इलाम । निरन्तर वर्षाका कारण इलाम जिल्लाको मेची राजमार्गमा पुनः समस्या उत्पन्न भएको छ ।
कार्तिक १३ गतेदेखि परिरहेको वर्षाले मेची राजमार्गको राजदुवाली सडकखण्ड विभिन्न स्थानमा दबिँदै, भासिँदै र चिरिँदै गएकोले सडक बन्द भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
त्यस्तै वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको तिल्केनी–सिमलगोलाई–शिल्पुर सडकखण्ड समेत पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ ।
दुवै सडक खण्ड जोखिमपूर्ण अवस्थामा रहेकाले यात्रु तथा सवारी चालकलाई सुरक्षा कारणले सो मार्ग हुँदै सवारी सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय इलामका अनुसार, अर्को सूचना जारी नभएसम्मका लागि यी सडक खण्ड हुँदै सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
प्रशासनले सडक विभाग, प्रहरी, र स्थानीय तहसँग समन्वय गरी सडकको अवस्था सुधारका लागि आवश्यक तयारी भइरहेको जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्