काठमाडौं, असार २६ । उद्योगी व्यवसायीहरुले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले कुनैपनि राहत प्याकेज ल्याउन नसकेको दुखेसो पोखेका छन् ।
शुक्रबार काठमाडौंमा भेला भएका उद्योगी व्यवसायीहरुले सरकारले ठप्प भएको व्यवसायीक क्षेत्रलाई रेस्क्यु गर्ने प्याकेज नल्याउँदा अचम्मै लागेको समेत बताएका छन् ।
नेपाल जर्मन चेम्बर अफ कमर्शका अध्यक्ष अनुप बहादुर मल्लले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन र अर्थतन्त्रको साइकल कायम राख्न कुनै पनि कार्यक्रम सरकारले ल्याउन नसकेको बताउनुभयो ।
सरकारले निजी क्षेत्रलाई रेस्क्यु गर्ने भन्दा पनि ट्याक्स तिर्न दवाव दिने र बैंकले पनि व्यवसायीको खाताबाट रकम तान्दिने प्रवृतिले समस्या बढेको बताउनुभयो ।
सरकारले रिफाइनान्सको प्याकेज घोषणा गरेपनि लिनै नसकिने सर्तहरु राखेकाले कुनै औचित्य नभएको उहाँले बताउनुभयो ।
नेपाल अमेरिका चेम्बरका अध्यक्ष किरण शाक्यले ब्याजदरमा २ प्रतिशत छुट दिएर सरकारले राहत दिएँ भन्नु सबैभन्दा दुःखको कुरा भएको बताउनुभयो ।
उहाँले बैंकले ब्याज र किस्तालाई पूँजीकरण गर्न नमानेर व्यवसायीहरुलाई असहयोग गरेको बताउनुभयो ।
युरोपियन इकनमिक चेम्बरका महासचिव राजन शर्माले सरकार ढुवानी सहज बनाउन कुनै काम नगर्ने तर राजश्व उठाउन लागिपर्ने अवस्थाले व्यापार गर्न समस्या भएको बताउनुभयो ।
व्यवसायीहरुले आयात निर्यातमा ढुवानी लागत पाँच गुणासम्म बढेको, उत्पादित वस्तुको अर्डर नै आउन छाडेको लगायतका समस्याले निजी क्षेत्र मारमा परेको भन्दै व्यवसायीक क्षेत्रलाई उद्धार गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्