भान्सामा उनी र म

news

साबित्री थापा ।

‘भान्सामा उनी र म’मा मैले कुनै विभेदलाई उजागर गर्न खोजेकी छैन । अरूका भान्सामा पनि कथाहरू लुकेका होलान्, मेरो भान्सामा पनि कथा छ । यो लेखमा मैले भान्सामा मैले अनुभव गरेको कुरालाई नै राख्दैछु । कतिपयको भान्सामा म (महिला) हुन्छु भने कतिपय भान्सामा उनी (पुरूष) पनि सहयोगीको रूपमा उभिएका हुन्छन् । हुन त यो लकडाउनमा धेरैका लेखहरू आएका छन् । पढेर आफूलाई पनि लेखी हालौं कि भन्ने जोश धेरैपटक चलेको पनि हो । तर, लेख्दै जाँदा आधा पेज कहिल्यै पूरा गर्न सकिनँ । मलाई भान्सा र अफिसको कामले नै अल्झाइरह्यो । भान्सामा मेरो र उनको कथालाई पनि मैले निकै लामो प्रयासपछि मात्र लेख्न सकेकी हुँ ।

उनको घरको भान्सामा म

विवाह संस्कारअनुसार मलाई उनको घर जानु थियो । म गएँ । उनको सबै परिवारले मलाई माया नै गर्नुहुन्थ्यो । मैले भान्सामा विभेदको कुरालाई पटक्कै लेख्न खोजेकी हैन । मलाई उनको भान्साले कसरी मेरो स्वाद परिवर्तन गरायो भन्ने सन्दर्भमात्र राख्न खोजेकी हुँ । विवाहको दोस्रो दिनबाट मेरो र उनको भान्साबीच लडाइँ सुरू हुन थाल्यो । उनको सारा परिवारलाई मसलेदार खाना खाने बानी छ । मेरो भने सादा खाने बानी । उनको परिवारलाई खानामा पिरो खाने बानी । म भने पिरो खानै नसक्ने । म चुपचाप आखाँबाट आँसु चुहिएपनि उनकै परिवारको स्वादमा मिल्ने प्रयास गरिरहेकी हुन्थेँ । सुरूसुरूमा कहिले–काहीँ मैले खाना पकाउँदा म कम पिरो हाल्थेँ । तर, परिवारका अन्य सदस्यहरूलाई पिरो नलागेपछि पछिल्ला दिनहरूमा मैले नै खाना बनाउँदा पनि अरूकै स्वादअनुसारको पिरो हाल्न थालेँ । यो त एक उदाहरणमात्र हो । उनको भान्सामा त्यस्ता थुप्रै कथाहरू छन् । जहाँ मलाई मनपर्ने कुरा उनको परिवारलाई पटक्कै मन पर्दैन । उनको भान्सामा सधैजसो पाक्ने कुरा मलाई पटक्कै मन पर्दैन । तर, लडाइँमा उनको भान्साले नै जित्यो या भनौं मैले जित्ने प्रयास नै गरिनँ । उनको भान्साले मलाई कहिल्यै स्वागत गरेन, बरू मैले उनको भान्सालाई स्वीकार गरेँ ।

मेरो घरको भान्सामा उनी

विवाहपश्चात् मेरो घरको भान्सा पनि उनकै स्वादअनुसार चल्न थालिसकेको थियो । ममीले जहिले नि सोध्नुहुन्थ्यो–‘ज्वाइँलाई के मन पर्छ ? ज्वाइलाई के मन पर्दैन ?’ मेरो भान्सामा पनि मेरो मन परेको कुरा पाक्न छोडिसकेका थिए । कहिले–काहीँ पाकिहाले पनि म नै ममीलाई भन्थेँ–‘ज्वाइँलाई यो मन पर्दैन क्या !’ मेरो भान्सामा सकेसम्मका उनलाई मिठो लाग्ने खानेकुराहरू पाकेका हुन्थे । कहिल्यै उनलाई मेरो भान्साअनुसार स्वाद परिवर्तन गर्नुपरेको मलाई थाहा छैन । बरू, उनी एकजनाका लागि मेरो भान्साले स्वाद बल्दन पाएको थियो । मैले भान्सामा कहिल्यै मेजमानी पाइनँ । न उनको भान्सामा न मेरो भान्सामा । मेरो भान्सामा खाएको थाल उनले उठाउनलाई कुनै जरूरी हुँदैन । यहाँ समानता छ, उनको भान्सामा पनि उनको थाल उनले उठाउनुपर्ने जरूरी छैन । ज्वाइँ भान्सामा पस्दा लाज हुन्छ रे ! अनि, बुहारी भान्सामा नपस्दा लाज मान्नु पर्छ रे ! यस अर्थमा भान्सा मेरै पेवा हो । तर, भान्सामा पाक्ने परिकार र त्यसको स्वादको छनोट कहिल्यै मेरो हुन सकेन । तर, यसमा उनको पनि के दोष ? वास्तवमा न उनले मलाई भेदभाव गरेका थिए न उनले मेरो स्वाद परिवर्तन गर्ने जबर्जस्ती गरेका हुन् । यसको दोषी थियो त केवल भान्सा र भान्सामा मैले आफूले आफूलाई गरेको व्यवहार । जो हाम्रो संस्कार, परम्परा र पितृसत्तासँग जोडिएको छ ।

हाम्रो घरको भान्सा उनी र म

विवाहका केही वर्षपछि त उनको भान्सालाई मैले हाम्रो बनाइसकेकी थिएँ । अब यहाँ स्वादमा केही फरकपना थिएन । मलाई मन नपरेका धेरै कुराहरू मिठा लाग्ने भैसकेका थिए । केही–केही कुरामा उनको स्वादमा पनि परिवर्तन नभएको भने पक्कै होइन । आजको दिनमा उनी नै प्रायः भान्सामा बस्छन् । तर पनि मेरै स्वादअनुसारको खाना उनले पकाएको भने मलाई थाहा छैन । उनले पकाएको खानालाई मैले मिठो भएनचाहिँ भनेकी छैन । बरू, मेरो स्वादमा विस्तारै परिवर्तन हुन थालेको छ । मलाई उनले पकाएको खानाको बानी नै बसिसकेको छ । तर, एउटा समस्या अहिले पनि छ हाम्रो भान्सामा । 

उनले खाना पकाएपछि आजसम्म कहिल्यै पस्केका छैनन् । खै किन हो कुन्नि, उनी खाना पस्किन पटक्कै मान्दैनन् । सायद, यसै कारणले होला खाना नपुग्दा भोकै बस्नुपर्छ भन्ने उनलाई ज्ञान छैन । डढेको भातको स्वाद कस्तो हुन्छ उनलाई थाहा छैन । सबैलाई खुवाएर तरकारी नपुग्दा निस्तै भात खाँदाको अनुभव उसलाई पटक्कै थाहा छैन । भान्सामा म (महिला)हरू मिठो चिज अरूलाई बाँडेर जे बचेको आफूले खान रूचाउँछौँ । परिवारमा छोरा–छोरी, श्रीमान्, परिवारका अन्य सदस्यहरूलाई फल, मासु छानेर दिई हड्डी र छाला नै आफूलाई मन पर्छ भन्दै मुस्कुराउँछौँ । बजारबाट राम्रो मासु किन नल्याएको भनेर सोध्दा उनले भन्छन्–‘तिमीलाई मैले गरेको काम मन नै पर्दैन । तर, उनलाई के थाहा उनले ल्याएको नराम्रो मासु सधैं मेरै भागमा पर्छ भनेर । मैले यो विषयमा कहिल्यै कुरा गरिनँ । 

उनले भान्सामा नयाँ परिकार पकाएमा मलाई सोध्ने गर्छन् खाना कस्तो छ भनेर । प्रायः नयाँ परिकार मसँग खाने भनेर पर्खिएका थुप्रै उदाहरणहरू पनि छन् । उनी बेला–बेलामा भन्ने गर्छन् ‘म जस्तो पाउनु त तिम्रो भाग्य हो’ भनेर । मैले उसको दोष कतै देखाउन चाहिनँ । उनले त मलाई साह्रै माया गर्छन् अनि सम्मान पनि । सायदै यहाँ कतै पनि विभेद पाउँदैन । मैले विभेदको व्याख्या पनि गर्ने खोजेकी छैन । मैले त उनको भान्सालाई स्वीकारेजस्तै भान्साले मलाई कहिले स्वीकार गर्छ भन्ने प्रश्नमात्र राख्न खोजेकी हुँ । सुन्नेलाई सामान्य लाग्न सक्छ । देख्नेले अस्वाभाविक कतै देख्दैनन् भन्ने कुरामा मलाई थाहा छ । दोष मेरै हो । मैले कहिल्यै बोलिनँ । भान्सामा मलाई मेरो इच्छाका परिकारभन्दा परिवारको इच्छालाई ध्यान दिनुपर्छ भन्ने सानैदेखि देखाइएको छ । भान्सामा मैले मेरो स्वादलाई अन्याय गर्दा सधैं मलाई खुसी हुन सिकाइएको छ । तर, मेरो अनुभवमा भान्सासँग जोडिएको हाम्रो संस्कार, गर्दै आएको व्यवहार अनि पितृसत्ताले मेरो स्वतन्त्रतामा मात्र होइन, मेरो स्वादमा पनि नियन्त्रण गरेको छ ।

(लेखिका महिला अधिकारकर्मी हुन् । उनी नेपाल महिला एकता समाजकी कार्यक्रम प्रबन्धक हुन्)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...