पटक–पटक हुने गरेका छन् । गम्भीर प्रकृतिका घटना अनुसन्धानमा प्रहरी किन असफल हुँदै आएको छ त ?

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले प्रहरीले धेरै पुराना घटनाको अनुसन्धान गरेर पनि अभियुक्त सार्वजनिक गरेको उदाहरण दिँदै प्रहरीलाई नै असफल भन्नचाहिँ नहुने बताए ।

उनले गम्भीर किसिमका तर अभियुक्त पक्राउ पर्न नसकिएका घटनाको अनुसन्धानलाई प्रहरीले प्राथमिकतामै राखेर काम गरिरहेको दाबी गरे ।

अपराध अनुसन्धानमा सफल मानिँदै आएको नेपाल प्रहरी कतिपय घटनामा चुक्दै जानुले उसको साख गिरेको टिप्पणी हुने गर्दछ ।

पुराना घटनाका थन्किएका फाइल पनि पुनः ब्युँझ्याएर सफल अनुसन्धान गरी प्रहरीको छवि अझ उच्च बनाउन आवश्यक छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...