
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थान कोमामा रहेको भन्दै नाफामुलक कसरी बनाउने भन्नेबारेमा गम्भीर हुन आग्रह गर्नुभएको छ ।
बिहीबार काठमाडौं नेपाल खानेपानी संस्थानको ३६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खानेपानीमन्त्री यादवले घाटामा रहेको खानेपानी संस्थानलाई कसरी नाफामा ल्याउने भन्नेबारेमा सबैले गम्भीर भएर काम गर्नुपर्ने बताउनुभयो । घाटामा रहेको संस्थानलाई नाफामा कसरी ल्याउने भन्नेबारेमा मन्त्रालय बसेर भएपनि नाफामा ल्याएरै छोड्ने प्रतिवद्धता जनाउनुभयो ।
खानेपानीमन्त्री यादवले जायज कामहरुका लागि कोमाबाट निकाल्नका लागि मन्त्रालय अघि बढ्नैपर्ने बताउनुभयो । पाइप फुटेको समस्या, फोहोर पानी आएको गुनासोहरु आम नागरिकले गर्ने गरेको भएपनि समाधान हुन एक महिना लाग्ने गरेको भन्दै तत्काल समस्या समाधान गर्न संस्थानलाई निर्देशन दिनुभयो । कल सेन्टरको स्थापना गरेर भएपनि जनताका समस्या समयमै समाधान गर्न निर्देशन दिनुभयो ।
खानेपानीमन्त्री यादवले सरकारले बनाएका पानी ट्याङ्कीमा नेपाल सरकार खानेपानी मन्त्रालय नलेखिएको भन्दै अबदेखि सबै खानेपानी ट्याङ्कीमा नेपाल सरकार, खानेपानी मन्त्रालय लेख्न निर्देशन दिनुभयो । खानेपानी संस्थानलाई नाफामा लैजान गेम चेन्जर कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्