१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बिहीबारको संसद बैठकमा अध्यादेशमाथिको अस्वीकारका प्रस्तावउपर छलफल गरि पारित गर्ने तयारी


5.265k
Shares

काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा अध्यादेशमाथिका अस्वीकारका प्रस्तावउपर छलफल गरेर टुंग्याइने भएको छ ।

बुधबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग गर्नुभएको छलफलमा अध्यादेशमाथि ५१ वटा प्रस्ताव अस्वीकार गर्नुपर्छ भन्नेमा परेको कसरी समय व्यवस्थापन गरेर टुंग्याउने भन्नेबारेमा छलफल गरिएको सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले बताउनुभयो । उहाँकाअनुसार बिहीवारको बैठकमा अध्यादेशमाथिका अस्वीकारका प्रश्तावमा छलफल हुने र अध्यादेश बिहीवारकै बैठकमा पारित गर्नेगरी तयारी गरिएको छ ।

सभामुख घिमिरेले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का नेता पुष्पकमल दाहालले सम्बोधन गर्ने र सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बोल्नुहुने कार्यतालिका निर्धारण गरिएको बताउनुभयो । उहाँले बिहीवारकै बैठकमा भ्रष्टाचार सम्बन्धी प्रतिवेदन, सुरक्षित कारोबारसँग सम्बन्धित प्रतिवेदन र आर्थिक कार्यविधिसँग सम्बन्धित विधेयक फिर्तासँग सम्बन्धित प्रतिवेदन पेश गर्ने तयारी रहेको बताउनुभयो ।

सभामुख घिमिरेसँगको बैठकमा संसदको क्यालेण्डरबारे छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्ष दलका नेताले बोल्ने कार्यक्रम तय भएको र सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बोल्नुहुने बताउनुभयो ।

सभामुख घिमिरेले अध्यादेशको विपक्षमा परेको प्रस्तावमा संसदमा एकजनाले प्रश्तावका रुपमा लैजाने र प्रस्तावकले प्रस्तुत गरेको प्रस्तावउपर समर्थकहरुले बोलेर विषय टुंग्याइने बताउनुभयो । अध्यादेशको प्रस्तावउपरको छलफलपछि सम्बन्धित मन्त्रीले जवाफ दिने र प्रस्तावकले फिर्ता लिनसक्ने गरी कार्यतालिका बनाइएको बताउनुभयो । प्रस्ताव फिर्ता लिन नचाहेको खण्डमा प्रश्तावलाई निर्णयार्थ एक पटक मात्रै प्रश्तुत गर्ने जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले ल्याएको अध्यादेशमाथि अस्वीकारको प्रस्तावकउपर छलफल गरेर कसरी टुंगो लगाउने भन्नेबारेमा छलफल भएको बताउनुभयो । उहाँले प्रतिनिधि सभा नियमावलीले भनेअनुसार राजनीतिक पार्टीहरुबीच सहमति गरेर आफ्ना कुराहरु राख्ने र त्यसलाई निर्णयार्थ प्रस्तुत गर्ने सहमति बनेको बताउनुभयो ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा शुन्य समय, विशेष समय, प्रमुख प्रतिपक्ष दलका नेताको सम्बोधनपछि अध्यादेशमाथिका अस्वीकारका प्रस्तावउपर छलफल हुने कार्यतालिका रहेको बताउनुभयो ।