राष्ट्रिय महिला भलिबल मंगलबारदेखि, १० टिम सहभागी

news

बागलुङ, असोज २२ । नेपाल भलिबल संघको आयोजनामा २२औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता मंगलबारदेखि बागलुङको गलकोटमा सुरु हुँदैछ ।

गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल संघको व्यवस्थापनमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाइएको छ ।

पाँच दिनसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष याम श्रीसले जानकारी दिए ।

प्रतियोगिता सन्चालन गर्न करिब रु २० लाख खर्च हुने अनुमान छ । गलकोट नगरपालिकाले रु ८ लाख, गलकोट सेवा समाज जापानले रु दुई लाख ५० हजार उपलब्ध गराएको छ ।

अन्य निकाय, संघ–संस्था र व्यवसायीबाट पनि प्रायोजन जुटाइएको आयोजकले जनाएको छ ।

सुरुमा नेपाल भलिबल संघले खेल सामग्री र नगद रु एक लाख जिल्ला संघलाई प्रदान गरेको थियो ।

‘प्रतियोगिताले व्यावसायिक खेलको प्रवर्धन हुनेछ’–अध्यक्ष श्रीसले भने–‘खेल पर्यटनमा पनि टेवा पुग्ने हाम्रो विश्वास छ ।’

प्रतियोगिताबाट छानिने उत्कृष्ट २४ खेलाडीलाई राष्ट्रिय टिमको तयारीमा राखिने नेपाल भलिबल संघले जनाएको छ ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सन्चालन गरिनेछ ।

प्रतियोगिताको विजेता टिमले रु ५० हजार, उपविजेताले रु ३० हजार र तेस्रो हुनेले रु २० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सटर र ब्लकरलाई रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

राष्ट्रिय खेल भलिबल सन्चालन गर्न पाउनु सुखद् अवसर भएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए ।

गलकोट बहुमुखी क्याम्पसको प्रांगणमा प्रतियोगिता सन्चालन हुनेछ । खेलाडी, प्रशिक्षक र टिमका पदाधिकारी गलकोट पुगिसकेका छन् ।

पहिलोपटक सदरमुकामबाहिर राष्ट्रियस्तरको खेल प्रतियोगिता हुन लागेको हो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...