१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्याग्दीमा बाढी पहिरोमा परेर १० जनाको मृत्यु, १२ जना बेपत्ता


0
Shares

म्याग्दी, असार २६ । म्याग्दीमा बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोमा पुरिएर अहिलेसम्म दश जनाको मृत्यु भएको छ । ती घटनामा परेका १२ जना बेपत्ता छन् ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार बाढी पहिरोमा परेर मालिका गाउँपालिका–७, विममा ८ जना र धवलागिरी–७, ताकममा दुई जनाको मृत्यु भएको हो ।

ढकालका अनुसार धवलागिरी–६, मराङमा बाढी पहिरोमा परेर १२ जना बेपत्ता भएका छन् । मराङमा २० घरधुरी, विममा १० घरधुरी र ताकममा ५ घरधुरीमा क्षति पुगेको र मृतकको पहिचान खुल्न बाँकी रहेको उहाँले बताउनुभयो ।

अविरल वर्षापछि आएको बाढीले बेनी–जोमसोम सडकखण्डअन्तर्गत गलेश्वरस्थित रघुगंगा खोलाको बेलिब्रिजमा क्षति पुर्‍याएको छ भने वस्ती जोखिममा परेको छ ।

यसबाट रघुगंगा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडा तथा अन्नपूर्ण गाउँपालिका र हिमालपारीको जिल्ला मुस्ताङसँगको यातायात नै टुटेको छ ।