हत्याका आरोपी जलेश्वर नगरप्रमुख मिश्र अदालतमा हाजिर

news

महोत्तरी, साउन २९ । सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपी रहेका जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र मंगलबार महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन् ।

उनीसँगै सोही मुद्दाका आरोपी रहेका राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे पनि मंगलबार अदालतमा हाजिर भए ।

उनीहरु दुवैजना आफैं निवेदन लिएर अदालतमा बिहान १०ः३० बजे हाजिर भएको स्रेस्तेदार रामानन्द अधिकारीले बताए ।

महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत् प्रनानि विकलाई २०७२ भदौ २५ गते आन्दोलनकारीले जलेश्वर–४ स्थित हटियामा कुटपिट गरी गम्भीर घाइते बनाइएका थिए ।

घाइते विकलाई प्रहरीले उद्धार गरी उपचारका लागि जनकपुर लैजाँदै गर्दा महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीले हत्या गरेका थिए ।

उनीहरु जिल्ला न्यायाधीश ब्रजेशकुमार पोखरेलसमक्ष निवेदन दिएर हाजिर भएका हुन् ।

आफैं हाजिर भएका प्रमुख मिश्र र महासचिव पाण्डेलाई अदालतले मंगलबारै थुनछेकको बहस चलाउने भएको उनीहरुका वकिल रमेश पाण्डेले बताए ।

यसअघि, सोमबार सोही मुद्दामा आरोपी रहेका प्रदेश नम्बर–२ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा पनि महोत्तरी जिल्ला अदालतमा आफैं निवेदन दिएर हाजिर भएका थिए । उनलाई अदालतले साधारण तारेखमा रिहा गरेको थियो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...