
काठमाडौं, असार २९ । नेपालमा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपले वितण्डा मच्चाउनुमा भारतीय हस्तक्षेप कारक रहेको गृहमन्त्री रामबहादुर थापाले आरोप लगाउनुभएको छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले भन्नुभयो, ‘भारतले आफू अनुकुल हुने गरी सीमामा बाँध बनाएको छ । जसले गर्दा नेपालमा क्षति भइरहेको छ । बाह्य हस्तक्षेपका कारण पनि नेपालमा प्रकोप बढेको छ ।’
सीमामा आफ्नो मात्रै हितमा बाँध बनाउनु एक प्रकारको राजनीतिक हस्तक्षेप नै हो भन्दै थापाले नेपालले पटक पटक सीमामा बनाइएका बाँधबारे कुरा उठाए पनि भारतले नटेरेको बताउनुभयो ।
सीमाका बाँधबारे समस्या समाधान गर्न पटक–पटक प्राविधिक कार्यदल गठन गरिए पनि सुझाव कार्यान्वयन हुन नसकेको भन्दै गृहमन्त्री थापाले नेपालमा प्राकृतिकभन्दा मानवीय कारणले विपत्ति निम्तिएको जिकिर गर्नुभयो ।
अवैज्ञानिक विकास विपत्तिको मुख्य कारण हो भन्दै उहाँले राज्यले बनाएको कानुन प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो । सिन्धुपाल्चोकमा अव्यवस्थित बस्तीका कारण ठूलो क्षति भएको भन्दै उहाँले बस्तीहरुलाई व्यवस्थित पार्नेुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्