बिम्स्टेक वरिष्ठ पदाधिकारीको बैठक सुरु, घोषणापत्र र अध्ययन प्रतिवेदनमा केन्द्रित

news

शरच्चन्द्र भण्डारी (रासस)

काठमाडौं, भदौ १२ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य देशका वरिष्ठ पदाधिकारीको १९औं बैठक राजधानीमा सुरु भएको छ ।

सदस्य देशका परराष्ट्र/बाह्य मामिला/विदेश मन्त्रालयका सचिवहरुको उक्त बैठकमा व्यापार तथा लगानी, यातायात र सन्चार, प्रविधि, आतंकवादको प्रतिरोध र अन्तर्राष्ट्रिय अपराध, कृषि, गरिबी निवारण, जनस्वास्थ्यमा केन्द्रित रहेर छलफल हुने परराष्ट्रसचिव शंकरदास वैरागीले जानकारी दिए ।

नेपाल बिम्स्टेकको अध्यक्ष मुलुक भएकाले उक्त बैठकमा नेपाली प्रतिनिधिमन्डलको नेतृत्वसँगै अध्यक्षतासमेत गरेका सचिव वैरागीले चौथो शिखर सम्मेलनपछि जारी हुने काठमाडौं घोषणापत्रका मस्यौदामा गहन छलफल गर्ने बताए ।

मन्त्रिस्तरीय बैठक र बिम्स्टेकका अन्य संयन्त्रले प्रस्तुत् गरेका प्रतिवेदनमा गम्भीर विचार–विमर्श हुने उनले जानकारी दिए ।

वरिष्ठ पदाधिकारीको बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सन्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा हालसम्म भएका प्रगतिको समीक्षा भइरहेको छ ।

चौथो शिखर सम्मेलनको तयारी, काठमाडौं घोषणापत्रको अन्तर्वस्तु तथा त्यसको मस्यौदालाई अन्तिमरूप दिने र शिखर सम्मेलनलाई सफल तुल्याउने विषयमा नै केन्द्रित भएर सघन छलफल भइरहेको सचिव वैरागीले राससलाई बताए ।

साउन २६ गते काठमाडौंमा सम्पन्न सदस्य मुलुकका वरिष्ठ पदाधिकारीको विशेष बैठकको समीक्षाका साथै १५औं मन्त्रिस्तरीय बैठकयता भएका बिम्स्टेकका अन्य बैठकका प्रतिवेदनको विवेचना हुनेछ ।

भन्सार सहायतासम्बन्धी कार्यदलको प्रतिवेदन, गत वर्ष बैंककमा भएको बिम्स्टेक यातायात सम्पर्क कार्यदलको दोस्रो बैठकको प्रतिवेदन, बिम्स्टेक तटीय पानीजहाज सम्झौतासम्बन्धी नयाँदिल्लीमा सम्पन्न पहिलो बैठकको प्रतिवेदन र बिम्स्टेक सवारी–साधन सम्झौतासम्बन्धी कार्यदलको पहिलो बैठकको प्रतिवेदन पेस हुनेछ ।

बैठकको कार्यसूची विवरणअनुसार गत मार्चमा बंगलादेशको ढाकामा भएको राष्ट्रिय सुरक्षा प्रमुखहरुको दोस्रो बैठक, यसै महिना सोही स्थानमा भएको बिम्स्टेक संयुक्त कार्यदलको प्रतिआतंकवाद र अन्तर्राष्ट्रिय अपराधसम्बन्धी आठौं बैठकको प्रतिवेदन, बिम्स्टेक प्रविधि हस्तान्तरण सुविधासम्बन्धी विज्ञ समूहको चौथो प्रतिवेदनबारे व्यापक छलफल हुनेछ ।

त्यसैगरी, कृषि सहायतासम्बन्धी विज्ञ समूहको थाइल्यान्डको च्याङराइमा भएको पहिलो बैठकको प्रतिवेदन, गत वर्ष काठमाडौंमा भएको गरिबी निवारणसम्बन्धी पहिलो बैठक र सोही विषयमा गत डिसेम्बरमा सदस्य देशका परराष्ट्रमन्त्री र वरिष्ठ पदाधिकारीको कोलम्बोमा भएको तेस्रो बैठकको प्रतिवेदन बैठकमा पेस हुनेछ ।

परम्परागत औषधिसम्बन्धी कार्यदल, ढाकामा बिम्स्टेकको स्थायी सचिवालय स्थापना गर्नेसम्बन्धी संयुक्त कार्यदलको विशेष बैठकको प्रतिवेदन, बिम्स्टेक सचिवालयको बजेट, सचिवालयका निम्ति सवारी–साधन खरिद प्रक्रिया र चौथो बिम्स्टेक शिखर सम्मेलनको तयारीबारे पनि बैठकमा छलफल हुनेछ ।

बैठकमा बंगलादेशका विदेशसचिव मोहम्मद शहिदुल, भारतका विदेशसचिव विजयकेशव गोख्ले, म्यानमारको विदेश मन्त्रालयका नायब महानिर्देशक विन जेयार तुन, श्रीलंकाका अतिरिक्त सचिव रविनाथा पी आर्यसिन्हा र थाइल्यान्डको परराष्ट्र मन्त्रालयका स्थायीसचिव बुसाया माथेलिन नेतृत्वको प्रतिनिधिमन्डलले भाग लिएको छ ।

उद्घाटन मन्तव्य व्यक्त गर्दै सचिव वैरागीले बिम्स्टेक क्षेत्रका जनताको हित, आर्थिक वृद्धि र समृद्धि बिम्स्टेक कार्यसूचीको प्रमुख विषय भएको बताउँदै व्यापार र एकीकरणका व्यवधान पन्छाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

बिम्स्टेकका महासचिव शाहिदुलले बिम्स्टेकलाई प्रभावकारी संगठनकारूपमा विकास गर्न व्यापार, लगानी, पर्यटन, विद्युत् प्रसारणलाइन तथा भौतिक सम्पर्क र सम्बन्ध कायम गर्नु अपरिहार्य भएको बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...