कर्मचारी समायोजन अध्यादेश ल्याउने तयारीप्रति सत्तापक्ष नै असन्तुष्ट

news

काठमाडौं, मंसिर १२ । अध्यादेशमार्फत् कर्मचारी समायोजन विधेयक ल्याउने सरकारको तयारीप्रति सत्तारुढ दलकै सांसदहरुले विरोध गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सत्तारुढ दलका सांसदहरुले हिउँदे अधिवेशन आउन केही सातामात्र बाँकी रहेको अवस्थामा संसद छलेर अध्यादेश ल्याउनु गम्भीर गल्ती हुने टिप्पणी गरेका हुन् ।

सत्तारुढ दलका सांसदहरु यशोदा सुवेदी गुरुङ, महेशजंग गहतराज, विजय सुब्बालगायतले संसदलाई छलेर गरिने काम संविधान, लोकतन्त्र र संघीयताविपरीत भएकाले कर्मचारी समायोजन विधेयक संसदबाटै आउनुपर्ने बताए ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमशेरकुमार सिंहले ‘संसद हुँदाहुँदै अध्यादेशमार्फत् विधेयक ल्याएर लोकतान्त्रिक पद्धति समाप्त पार्न खोजेको हो ?’ भन्दै प्रश्न गरे ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले अध्यादेशमार्फत् कर्मचारी समायोजन विधेयक ल्याउनु बाध्यता भएको भन्दै मन्त्रालयले संसदको विकल्प नभइ कामको विकल्प खोजेको बताए ।

बैठकमा सांसदहरु राजेन्द्र श्रेष्ठ, रामसहायप्रसाद यादव, मीना पाण्डे, प्रेम सुवाल, छक्कबहादुर लामालगायतले सरकारले सिंगो संसदलाई छल्न खोजेको आरोप लगाएका थिए ।

उनीहरुले सरकारको संघीयता टिकाउने मानसिकता नै नभएको आरोप लगाए ।

अध्यादेशमार्फत् कर्मचारी समायोजन विधेयक ल्याउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मस्यौदा प्रधानमन्त्री कार्यालयमा पेस गरिसकेको छ । सोही मस्यौदाको सम्बन्धमा बिहीबार मन्त्रिपरिषदको विधेयक समितिमा छलफल हुँदैछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...