काठमाडौं, असार २६ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) हरूलाई धन्यवाद दिएको छ ।
मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर नेपालका मर्यादित संस्था र नेतृत्वलाई लाञ्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरूको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी सेवा प्रदायकले भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा धन्यवाद दिएको हो ।
मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले विज्ञप्ति जारी गरी आगामी दिनमा पनि सरोकारवालाबाट प्रचलित कानुन तथा आचारसंहिता परिपालना गर्नेर गराउने विषयमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।
केही भारतीय टेलिभिजनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको नाम जोडेर समाचार दिएका थिए ।
उक्त आधारहीन समाचारलाई लिएर भारतीय टेलिभिजन बन्द गर्नुपर्ने माग उठिरहेका बेला कतिपय केवल टेलिभिजन सेवा प्रदायकले भारतीय टेलिभिजनको प्रसारण बन्द गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्