१५ वर्षीया किशोरी बलात्कृत

news

बाँके, भदौ २२ । नेपालगन्जको गणेशपुरमा ‘साइबाबा’ भनिने एक व्यक्तिले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

केही समयअघिदेखि बिरामी परेकी बालिकालाई झारफुक गर्नेक्रममा साइबाबा भनिने ती व्यक्तिले उनीमाथि बलात्कार गरेको बुझिएको पीडित किशोरीका आफन्तले बताएका छन् ।

झारफुक गर्नेक्रममा ती साइबाबाले तीन/चार महिनाअघिदेखि नै आफूमाथि बलात्कार गर्दै आएको र बाहिर कसैसँग कुरा गरे जे पनि हुनसक्ने धम्की दिएका कारण आफूले कसैलाई पीडा भन्न नसकेको बलात्कृत किशोरीले प्रहरीसमक्ष बताएको आफन्तले जनाएका छन् ।

बिहीबार दिउँसो १ बजेतिर किशोरीको योनीबाट धेरै रक्तश्राप भएपछि किशोरीले आफ्नी आमालाई सबै कुरा बताएकी थिइन् ।

आमाले थाहा पाएपछि घटना बाहिर आएको पीडित किशोरीका काकाले जानकारी दिए ।

घटना थाहा पाएलगत्तै उनका काकाले जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबाबा भनिने ती व्यक्तिको नाममा किटानी जाहेरी दिएका छन् ।

किटानी जाहेरी परेपछि बाँके प्रहरीले साइबाबा भनिने ती व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका ती व्यक्तिलाई थप अनुसन्धानका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ ।

बढैयाताल गाउँपालिकाकी १५ वर्षीया ती किशोरीको बिहीबार भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचार भएको छ भने उनको पेटमा गर्भ भए/नभएकोबारे रिपोर्ट आउन बाँकी रहेको पीडितका आफन्तले बताएका छन् ।

ती साइबाबाले पटक–पटकको बलात्कारपछि बिहीबार गर्भपतन गराउनेसम्बन्धी औषधिसमेत खुवाएको प्रहरीसमक्ष पीडित किशोरीले बयान दिएकी छन् ।

४६ वर्षीय साइबाबा भनिने ती व्यक्ति विगत केही समयदेखि गणेशपुरमा ज्योतिषीको काम गर्दै आएका थिए ।

देशभरमा दिनहुँजसो बलात्कारका घटना घटिरहँदा बाँके जिल्लामा पनि एक सातामै दुईओटा यस्ता घटना भएका छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...