६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्रजातान्त्रिक विचार समाजको महाधिवेशन जेठ ३ र ४ मा काठमाडौंमा हुने


0
Shares

काठमाडौं । प्रजातान्त्रिक विचार समाजको महाधिवेशन जेठ ३ र ४ मा काठमाडौंमा हुने भएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी समाजका अध्यक्ष डा.केदारनरसिंह केसीले जेठ ३ र ४ मा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

२०५२ सालमा स्थापित समाजको ११ औं महाधिवेशनमा ४६ जिल्लाका तीन सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने उनले जानकारी दिए ।

यसैगरी समाजले सरकारले वर्तमानमा ल्याउन खोजेका केही ऐनले नागरिक अधिकार खुम्च्याउन खोजेको टिप्पणी पनि गरेको छ । उसले मानवअधिकार आयोग ऐन संशोधन विधेयक सुटुक्क ल्याएर आयोगलाई कमजोर बनाउन खोजेको भन्दै सच्याउन आग्रह गरेको छ ।

सञ्चारसँग सम्बन्धित, मिडिया काउन्सिलसहितका विधेयक मार्फत सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी अठ्याउन उद्यत रहेको समाजको निष्कर्ष छ । नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज गर्ने दुष्प्रयास नगर्न उसले सचेत पनि गराएको छ । 

संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन संशोधन नै नगरी दुई आयोग गठनका लागि पदाधिकारी नियुक्त गर्न खोजेर पीडितलाई न्याय दिन नचाहेको फेरि पुष्टी भएको प्रजातान्त्रिक विचार समाजले जनाएको छ ।

मुलुकमा विधिको शासन कमजोर बनाएको, दण्डहीनता व्याप्त भएको, भ्रष्टाचार, अकूत सम्पत्ति, अनियमिततामा कुनै कार्वाही हुन नसकेको भन्दै समाजले सरकार गर्नुपर्ने काममा संलग्न नभई अर्कै बाटोमा लम्केको आशंका पनि गरेको छ ।

सरकार शक्ति उठ्याउने धूनमा रहेको भन्दै उसले नागरिकले स्थीर र बलियो सरकार खोजेको तर सरकार निरंकुश, एकाधिकारवादी मार्गमा लम्केको आरोेप लगाएको छ ।