काठमाडौं, असार २३ । नेपालको आन्तरिक राजनीतिक मामलामा चीनको हस्तक्षेप बढेको चौतर्फी चर्चा भइरहेका बेला चिनियाँ राजदूतले नेकपा नेता झलनाथ खनालसँग भेटवार्ता गर्नुभएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गर्नुभएको हो ।
पार्टीभित्रको सत्ता संघर्षमा पद त्यागको चरम दबाब खेपिरहनुभएका प्रधानमन्त्री केपी ओलीको विपक्षमा रहेका नेताहरुसँग राजदूत होउले लगातार भेट गर्नुभएको हो ।
यसअघि सोमबार उहाँले प्रधानमन्त्री ओलीकै विपक्षमा रहेका नेकपाका अर्का नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

खनालसँग भेटवार्ता गर्न राजदूत होउ मंगलबार बिहान खनाल निवास डल्लु पुग्नुभएको थियो । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको जनाइएको छ ।
दुबै पक्षले भेटमा भएको विषयवस्तु बारेमा सार्वजनिक नगरे पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको दाबी गरिएको छ ।
नेकपाभित्र विवाद बढेको बेला चिनियाँ राजदूत होउको बढ्दो सक्रियतालाई विश्लेषकहरुले नेपालको आन्तरिक राजनीतिमा चीनको दबदबाका रुपमा अथ्र्याएका छन् ।
यसअघि दल विभाजनका लागि सजिलो हुने अध्यादेश ल्याएका समयमा पनि नेकपाका बाँकी नेताहरू प्रधानमन्त्री ओलीका विपक्षमा उभिँदा चिनियाँ राजदूतको हस्तक्षेपकै कारण ओली पद त्याग्नुपर्ने अवस्थाबाट जोगिनुभएको थियो ।
अहिले पनि आफूलाई भारतले हटाउने खेल खेलेको र त्यसमा पार्टीभित्रैका नेताहरु संलग्न रहेको आरोप लगाएपछि ओलीविरुद्ध एकजुट भएका नेताहरुलाई राजदूत होउले एकएक गरेर भेट्दै सल्लाह दिइरहनु भएको हो ।
नेकपामा ओली एकातिर हुँदा अर्का अध्यक्ष दाहाल, नेताहरु माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्षका नेताहरु उहाँविरुद्ध एकजुट हुनुभएको छ ।
प्रधानमन्त्री केपी ओलीको कार्यशैली र रवैयाले पार्टी र सरकार दुबै अलोकप्रिय भएको भन्दै दुबै पदबाट हटाउन उहाँहरु सक्रिय भएकै बेला राजदूत होउको दौडधूप बढेको हो ।
प्रतिक्रिया दिनुहोस्