'हमको प्रधानमन्त्री बनादो, मन्त्री बनादो, हम कित्नेको बना सक्ता हे ?'

news

-संजिव कार्की 

“अरे ! पोखरेल साब, आप लोकका नेताको क्या होगा हे ? जो भी आता हे गिडगिडातहे, हमको प्रधानमन्त्री बनादो, मन्त्री बनादो, हम कित्नेको बना सक्ता हे’’

प्रस्तुत हरफहरु पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले एक टेलिभजन अन्तर्वार्तामा र आफ्नो पुस्तकमा उल्लेख गरेको हाम्रो राजनीति, हाम्रा नेताहरुको कुरूप चित्र र चरित्र प्रतिबिम्बित गर्ने प्रतिनिधि भनाइ हो । उनी भन्छन, हाम्रा नेताहरुले भारतीय राजदूतावास पुगेर राजदूतलाई दिक्क र बिरक्त लाग्नेगरी हमको प्रधानमन्त्री बनादो, ‘मन्त्री बनादो’ भनेर रातदिन धाउँछन, राजदूतको चाकरी गर्छन । राजदूत नै इरिटेड हुनेगरी बिन्ती बिसाउँछन ।

त्यसैले एक राजदूतले अन्तरंग कुराकानीमा म सँग यस्तो दिग्दारी पोखे । नेताहरुको त्यस्तो हविगत र प्रार्थना जाबो एक राजदूतसँग हुनुले आमनागरिक अनि देशलाई भारतले हेर्ने दृष्टिकोण र लिने नीति, गर्ने ब्यबहार कस्तो हुन्छ ? उक्त भनाइ र सन्दर्भबाट हामी आजको हाम्रो राजनीति, सत्ता, पार्टीहरु र नेताहरुको मनोविज्ञान विश्लेषण गर्न सक्छौं । यद्दपी, यी भनाइ भित्र नेताहरुप्रति पोखरेलको आग्रह, पूर्वाग्रह हुनसक्छ । उनलाई आएको सुपरियर मानसिकताको अभिव्यक्ति नेताहरुको हीनताबोधसँग जोडिएको पनि होला । एक व्यक्तिको रुपमा भोजराजको आरोप र राजदूतको फूई, धाक र हैसियत पनि मान्न सकिन्छ । संयोग आरोपमा आम लोकले देखेको सत्यअंश पनि छ । नेताहरुको बोली, ब्यबहार, हिनता र लगाव झुकाव पनि देखिन्छ । त्यसैले यो आधिकारिक सत्य नहोला ।

भारतीय राजदूत र भोजराज पोखरेलको आआफ्नो बद्ड़पन र व्यंग भएपनि यसले तीतोसत्य उदघाटन गरेको छ । सत्य सन्निकट मान्न अप्ठ्यारो छैन ।  नेताहरुले यस्तो भनेनन् होला भनेर नपत्याउने जमात सानो छ । पत्याउने र गुलामी गर्छन भनेर बुझ्ने जमात ठूलो छ । हाम्रा नेताहरुको भारतप्रति अनावश्यक ल्वायालटी, अनुग्रहको आशा र दास प्रवृतिले हाम्रो स्वाभिमान र स्वाधिनता अनि गौरवमा धक्का पुगेको छ । भारत मालिक अनि हामी उसको असली कारिन्दा झैँ देखिएका छौ । भारत छिमेकी हो तर मालिक होइन र मालिक बन्न दिंदैनौ भन्ने भाव हाम्रा नेताहरुमा नभएको कारण नै २००७ सालको परिवर्तन देखि ,०१७ को राजनीतिक ‘कु’, राजा महेन्द्रबाट पंचायतको शुरुवात अनि २०३६, २०४६ को परिवर्तन हुँदै हाम्रो संबिधान नियम कानुन बनाउने बेलासम्म भारत हावी बन्यो । भारतकै सहयोग, भूमिका र मध्यस्ततामा धेरै हुने नहुने भए । प्रचण्ड, बाबुरामले नेतृत्व गरेको क्रान्तिकारी जनयुद्द समेत भारतको आश्रय र प्रत्यक्ष, अप्रत्यक्ष सहयोग, सहुलियत र निगाहमा चल्यो । जबकी जनयुद्दको क्रममा लाग्ने नारा भारतीय विस्तारवादको तीव्र बिरोध र भारतीय सिनेमा नेपालमा बहिस्कार गर्ने हदको थियो । जनयुद्ध शुरु गर्नुअघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको बाबुरामको ४० सत्रीय मागमा सात वटा भारत केन्द्रित र भारतको घोर बिरोध गरिएको बुँदा थियो । तर जसका बिरुद्द घनघोर नारा बन्यो, जसको बिरोध गरेर नागरिक आकर्षण बढ्यो उसैको सहयोग, लगानी र रेखदेखमा जनयुद्धका अगुवाहरु रहे, बसे र आन्दोलन गरे ।

यसबाट प्रष्ट हुन्छ भारत जस्तो रोल पनि प्ले गर्न सक्छ । मधेश आन्दोलन र विद्रोहको बेला तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसादले भारतले चाह्यो भने मधेश बिद्रोह निमेषमा सामाधान गर्न सकिन्छ । विरोधाभाषपूर्ण राजनीतिको नमूना र भारतीय हस्तक्षेपको नांगो उदाहरण हो यो । २०६२ सालको मंसिर महिनामा भारतमा सात दल र माओवादी हरुको १२ बुँदे सम्झौता हाम्रो राजनीतिलाई अरु फोहोरी निर्देशित र कलुषित बनाउने अर्को कदमको रुपमा विश्लेषण गरिन्छ । भलै उक्त ऐतिहासिक सम्झौताले २४० वर्षको सामन्ती व्यबस्थाको प्रतिक राजतन्त्र अन्त्यको बातावरण बन्यो र राजतन्त्रको बिदावारी २०६२/०६३ को संयुक्त जनान्दोलनबाट गरियो पनि । राजनीतिक परिवर्तन भयो देश संघीय गणतन्त्रमा रुपान्तरण भयो । जन्म श्रेष्ठताको आधारमा राज्यको प्रमुख हुने परिपाटीको अन्त्य भएर सर्वसाधारण जनताका छोराछोरी राज्यको प्रमुख पदमा निर्वाचित बनेर पुग्ने व्यवस्था गरियो ।

तर राजनीति परिवर्तन भएपनि मनोवृति र दास प्रवृति अनि जननिर्वाचित प्रतिनिधि मालिक बन्ने र अरुलाई निरिह रैती सम्झने र रैतीतुल्य व्यवहार प्रदर्शन गर्ने संस्कारमा बदला आएन । ब्यक्ती परिबर्तन भए तर प्रवृति, संस्कार र नियत परिवर्तन भएको देखिएन । यसर्थ हाम्रो राजनीतिमा, व्यवस्था परिवर्तनमा, राजसंस्था बिदाइमा अनि प्रधानमन्त्री र मन्त्रीको हुनेदेखि अख्तियार प्रमुख अनि संबैधानिक नियुक्तिमा भारतीयहरुको चलखेल, निर्देशन र आग्रह मुख्य रुपमा आयो । देशका पत्रकार, देशका कर्मचारी भारतीय संस्थापन अर्थात, प्रधानमन्त्री र मन्त्रीको, पहुँचको फुर्ति गर्ने भए ।

भारतीय नेताहरुको आशिर्वाद र निगाहा यता गर्व गर्ने र शक्ति संचय र शक्ति प्रदर्शन गर्ने माध्यम बन्यो । गुलामी गर्ने, गुलाम बन्ने र गुलामी चाहने मनोकांक्षा नेता कार्यकर्तामा देखियो । २०७२ को पुनः मधेश आन्दोलनमा पनि भारतले नाकाबन्दी गरेर सहयोग गर्यो । भारत हाम्रो राजनीतिमा नपसेको र हामीले पस्न नदिएको कुनै क्षेत्र छैन तसर्थ भारत हामीलाई मैत्रीपूर्ण छिमेकी हैनआफ्नो कारिन्दाको रुपमा हेर्छ र हर परिवर्तनमा सघाएको गुनको बदला संधै लिने दाउ र प्रयत्नमा हाम्रा नेता र पार्टीहरुलाई उपयोग गरिरहन्छ । विगत ७० वर्षदेखि आज पर्यन्त भारतसँग राजनीतिक निर्भरता आज आर्थिक, सामाजिक र खाद्यान्न लगायत सबै आधारभूत कुराको निर्भरता हाम्रो देखिएको छ । परिणाम हामी बुलन्द बनेर आफ्नो पक्षमा कहिल्यै प्रस्तुत बन्न सकेनौं । आफ्नो स्वार्थको लागि नाजायज सम्बन्ध र हस्तक्षेप स्वीकार गर्ने हाम्रा नेताहरुको प्रवृतिमा परिवर्तन गरेर नयाँ मैत्रीको मानक बनाउन अब लागिपर्नुको विकल्प छैन ।

सबैभन्दा उत्तम र शसक्त देशभक्त, राष्ट्रवादी नेता भनेर प्रधानमन्त्री केपी ओलीले पाएको विश्वास अब काम अडान र उपलब्धिको रुपमा स्थापित गर्ने मौका छ । यो संकट अब अवसर र नेपाल भारतमैत्रीको नयाँ सिमांकन गर्ने  समयको रुपमा ब्यबस्थित गर्नुपर्छ । हामी चुकेको मूल्यांकन र पुनर्मूल्यांकन गरेर अब कहिल्यै नदुख्ने र नबिझाउने गरेर घाउको सल्यक्रिया, सम्बन्धको विस्तृतिकरण र नयाँ आयाम र अवधारणामा आफ्नो उपस्थिति देखाउनुपर्छ । नेपाल–भारत सम्बन्धमा दरार उत्पन्न गर्ने कतिपय हाम्रा वृति र प्रवृति फेर्न सक्नुपर्छ अन्यथा हामी दरो कुटनीतिक पावर बढाउन सक्दैनौं । आफ्नो देशको परिवर्तन, क्रान्ती र आन्दोलनमा हामीले हाम्रो निर्णय क्षमता भन्दा भारत या अरु चीन, अमेरिका, इयुलगायतको आवश्यकता बढी देखेको कारण पनि हामी कमजोरीमा छौं ।

भारत नेपाल सम्बन्धमा असहजता आउनुको अर्को कारण हाम्रो अपरिपक्व कुटनीति र अदलबदल भै रहने सत्ताको स्वभाव । थोरै तलमाथि भयो भने कहिले बेस्सरी भारतसँग लहसिने त कहिले चाइना कार्ड खेल्ने हाम्रो काँचो र प्रतिशोधी कुटनीतिको कारण पनि भारत हामीसंग शंसकित देखिन्छ । हामीले एउटा दुरी र मर्यादा कायम राख्न नसकेको कारण पनि हाम्रो मनोविज्ञान उसले बुझेको छ । हाम्रो धैर्यता धीरता र उत्ताउलो तरिका बिरोध र समर्थनको शैली जानेको छ । रातारात भारत बिरोधी रातारात भारत समर्थक । बेलुकी र बिहान भारतलाई हेर्ने दृष्टिकोणमा परिवर्तन जस्ता आल्काँचा र उत्ताउला बक्तब्य बाजीदेखि यावत बिरोध र मौसमी राष्ट्रवादसँग भारत सुपरिचित छ । भारत रिसाउँदा सत्ताको भर्‍याङबाट झर्नुपर्छदेखि सत्ता उक्लन उसको आशिर्वाद चाहिन्छ भन्ने हीन मनोभाव रहुन्जेल हाम्रो बार्गेनिंग पावर बढ्दैन । भारतीय अतिक्रमित भूमी हाम्रो हो । हामीसँग प्रयाप्त प्रमाण, दस्ताबेज र कारणहरु छन् तर हामी कुटनीतिको टेबलमा दह्रोसँग मुकाबिला गर्न नसक्नुको कारण विगतदेखि चुक्दै र उसको निगाहा, आशिर्वाद र बक्सिसमा आफ्नो भाग्य र भविष्य खोज्ने स्वभावको असर देखिनुले हो ।

अब यी सब कमजोरी सच्याएर राष्ट्र एक ढिक्का र एक स्वरले भारतसँग सीमा विवाद र सीमा अतिक्रमण बारे आफ्नो अडान र तर्क प्रमाण पेश गर्नुपर्छ । हिजो प्रधानमन्त्रीले सबै दल र भूतपूर्व प्रधानमन्त्रीहरुलाई बोलाएर लिएको सल्लाह र सुझाब प्रशंसनीय छ । पूर्वराजा ज्ञानेन्द्रको सल्लाह सुझाव र उनको देशभक्तिलाई पनि सदुपयोग गर्न प्रधानमन्त्रीले हिच्किचाउनु हुँदैन । सबैतिरको सामर्थ्य, सहयोग र समर्थन बोकेर राजनीतिक कुटनीतिक र प्राबिधिक बिषयमा विहंगम बार्ता निष्कर्ष र निचोड निकाल्नु बान्छनीय छ । गुलामी, मलामी र सलामी हैन कुटनीति । देशभक्ति, स्वाभीमान र स्वाधीनता हो । मुलुक सानो होला तर हाम्रो स्वाधीनता, सार्वभौमसत्ता र गौरव सानो र कसैसंग तुलनीय छैन बिशिस्ट छ । यसको विशिष्टता कायम गर्ने नेताहरुको नीति, नैतिकता र नियत बदलिनु जरुरी छ ।

आशा छ नेपाल सरकारले यो पटक आफ्नो देशको रक्षार्थ स्वार्थको बलि चढाएर देशभक्तिलाई आफ्नो मर्यादा बनाउने छ । हमको प्रधानमन्त्री बनादो, मन्त्री बनादो भनेर भारतीय राजदूत , भारतीय नेताहरुको दैलोमा लम्पसार पर्नु पर्ने छैन । राष्ट्रिय स्वाधिनताको लडाईमा राज्यको भुमि संरक्षण गर्न सरकारलाई बल पुगोस आम जनजनको समर्थन, सदभाव र सहयोग रहनेछ ।

 

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...