मनिषालाई कोइरालालाई राजेश हमाललगायत नेपाली कलाकारहरुको साथ

news

काठमाडौं, जेठ ८ । नेपालले देशको पश्चिमी सीमा क्षेत्रको भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीयहरुले चर्को प्रतिक्रिया जनाएका छन् । खासगरी भारतीय सञ्चारमाध्यमहरु ‘अनर्गल’ प्रचारमा उत्रिएका छन् ।

यसै मेसोमा भारतीय सञ्चारमाध्यमहरुको घानमा परेकी छन्, अभिनेत्री मनिषा कोइराला ।

नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भारतीय अतिक्रमणमा रहेका क्षेत्र समेटेर नक्सा सार्वजनिक गरेकोमा नेपालीहरुमा एकखालको उत्साह छाएको छ ।

अन्य नेपालीहरुले झैं अभिनेत्री मनिषा कोइरालाले पनि यो खुसी लुकाउन सकिनन् ।

उनले आफ्नो ट्वीटर ह्यान्डलबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीटलाई रीट्वीट गर्दै नयाँ नक्सा जारी गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिएकी छन् भने नेपाल, चीन र भारतले संवादबाट उक्त क्षेत्रमाथिको विवाद पनि समाधान गर्ने आशा व्यक्त गरेकी थिइन् ।

तर, भारतीय मिडियाहरु भने ‘के निहुँ पाउँ कनिका बुक्याउँ’ भनेझैं मनिषामाथि खनिए ।

एक हैन, दुई हैन, लगभग सबैजसो भारतीय टेलिभिजनहरुले मनिषालाई ‘भारतको खाएर चीनको गीत गाएको’ आरोप लगाए ।

यता, देशमा भने सबै तह र तप्काले अभिनेत्री कोइरालाको अभिव्यक्तिको खुलेर स्वागत गरेका छन् ।

सामाजिक सञ्जालहरुबाट नेपालीहरुले अभिनेत्री कोइरालाको कर्मभूमि भारतको मुम्बई भएपनि उनी नेपाली छोरी हुन् र उनले त्यही भावना व्यक्त गरेकी हुन् भनेर उनको हौसला बढाइरहेका छन् ।

नेपाली कलाकारहरु पनि यतिबेला अभिनेत्री कोइरालाको साथमा उभिएका छन् ।

नेपाली चलचित्रका महानायक राजेश हमाल, हास्यकलाकार मनोज गजुरेल, दीपकराज गिरी, गायक रामकृष्ण ढकाल, सत्यराज आचार्य, गायिका इन्दिरा जोशीलगायत थुप्रै कलाकारहरुले भारतीय सञ्चारमाध्यमको आक्षेपप्रति आक्रोश पोख्दै अभिनेत्री कोइरालाको सराहना गरेका छन् । 

अभिनेत्री मनिषा कोइरालासँग हिन्दी फिल्ममा सँगै काम गरेका कलाकार सुनील थापा भन्छन्–‘हामी कलाकारहरुलाई जब बलिउडमा लिइन्छ, दया–मायाले होइन ।'

अक्सर भारतीय टेलिभिजनहरु नेपालसम्बन्धी विषयवस्तुमा निकै फितलो र सतहीरुपमा प्रस्तुत हुने गर्दछन् ।

भूकम्पको बेला होस् वा अहिले सीमा विवादको विषयमा होस् उनीहरुको प्रस्तुति नकारात्मक रहेको पाइन्छ ।

यस सम्बन्धमा वरिष्ठ पत्रकार राजेन्द्र दाहाल भन्छन्–‘नेपाली मिडियाको काम इन्डियन मिडियाले, इन्डियन विश्लेषकहरुले गलत कुरा गरेका छन् भने त्यो गलतलाई खन्डन गरिदिनुपर्छ ।’

प्रतिभा हुनेहरुका लागि कार्यक्षेत्रको कुनै दायरा हुँदैन । कुनै एक देशमा जन्मिएको व्यक्तिले अर्को देशमा पुगेर आफ्नो प्रतिभा प्रस्तुत गर्न पाउँछ ।

कर्मभूमिको बन्धक बनेर कुनै विवेकी मानिसले जन्मभूमिप्रति गद्दारी गर्न सक्दैन भन्ने यथार्थलाई भारतीय सञ्चारमाध्यमहरुले बुझ्नु जरुरी छ ।

भिडियो हेर्नुहोस् 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...