२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


अमेरिकामा संक्रमितको संख्या दैनिक एक लाख नाघ्ने वरिष्ठ जनस्वास्थ्यविद फाउचीको चेतावनी


0
Shares

एजेन्सी, असार १७ । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या दैनिक एक लाख नाघ्ने चेतावनी वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले दिनुभएको छ ।

सिनेटमा भएको सुनुवाईमा डा. फाउचीले संक्रमितको संख्या दैनिक एक लाख पुगेमा आफू आश्चर्यमा नपर्ने भन्दै भन्नुभयो, ‘स्पष्ट छ कि हामी अहिले महामारीलाई नियन्त्रणमा लिन सकेका छैनौँ ।’

अमेरिकीले मास्क लगाउने तथा सामाजिक दूरी कायम गर्ने जस्ता संक्रमणबाट जोगिने उपायको प्रभावकारी पालना नगर्दा समस्या थप गम्भीर बन्दै गएको उहाँले बताउनुभयो ।

डा. फाउचीले अमेरिकामा दैनिक संक्रमण हुने मध्ये आधा चार राज्यका नागरिक रहेको भन्दै सचेतता अपनाउन आग्रह गर्नुभयो । ति चार राज्यमा फ्लोरिडा, एरिजोना, टेक्सास र क्यालिफोर्निया छन् ।

त्यसअघि न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले अरु राज्यबाट आउने आधा अमेरिकी आइसोलेशनमा बस्नु पर्ने बताउनुभएको थियो ।

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १ लाख ३० हजार भएको छ । पछिल्ला दिनमा त्यहाँ दैनिक ४० हजार भन्दा बढी संक्रमित थपिइरहेका छन् ।

संक्रमण केही कम भएपछि महिना दिनअघि लकडाउन खुकुलो पारेको अमेरिकामा फेरि विभिन्न राज्यले लकडाउन कडा बनाउन थालेका छन् ।