पूर्वमन्त्री अफताव आलमको घरमा प्रहरीको छापा, स्थानीयले प्रहरीलाई आक्रमण गरेपछि हवाइ फायर

news

रौतहट । राजपुर बम काण्डका अभियुक्त पूर्वमन्त्री अफताव आलमको घरमा प्रहरीले छापा मारेको छ ।

अभियुक्त आलमका भाइ महताब आलमलाई पक्राउ गर्न भन्दै प्रहरीले मध्यरातमा आलमको घरमा छापा मारेको हो ।

फरार रहेका महताब घरमा आएको सूचना पाएसँगै प्रहरीले छापा मारेको हो । तर रातको समयमा पनि स्थानीयले अवरोध गरेको भन्दै प्रहरीले १२ राउण्ड हवाइ फायर गरेको थियो ।

आलमको घरमा पुगेको प्रहरी टोलीलाई स्थानीयले आक्रमण गरेपछि हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले जानकारी दिए ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोक पदार्थ भण्डारणको आरोपमा जिल्ला अदालत गौरको आदेशमा आफताब आलम पुर्पक्षको लागि काठमाडौको नख्खु कारागारमा रहेका छन् ।

उनका भाई मोहम्मद महताब आलमसहित ११ जना प्रतिवादी फरार रहेका छन् ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते साँझ पूर्वमन्त्री शेख इद्रिसको राजपुर फरदहवास्थित गोठमा भएको बम विस्फोट घटनामा आफताब आलमसहित ११ जनालाई प्रतिबादी बनाइएको हो । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...