म्याग्दीबाट १७ हजार भेँडा-च्याङ्ग्रा निकासी

news

बेनी, असोज २९ । दशैँलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेँडा-च्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महिनौँ लगाएर ल्याइएका भेडा-च्याङ्ग्रा म्याग्दी हुँदै निकासी गरिएको हो । 

दशैँलाई लक्षित गरी यो वर्ष १६ हजार ७०० भेँडा-च्याङ्ग्रा निकासी भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको जोमसोमस्थित सेवा केन्द्रका पशु चिकित्सक शिव भुसालले जानकारी दिए ।

उनका अनुसार, च्याङ्ग्रा १३ हजार ९८५ वटा र भेँडा दुई हजार ७१५ वटा निकासी भएका हुन् ।

म्याग्दी, बागलुङ, पर्वत, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौँलगायतको ठाउँबाट जोमसोममै पुगेर व्यापारीले भेँडा-च्याङ्ग्रा खरीद गरेका छन् । खाद्य संस्थानले समेत ९२५ वटा भेँडाच्याङ्ग्रा खरीद गरी लगेको पशु चिकित्सक भुसालले बताए ।

उनका अनुसार, सबै भेँडा-च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निरोगी प्रमाणपत्र जारी गरेर मात्रै निकासीको लागि अनुमति दिने गरिएको छ । 

मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका कृषकले समेत व्यावसायिक रुपमा भेँडा-च्याङ्ग्रा पालन गर्दै आएका छन् । मुस्ताङभित्र र अन्य जिल्लाबाट समेत ल्याइएका भेँडा-च्याङ्ग्रा निकासीबाट करिब रु ३५ करोड भित्रिएको छ । 

जोमसोममा च्याङ्ग्रालाई प्रतिगोटा २० देखि २२ हजार र भेँडा प्रतिगोटा १७ देखि १९ हजारसम्ममा खरीद बिक्री भएको थियो । अघिल्ला वर्षको तुलनामा जोमसोममै भेँडा-च्याङ्ग्राको मूल्य महँगो भएको कारण बजारमा ल्याइएको भेँडा-च्याङ्ग्राको मूल्य बढेको व्यवसायी नरबहादुर थापाले बताए ।

हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको घाँस खाएर हुर्किएका भेँडा-च्याङग्राको मासु स्वास्थ्यको लागि लाभदायी र स्वादिलो हुने भएकाले दशैँमा लेकाली भेडा-च्याङ्ग्राको माग अत्यधिक हुने गरेको छ । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...