३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


म्याकेन्जीले दिइन् अर्बौ रकम दानमाः सम्बन्ध विच्छेद बन्यो परोपकारी पुल !


0
Shares

काठमाडौं, जेठ १५ । अमेजन प्रमुख जेफ बेजोसकी पूर्व पत्नी म्याकेन्जी बेजोसले आफ्नो सम्पत्तिको आधा हिस्सा दान गर्दै परोपकारी क्षेत्रमा लगाउने घोषणा गरेकी छिन् ।

यसै वर्षको शुरुमा जेफ र म्याकेन्जीले लामो पारिवारिक सम्बन्ध तोड्दै अलग अलग बस्ने निर्णय गरेका थिए । यी दुई दम्पत्तिबीचको सम्बन्ध बिच्छेद संसारकै महँगो मानिएको थियो ।

आफ्नो सम्पत्तिको ठूलो भाग दान गर्ने यो घोषणासँगै उनी वारेन बफेट र बिल गेट्स जस्ता अरबपति दाताहरुको समूह ‘गिभिङ प्लेड्ज’मा सामेल भएकी छिन् ।

आफ्नो सम्पत्तिको ठूलो हिस्सा संसारको हित रक्षाका लागि दान गर्ने प्रतीज्ञाको शुरुवात बफेट र गेट्स जस्ता अरबपतिले गरेका थिए । उनीहरुले संसारका अरबपति धनीहरुलाई आफ्नो सम्पत्ति सर्वहितका लागि खर्चन आह्वान पनि गरेका थिए ।

म्याकेन्जी बेजोसको सम्पत्ति ३७ बिलियन डलरभन्दा बढी रहेको अनुमान छ । सम्पत्ति दान गर्दै उनले आफुसँग रहेको धनराशी मध्ये ठूलो भाग परोपकार क्षेत्रमा लगाउँदा आनन्द लागेको पनि बताएकी छिन् ।

‘गिभिङ प्लेड्ज’ मा २३ देशका २०४ जना व्यक्ति, दम्पत्ति र परिवारले संलग्नताका लागि हस्ताक्षर गरिसकेका छन् । सन् २०१० मा यसरी हस्ताक्षर गर्नेमा न्यूयोर्कका पूर्व मेयर माइकल ब्लूमबर्ग, सीएनएनका संस्थापक टेड टर्नर र मनोरञ्जन अधिकृत बैरी डिलरलगायत थिए ।

यसैवर्ष पनि हेज कोषका अरबपति पल ट्यूडर जोन्स, अमेरिकी लगानी कम्पनी जीएमओका सह–संस्थापक जेरेमी ग्रान्थम, इमिराती व्यवसायी शेख मोहम्मद बिन मुसालम बिन हाम अल अमेरी जोडिएका छन् ।

यो प्रतीज्ञा कुनै बाध्यकारी कानुनी प्रबन्ध नभई एक सार्वजनिक प्रतिवद्धता हो । जसको माध्यमबाट संसारका धेरैभन्दा धेरै पैसावालहरुलाई परोपकारी क्षेत्रमा आकर्षित गर्नु हो । 

यही सूचीमा सन् २०१५ मा फेसबुकका संस्थापक मार्क जुकरबर्ग र पत्नी प्रिसिला चान जोडिँदै ९९ प्रतिशत शेयर असल कार्यका लागि दिने घोषणा गरेका थिए । एजेन्सी