२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेकपामा दोस्रो तहका नेता ताते, पार्टी फुट्न नदिन नेताहरुलाई दबाब बढाउने निचोड


0
Shares

काठमाडौं, असार १९ । पार्टी फुटको डिलमा पुगेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका दोस्रो तहका नेताहरुले छलफल गरी फुटोन्मुख अभिव्यक्ति र क्रियाकलाप नदिन शीर्ष नेताहरुलाई दबाब बढाउने निष्कर्ष निकालेका छन् ।

कृषिमन्त्री घनश्याम भुषालको संयोजनमा शुक्रबार बिहान पुल्चोकस्थित उहाँकै निवासमा भेला भएका युवा नेताहरुले पार्टीलाई विभाजनको तहमा पुग्न नदिन सबै खाले हस्तक्षेप गर्नुपर्ने निचोड निकालेका हुन् ।

छलफलमा केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल पक्षका दोस्रो पुस्ताका ११ जना नेता भेला भएका थिए । शीर्षनेताहरुलाई विवाद चर्किने गतिविधि नगर्न खबरदारी गर्ने निर्णय गर्दै उनीहरुले आ–आफ्ना गूटका नेतासँग आग्रह गर्ने भएका हुन् ।

भुषाल निवासमा भएको भेलामा ओली पक्षका नेताहरु विष्णु रिमाल, शंकर पोखरेल, प्रदीप ज्ञवालीको सहभागिता थियो । दाहाल पक्षबाट टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, वर्षमान पुन र मणि थापा सहभागी हुँदा माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र योगेश भट्टराई सहभागी हुनुहुन्थ्यो ।

पार्टी एकता बचाइराख्न र परिस्थिति अरु बिग्रन नदिन एकार्कामा दूरी बढ्ने गतिविधि नगर्न र कार्यकर्तालाई नउराल्न आ–आफ्ना समूहका शीर्षनेतालाई आग्रह गर्ने विषयमा उनीहरु सहमत भएका हुन् ।

उनीहरुले सडक प्रदर्शन तत्काल रोक्नुपर्नेमा पनि सहमति गर्दै पार्टीभित्रको अन्तरविरोध मथ्थर पार्न शीर्ष नेताहरु संयमित रहनुपर्ने निष्कर्ष निकालेको नेता टोपबहादुर रायमाझीले सञ्चारमाध्यमलाई जानकारी दिनुभयो ।

पार्टी स्थायी कमिटी बैठकमा लगातार आफूविरुद्ध नेताहरु खनिँदै राजीनामा माग्न थालेपछि आक्रोशित प्रधानमन्त्री ओलीले पार्टी र सभामुखसँग परामर्श नै नगरी संसद बैठक स्थगित गरिदिनुभएको छ ।

यही बीचमा एकताका लागि प्रयास गर्ने भन्दै जारी बैठक स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित गरिएको छ ।

एकता प्रयासकै लागि दोस्रो तहका नेताहरुले वैठक गरी परिस्थिति बिग्रन नदिन आ–आफ्ना समूहका नेताहरुलाई आग्रह गर्ने निचोड निकालेका हुन् । शुक्रबार नेताहरुबीच द्विपक्षीय र बहुपक्षीय संवाद हुने अनुमान गरिएको छ ।