
काठमाडौं । ललितपुरको कुपण्डोलस्थित खड्गी इन्स्टिच्युट अफ् इन्डो युरोलोजीले मृगौलाको पत्थरी रोगको उपचार सम्बन्धी निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्ने भएको छ ।
सो संस्थाले आगामी पुस १४ देखि १६ गतेसम्म सञ्चालन गर्ने शिविरमा ४० जना विपन्न वर्गका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने जनाएको छ ।
रेड क्रसन्ट सोसाईटी अफ कुवेतको सहकार्यमा सो शिविर सञ्चालन गर्न लागेको इन्स्टिच्युटका प्रवन्ध निर्देशक डा. सञ्जय खड्गीले जानकारी दिनुभयो । सो शिविरमा शल्यक्रियासँगै औषधि उपचारमा लाग्ने सबै खर्च संस्थाले नै व्यहोर्ने बताइएको छ । गत वर्ष पनि यस्तै शिबिरबाट २८ जनाले पूर्ण निःशुल्क र ७५ जनाले न्यून शुल्कमा उपचार पाएका थिए । एकवर्ष भित्र सो संस्थाबाट १४ सय ४० जनाले मृगौला र प्रोस्टेट सम्बन्धी उपचार पाइसकेका छन् ।
इन्स्टिच्युटले हरेक महिना ४ जना विरामीको आर्थिक अवस्था हेरेर न्यून शुल्कमा मृगौला सम्बन्धी उपचार गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्