
काठमाडौं । विभिन्न ४ कम्युनिष्ट दलहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी निर्वाचन बहिष्कार गरेका हुन् ।
उनीहरुले निर्वाचनमा भाग लिनु जनतालाई दुःख र कष्ट दिएको अहिलेको संसदीय व्यवस्थालाई बढावा दिनुसरह हुने भएकाले बहिष्कार गर्ने निर्णय गरेको बताए । देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले नागरिकता विधेयकको विरोध गर्नेहरुले नागरिकले नागरिकता पाउने अधिकारलाई खोस्न खोजेको भन्ने भ्रम छरेको बताउनु भयो ।
उहाँले मधेशमा नागरिकताको विषय धेरै जटिल भएकोले मधेशमा नागरिकता पाउने खास जाती र वर्गलाई पहिचान गरेर नागरिकता प्रदान गर्न आग्रह गर्नुभयो ।
उहाँले भूमिहीन सुकुम्वासीलाई घरमै पुगेर नागरिकता वितरण गर्नुपर्ने माग राख्नुभयो ।
गजुरेलले नागरिकतालाई मुख्य मुद्दा बनाएपछि नेपालमा ठूलो ध्रुवीकरणको सम्भावना रहेको बताउनु भयो । उहाँले यस वर्षको चुनावमा हिंसात्मक गतिविधि बढी हुने स्थिति रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्