राज्यमन्त्री शर्मालाई साधारण तारेखमा छाड्न अदालतको आदेश

news

महोत्तरी, साउन २८ । मधेस आन्दोलनकाक्रममा सशस्त्र प्रहरीका असईको हत्या अभियोग लागेका प्रदेश नम्बर–२ का फरार राज्यमन्त्री अभिराम शर्मा अदालतमा हाजिर भएका छन् ।

उच्च अदालत जनकपुरको आदेशअनुसार प्रहरी हत्याका अभियुक्त प्रदेश–२ का राज्यमन्त्री अभिराम शर्माले सोमबार जिल्ला अदालत महोत्तरीमा आत्मसमर्पण गरेका हुन् ।

अघिल्लो मंगलबार अदालतले आदेश गरेको भएपनि प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।

उनी सोमबार बिहान ११ बजेतिर राज्यमन्त्रीको हैसियतमा प्राप्त सुरक्षाकर्मीका साथ अदालतमा उपस्थित भएका थिए ।

जिल्ला अदालत महोत्तरीले सोमबारै शर्मालाई साधारण तारेखमा छड्न ओदश दिएको छ ।

राज्यमन्त्री शर्मा र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रलाई पक्राउ गर्न उच्च अदालतले प्रहरीका नाममा परमादेश जारी गरेको थियो । मिश्र अझै पक्राउ परेका छैनन् ।

राज्यमन्त्री शर्मा र मेयर मिश्र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट निर्वाचित भएका हुन् ।

मधेस आन्दोलन चलिरहँदा महोत्तरीमा कार्यरत् सशस्त्र प्रहरीका असई थमन विकको २०७२ भदौ २५ गते हत्या भएको थियो ।

आन्दोलनकारीको आक्रमणमा परेर गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर ल्याउनेक्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...