२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेकपा विभाजनबाट रोक्ने प्रयासः ओली र दाहालको भेटमा अर्का दुई नेता पनि बसे साक्षी


0
Shares

काठमाडौं, असार १९ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरुको अहं र कार्यशैलीका कारण फुटको डिलमा पुगेपछि विभाजन रोक्ने पहलहरु शुरु भएको छ ।

यी प्रयास स्वरुप दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी हुनुहुन्छ ।

अघिल्लो पटक दुई नेताबीच विवाद हुँदा पनि शक्ति साझेदारी गर्ने गरी सहमति गर्दा पौडेल र शर्मा साक्षी रहेकाले यस पटक पनि उहाँहरुलाई वार्तामा राखिएको हो ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले नयाँ नक्शा छापेपछि भारतले आफूलाई हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरु नै संलग्न रहेको प्रमाण आफूसँग रहेको बताएपछि ओलीबाहेकका अरु शीर्ष नेता एकातिर उभिएका छन् ।

उनीहरुले ओलीका कारण सरकार र पार्टी दुबै चल्न नसकेको कूटनीतिक सम्बन्धमा असर पारिएको लगायतका आरोप लगाउँदै प्रधानमन्त्री र अध्यक्ष दुबै पद त्याग्न दबाब बढाएका छन् ।

ओलीको राजीनामा बाहेक अरु विषयमा सहमति हुन नसक्ने पक्षमा दाहाल र माधव नेपाल पक्ष रहेका बेला दुई नेताबीचमा सहमति गराई समाधन खोज्ने प्रयास गरिएको हो ।

जारी स्थायी कमिटी बैठकमा अधिकांश नेताले आफ्नो चर्को आलोचना गर्दै राजीनामा मागेपछि रुष्ट हुनुभएका प्रधानमन्त्री ओलीले प्रतिक्रियामा बिना सल्लाह संसद बैठक अन्त्य गरिदिनुभएको छ ।

नेताहरुका कारण पार्टी विभाजन नै हुनेस्तरमा पुगेपछि शुक्रबार विहान नेकपाका दोस्रो पुस्ताका नेताहरू बसेर एकतालाई जोगाउन नेताहरुमाथि हस्तक्षेप बढाउनुपर्ने निचोड निकालेका थिए ।