१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एनआरएनएले मनायो भानुजयन्ती एवं अन्तर्राष्ट्रिय नेपाली भाषा दिवस, भानु सर्किट निर्माणका लागि प्रज्ञाको प्रस्ताव


0
Shares

bhanu jayenti NRNA nepal international leteracy

काठमाडौं, असार २९ । गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदले २०७ औं भानु जयन्ती एवं अन्तर्राष्ट्रिय नेपाली भाषा दिवस एक विशेष कार्यक्रम गरी मनाएको छ ।

संघ मातहतको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिले आइतवार अनलाईनमार्फत भानु जयन्ती एवं अन्तर्राष्ट्रिय नेपाली भाषा दिवसमा विशेष कार्यक्रम गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङले एनआरएन र प्रतिष्ठानले एकापसमा सहकार्य गरेर भाषा, साहित्यको क्षेत्रमा धेरै काम गर्न सक्ने बताउनुभयो ।

प्रतिष्ठानबाट प्रदान गरिने भानुभक्त पुरस्कारका लागि एनआरएनलाई सहयोग गर्न आग्रह गर्दै उहाँले भानु सर्किट निर्माणका लागि प्रतिष्ठान एनआरएनएसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

उपकुलपति गुरुङले भानु जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा दिवसका रुपमा मनाउन प्रतिष्ठानको तर्फबाट आवश्यक पहल गर्ने बचन पनि दिनुभयो ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले एनआरएन नेपाली भाषा, साहित्यको प्रवद्र्धनका लागि सहयोग गर्न तयार रहेको बताउनु भयो । अध्यक्ष पन्तले पुरस्कारका लागि सहयोग गर्ने र भानु सर्किटको प्रस्तावबारे छलफल गरेर अघि बढ्ने बताउनुभयो ।

एनआरएनका संस्थापक एवं पूर्वअध्यक्ष जीवा लामिछानेले आफ्नो कार्यकालमा प्रज्ञा प्रतिष्ठान र एनआरएनबीच आपसी सहकार्य गरेर जाने सम्झौता भएकाले सोही अनुसार अघि बढ्न सुझाव दिनुभयो ।

एनआरएन भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिका अध्यक्ष हिक्मत थापाले स्वागत गर्नुभएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डा. हेमनाथ पौडेल, प्रतिष्ठानका पूर्व सदस्यसचिव डा. तुलसीप्रसाद भट्टराई, भाषाविद प्राध्यापक डा. माधवप्रसाद पोखरेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

यसैगरी रुसमा बसेर लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा योगदान गरिरहनु भएका कृष्णप्रकाश श्रेष्ठ, नेपालीभाषी भुटानी मूलका साहित्यकार डा. लक्ष्मीनारायण ढकाल (हाल अमेरिका) र म्यान्मारमा रहनु भएका नेपालीभाषी साहित्यकार प्रवीणहरि प्रधान ‘भिक्टर’ लगायतका प्राज्ञ एवं साहित्यकारले नेपाली भाषाको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको योगदान, नेपाली भाषा साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न भैरहेका प्रयास र यसका चुनौती एवं गैर आवासीय नेपालीले भाषा र साहित्यको क्षेत्रमा गरिरहेको योगदानका बारे चर्चा गर्नु भएको थियो ।

एनआरएनएले यसरी बृहत रुपमा नेपाली साहित्य र भाषाका विशिष्ठ व्यक्तित्वहरुलाई सहभागी गराएर पहिलोपटक यस्तो अन्तरक्रिया कार्यक्रम गरेको हो ।

करीब तीन घण्टा लामो कार्यक्रमको संचालन समितिकी सदस्य सचिव एवं प्रवासी प्रवाह कार्यक्रमकी संचालक भगवती बस्नेत र समितिका मिडिया कोअर्डिनेटर गौतम दाहालले गर्नुभएको थियो ।