श्रमिक दिवसमा प्रधानमन्त्रीलाई ट्रेड युनियन कांग्रेसको ज्ञापनपत्र

news

 काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे.डे.) को दिन श्रमिक स्वास्थ्य सुरक्षा र रोजगारीको सुनिश्चितता, महामारी र बेरोजगारी विरुद्धको संघर्षमा ऎक्यवद्घता भन्ने नाराकासाथ एकैसाथ देशैभरिबाट प्रधानमन्त्री केपि शर्मा ओलिलाई ज्ञापन पत्र बुझाएका छ।

ट्रेड युनियन कांग्रेस केन्द्रीय समिती ,सात वटै प्रदेश समितीहरु २७ वटा आवद्ध संघहरु , ७७ जिल्ला समितीहरु र स्थानीय तहले समेत मे.डे. को दिन ११ बजे एकैचोटि इमेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।

अध्यक्ष पुष्कर आचार्यले हस्ताक्षर गरेको ज्ञापनपत्रमा लकडाउनका कारण दैनिक ज्यालादारी लगायत औपचारिक क्षेत्रका श्रमिकहरु समेत समस्यामा परिसकेकोले सरकार राजनीतिक गुटबन्दीमा नलागी समस्या समाधान गर्ने तिर लाग्न भनिएको छ ।

यसैगरी कोरोनाको उपचारमा खटेका स्वास्थ्यकर्मी, अत्यावश्यक सेवामा कार्यरत श्रमिक, सुरक्षाकर्मी र सफाई मजदुरको स्वास्थ्य सुरक्षामा उचित ध्यान दिनु पर्ने, पीपीईको व्यवस्था गर्नु पर्ने, व्यवसायजन्य स्वास्थ्य र सुरक्षा अपनाउनु पर्ने, रोजगारी गुम्ने अवस्थालाई ध्यान दिई नीतिगत उपाय अबलम्बन गर्नु पर्ने, निश्चित अवधिकालागी उद्योगको कर्जाको पुनर्तालिका, व्याज र करमा सहुलियत, रोजगारी सृजना हुने साना मझौला उद्योगमा लगानी र विस्तार गर्नु पर्ने, श्रमिक तथा स्वरोजगारहरुलाई आयकर लगायत कर्जाको व्याजमा सहुलियत व्यवस्था गर्नुपर्ने , श्रमिकलाई स्थानीय निकायमा पञ्जिकरण गरि राशन कार्डको व्यवस्था गर्नु पर्ने त्यही कार्डको आधारमा राहत दिनु पर्ने उल्लेख गरेका छन्  । 

यसैगरी  बेरोजगार श्रमिकलाई न्युनतम ज्याला सरह बेरोजगार भत्ता दिनु पर्ने, अनौपचारिक र स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याउनु पर्ने, नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व गराउनु पर्ने, कोभिड (१९ को नियन्त्रणकालागि श्रम मन्त्रालय, रोजगारदाता र ट्रेड युनियनको त्रिपक्षीय समिति गठन हुनु पर्ने, सिपमुलक तालिमको व्यवस्था गर्नु पर्ने र कृषि लगायत विभिन्न क्षेत्रमा रोजगारी सृजना गराउनु पर्ने, वैदेशिक रोजगारीमा समस्यामा रहेकालाई तत्काल उद्धार गर्नु पर्ने, रोजगारी कटौती हुनेहरुको रोजगारी निरन्तरताको पहल गर्नु पर्ने र स्वास्थ्य सुरक्षाको विषेश ध्यान दिनु पर्ने माग राखेका छन् ।

युनियनले यसपाली मे.डे. कोभिड १९ बिरामीहरुको शिघ्र स्वास्थ्यलाभको कामना र मृत्यु हुनेहरुलाई श्रद्धाञ्जली दिन देशैभर बेलुका ७ बजे दिप प्रज्वलन गरि मनाउँदै छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...