
नारायणप्रसाद भण्डारी
ईश्वरीय सत्ताको अस्तित्वका पक्ष–विपक्षमा अनादिदेखि चल्दै आएका तर्क–वितर्क अद्यपर्यन्त जारी छन् । सम्भवतः यो एउटा अन्त्यहीन बहस हो जुन चलिरहन्छ । बालज्ञानी भनिएका आदित्य दाहाल अहिले चर्चा, प्रचार र विवादको केन्द्रमा छन् । रुपमा बालध्यानी बालक देखिए पनि विवादको अन्तर्य भने अध्यात्मवादी र भौतिकवादी, ईश्वरवादी र अनीश्वरवादी तथा आस्तिक र नास्तिकबीचको घर्षणमा देखिन्छ ।
दुर्बल शरीर धारण गरेका बालकभित्रको अलौकिक चेतनाशक्ति देखेर अध्यात्मिक शक्तिको विरोध गर्नेहरु समेत तीनछक परेका छन् । कहिल्यै विद्यालय नटेकेका र पढाइको सन्दर्भ नै शुरु नगरेका बालकले सिकाइका न्यूनतम सिद्धान्तलाई चुनौती दिँदै अनेक भाषा मात्र जानेका छैनन्, गहिरो दर्शन र आत्मज्ञान प्रकट गरिरहेका छन् । यसभित्रको रहस्यले विज्ञानका विज्ञहरु समेत ट्वाँ परेर घोत्लिन बाध्य बनेका छन् । पुस्तक र गुरुबिनै कहिल्यै सुन्दै नसुनेका र देख्दै नदेखेका विषयमा गहिरो ज्ञान हुनु चानचुने कुरै होइन ।
२०६७ सालमा झापाको तोपगाछीमा शेषराज दाहाल र ईश्वरा गुरागाइँका पुत्रका रुपमा जन्मेका आदित्यको स्वास्थ्य जन्मेको साढे २ वर्षसम्म ठिकै थियो । त्यसपछि बोल्न र हिड्न नसक्ने अवस्थामा पुगेका बालक छोराको उपचारका लागि समाजिक सञ्जालमार्फत् उपचारका लागि सहयोगको अपील गरेका थिए ।
तिनै अवाक् बालकले चार वर्षको उमेरमा कागजमा लेखेर विचार व्यक्त गर्न थाले र उनका भविष्यवाणि सत्यसावित भएपछि उनको चर्चा शुरु भएको हो । ९ वर्ष उमेर पुगेका उनको अहिलेसम्म शारीरिक अवस्थामा सुधार आएको छैन । कसैको सहाराबिना उनी हिड्डुल् गर्न त के अडिनसमेत सक्दैनन् भने लेख्ने बेला पनि उनलाई सहयोग चाहिन्छ । उनमा रहेको अलौकिक र असाधारण क्षमताले उनी चर्चाको शिखरमा पुगेका छन् ।
शुरुमा भविष्यवाणि गरेका बालयोगीले अहिले आफूभित्रको असाधारण ज्ञानलाई सूत्रबद्ध रुपमा प्रकट गराउँदै आएका छन् । संसारमै नभएको फरक शैलीको मन्दिरको डिजाइन, ठेक्कापक्रिया, लागतसहित निर्माण सामग्री उनकै निर्देशन र डिजाइनमा सम्पन्न भएको दाबी गरिएको छ । ७२ घण्टासम्म अन्नजल नखाई श्वासप्रश्वास नियन्त्रण गर्ने, घण्टौँसम्म ध्यानमा लीन भइदिने र महापुरुषको जस्तो उच्च स्तरको चेतना प्रकट गर्ने सामान्य विषय होइन ।
धेरै गुणले सम्पन्न आदित्य सर्वगुणसम्पन्न भने होइनन् । उनले गरेका कतिपय भविष्यवाणि भने मेल खाएका छैनन् । उनले आफ्नो रोग निको हुन अमेरिकामा उपचार गर्नुपर्ने र २०७२ सालमा निको हुने बताए पनि अहिलेसम्म उनको शारीरिक समस्या पहिचान हुन सकेको छैन । त्यस्तै निशान भट्टराई नेपाल आइडल हुने भनेर भविष्यवाणि गरेका भए पनि त्यसो हुन सकेन । उनमा अलौकिक चेतना र शक्ति छ भन्दैमा एउटै व्यक्तिमा सबैथोक र सर्वगुण खोज्नु मुर्खता शिवाय केही होइन । यसैका आधारमा उनलाई गिज्याउनुले खास अर्थ राख्दैन ।
बालज्ञानीका नामले कहलिएका तिनै बालकका लेखोटको संग्रहलाई समेटेर कलियुगको आदित्य ज्योतिपथ नामक पुस्तक नेपाली र अंग्रेजी संस्करणमा ल्याइएको छ । केही दिनअघि प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाको उपस्थितिमा भव्य समारोहमा त्रिगजुर आदित्य प्रतिष्ठानको प्राणप्रतिष्ठा बालध्यानीको उपनयन संस्कार समेत गरिएको थियो ।
सोही अनुष्ठानमा प्रधानमन्त्रीसहितका शीर्ष नेताहरुले आदित्यको असाधारण क्षमताको तारिफ र प्रशंसा गर्दै आश्चर्यप्रकट गरेपछि विवादका लागि पर्याप्त बीउ बन्यो ।
राज्य र सरकारको चासोमा पर्दै आएका उनीप्रति राज्यले कुन हदसम्मको अग्रसरता देखाउँदा उचित हुन्थ्यो ? त्यो त छुट्टै बहसको विषय बन्ला तर त्यसकै आधारमा बालकको उचाइ पुड्क्याउन खोज्नुचाँहि उनीप्रतिको चरम पूर्वाग्रह र घोर अन्याय हो ।
राष्ट्रकै सम्पत्तिका रुपमा रहेका यस्ता अलौकिक बौद्धिक प्रतिभाको सम्मानको लागि राज्यले चासो देखाउँदा आलोचना र विरोध हुनु दुर्भाग्यपूर्ण अवस्था हो । यद्यपि त्यसको पनि सीमा हुन्छ । आफ्ना नागरिकमा रहेको ज्ञानको सम्मान र प्रचारप्रसार गर्नु राज्यको जिम्मेवारी र दायित्व हो । जोसुकैमा रहेका विशिष्ट र उन्नत विचारलाई राज्यको हित, शान्ति र समृद्धिमा उपयोग गर्नु बुद्धिमत्ता हुन्छ ।
यसो भनिरहँदा विश्वमा कयौं प्रतिभावान र तीक्ष्ण बुद्धिका अरु व्यक्ति अन्यत्र पनि जन्मिएका छन् । ज्यादै दुर्बल शारीरिक अवस्थाका स्टेफेन हकिन्सले ब्ल्याकहोलको रहस्य पत्ता लगाए । मानव जीवनको सुरुवातदेखि आजसम्म हामीले कल्पना गरेभन्दा कयौं ठूला र आश्चर्यजनक खोज अनुसन्धान र आविष्कार भइरहेका छन् । कतिपय दिमागी चोट लागेका व्यक्तिहरुमा पनि असाधारण गणितीय क्षमता देखा पर्ने गरेको अनुसन्धानले प्रमाणित गरिसकेको छ ।
एक प्रसिद्ध वैज्ञानिक डेनियल टामेलमा अद्भूत गणितीय क्षमता छ जबकी उनमा क्याल्कुलेटरले भन्दा छिटो गुणनफल निकाल्न सक्छन् । आजको भौतिक प्रगति र आविष्कारको करामत केही वर्ष पहिलेको सोँचाइमा असम्भव जस्तै थियो । जुन अथाह शक्ति मानवीय बुद्धि विवेककै खेल हो । ज्ञानको दायरा निरन्तर फराकिलो हुँदै गइरहेको छ । दिनप्रतिदिन नयाँ नयाँ रहस्यहरुको उद्घाटन भइरहेको छ । हामी चाहे आध्यात्मिक हौँ या नहोऔँ हामीभित्र ईश्वरीय चेतना लुकेको हुन्छ । त्यहीँ चेतना कसैमा प्रबल र कसैमा न्यून रुपमा देखा पर्दछ ।
आजको ज्ञान, विज्ञान, चेतना सबैको एउटै स्रोत हो त्यसलाई हामी अनेक नामले पुकार्न सक्छौँ । सामान्यतया चेतना प्रकट हुनको लागि निश्चित पक्रिया पार गर्नुपर्छ । सिकाइको तह बढाउँदै जानुपर्छ । खोज अनुसन्धानमा लीन हुनुपर्छ तर आदित्यमा देखिएको चेतना स्वतः प्रकट भएकाले अरुहरुको भन्दा केही फरक प्रकृतिको छ । यस्ता विशिष्ट खुबी र क्षमता भएकाहरुको उचित सम्मान र प्रचार गर्नु कुनै अपराध र लज्जाबोध गर्नुपर्ने कुरै होइन । उनीभित्रको ज्ञानको प्रचार र प्रतिभा उजागर गरेर सबैसामु चेतनाको ज्योति फैलाउँदा उनको बालसुलभ र बालअधिकार कुण्ठित हुने तर्क आँफैमा हास्यास्पद छ ।
यिनै बालकलाई देखाएर अहिले जनमानसमा कित्ताकाट भइरहेको छ । एउटा पक्ष छ त्यसले आदित्य बिरामी बालक हुन् उनलाई विशेष रुपमा लिनै हुँदैन भन्ने तर्क राखिरहन्छ । शारीरिक र मानसिक विकृतिस्वरुप उनमा त्यस्तो व्यवहार देखिएको त्यो समूहको धारणा छ । अर्कोपक्षले उनी भगवानका अवतरित अंश हुन् उनलाई भगवानसरह मान्नु नै श्रेयस्कर ठान्दछ ।
उनीप्रति घृृणा फैलाएर र उनलाई देवता मानी पूजा गरेर हामीले केही पाउँदैनौँ । समाजलाई बौद्धिकता र विवेकले मार्गदर्शन गरिनुपर्छ न कि अराजक भीड र विवादको बीउ सल्काएर । उनी भगवान् नभए पनि हाम्रो देशका विशिष्ट प्रतिभा हुन् । उनमा अलौकिक ज्ञान र अद्भूत चेतना छ । शारीरिक रुपमा विकलांग भए पनि उनबाट मानसिक रुपमा सुसंस्कृत र उन्नत विचार प्रकट भएका छन् ।
उनीबाट हामीले सिक्ने र पाउने चिज के हो यसमा बहस गर्नुपर्छ । शारीरिक अवस्था दयनीय भए पनि उनका ग्रहणीय पक्षलाई आत्मसात् गर्न सक्छौं । हाम्रै पवित्र भूमिमा एउटा अलौकिक बालकको जन्म भएकामा हामीले चित्त दुखाउभन्दा गर्व गर्ने ठाउँ बनेको छ । तर उनीप्रतिको वितृष्णा र पूर्वाग्रह र केका लागि ? अर्कोतिर उनको बारेमा अतिरञ्जित बढाइचढाइ र देवत्वकरण गर्नु पनि आत्मघाती कदम हो ।
साथसाथै विभिन्न कालखण्डमा आफूलाई ईश्वरको अंश वा अवतार दाबी गर्नेहरुका वास्तविक कर्तुतहरु पनि छताछुल्ल भएका छन् । आफूलाई स्वनामधन्य ठान्ने तथाकथित अलौकिक पुरुषहरुका छलछाम र कपटपूर्ण व्यवहारले समाज एकहदसम्म आजित र प्रताडित भएको यथार्थलाई बिर्सिन सकिँदैन । संसारभरी धर्मको आवरणमा बसेर स्वार्थका धन्दा चलाउनेहरुको बिगबिगी पनि कम्ती छैन । तर यसको आधारमा धर्मका कयौं सच्चा साधक र ज्ञानी गुरुहरुको अवमूल्यन गर्दै घृणा फैलाउनुको कुनै तुक छैन । समूहका सबैलाई एउटै डालोमा गोलमोल गराएर एकै मूल्यांकन गर्नु पनि पराजित मानसिकताको लक्षण हो ।
पछिल्लो समय हाम्रो समाज सतही, छिपछिपे विश्लेषणमा भासिँदै गएको छ । कुनै विषयमाथिको एकपक्षीय वा पूर्वाग्रही टिप्पणीको संक्रमण झन् झन् ऐजेरुझैँ फैलँदो छ । आदित्यप्रति अरुचि राख्ने र आदित्यको आलोचना गरेर नथाक्नेहरुले एकपटक उनीभित्रको प्रतिभालाई बुझ्ने कोसिस गरेका छैनन् । समालोचना र आलोचना भनेको निन्दा र नकारात्मक टिप्पणी मात्रै होइन बरु त्यसलाई बहुकोणीय चस्माबाट हेर्नु हो । तर हरेक कुरामा नकारात्मकता मात्र देख्नेहरुले खुलम्खुल्ला सत्यताको तेजोबध गरिरहेका छन् ।
सूचना केन्द्र मानिएका सञ्चारमाध्यमलाई आफूभित्रको आक्रोश र तूष पोख्ने थलोका रुपमा उपभोग गर्नुभन्दा तथ्यको उजागर गर्ने अवसरमा बदल्नुपर्ने आवश्यकता छ । बालयोगी आदित्यलाई रोगी बालकको रुपमा मात्र हेर्नेहरुले उनको सान्निध्यतामा पुगेरै उनीभित्रका वास्तविकतालाई बुझ्ने कि ? यसो भनिरहँदा यस कुरालाई पनि उत्तिकै बुझ्न आवश्यक छ कि हामी आदित्यको अलौकिकताप्रति लठ्ठ बनेर नतमष्तक बन्ने होइन । उनको उन्नत विचारलाई ग्रहण गर्ने हो ।
स्वार्थसमूह हरेक परिस्थितिमा सल्बलाइरहेका हुन्छन् । आदित्यको आवरणमा आफ्ना स्वार्थसिद्ध गर्न कुर्नेहरुले कुनै दिन उनलाई नै बदनाम नगराउलान् भन्न सकिन्न । यसमा सबैतिरको निगरानी र पैरवी आवश्यक छ । शुद्ध र मुक्त आत्माले मानव जातीलाई कल्याणको मार्ग देखाउन सक्ने उनीभित्रको संभावनालाई हामीले बुझ्न सक्नुपर्छ । आदित्यको पाञ्भौतिकी शरीर ढोगेर, पूजेर मात्र केही हुँदैन । महान् उनको शरीर होइन, उच्च चेतना हो ।
इतिहासका निर्मम घटनाहरुबाट हामीले पाठ सिक्नुपर्छ । महान् दार्शनिक सुकरातको चिन्तन नबुझ्नेहरुले उनलाई विष पिलाएर मारे । पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने गीआर्डिनो ब्रुनोलाई जिउँदै जलाइयो । जिसस क्राइष्टको विचारलाई नबुझेर झुण्डाएर मारियो । जुन कुराहरु कालान्तरमा सत्य सावित भएपछि पश्चातापको आगोमा जल्नुपरेको छ ।
मानिसभित्र रहेको असीमित सम्भावना र अथाह ज्ञानको स्रोतलाई गहिरो ध्यान, चिन्तन र साधनाबाट प्रकट गराउन सकिन्छ । यद्यपि अध्यात्ममा रुचि राख्नेले र पुराण, महापुरुण र शास्त्रहरुमा यस्ता व्यक्तित्वको चर्चा पहिलेदेखि नै गर्दै आएका थिए ।
अध्यात्म आफूभित्रको आत्मचेतना र ईश्वरीय सत्तालाई बुझ्ने विषय हो । यो बौद्धिकता, तर्कवितर्क र वादविवादभन्दा अझ माथि हुन्छ किनभने यसमा अनुभूति प्रधान मानिन्छ । अध्यात्मलाई बुझ्न बहसभन्दा पहिले आफैँले अनुभूति गर्नुपर्छ । जसले आफूभित्रको अध्यात्मलाई नबुझी आध्यात्मिक शक्तिको अस्तित्वलाई दुत्कारेर निकालिएको निश्कर्षले जीवन र जगतको बहुआयामलाई समेट्न सक्दैन ।
प्रतिक्रिया दिनुहोस्