
काठमाडौं, असार २९ । कोरोना भाइरसको कहरका समयमा विश्वभर स्वास्थ्यकर्मीहरूको बोली बन्द गराउने, जोखिममा पार्ने र आक्रमण गर्ने काम भएको एम्नेष्टी इन्टरनेशनलले जनाएको छ ।
सोमबार एक प्रतिवेदन सार्वजनिक गर्दै एम्नेष्टी इन्टरनेसनलले कोभिड १९ बाट संरक्षण प्रदान गर्न नसकी स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाकर्मीको मृत्युमा सरकारहरूलाई जवाफदेही बनाइनुपर्ने जनाएको छ ।
कोभिड १९ का कारण संसारभरका तीन हजारभन्दा बढी स्वास्थ्यकर्मीले ज्यान गुमाउनुपरेको भन्दै सुरक्षा जोखिमका कुरा उठाउने स्वास्थ्यकर्मीलाई गिरफ्तार गर्ने, हिरासतमा राख्नेदेखि धम्की र निष्कासनसम्मका प्रतिशोध सामना गर्नुपरेको एम्नेस्टीले जनाएको छ ।
‘कोभिड–१९ महामारी विश्वभरी अझै थप फैलिरहेको अवस्थामा हामी सरकारहरूलाई स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीहरूको जीवनलाई गम्भीरताका साथ लिन आह्वान गर्दछौँ । कोभिड–१९ महामारीको खराब उत्कर्ष अझै नब्यहोरेका देशहरूले अन्य देशहरूको गल्ती दोहोर्याउन हुँदैन जसले स्वास्थ्यकर्मीहरूको अधिकार संरक्षण गर्न नसेको कारण विनाशकारी परिणामहरू भोग्नुपर्यो’ एम्नेस्टी इन्टरनेसनलका आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसम्बन्धी अनुसन्धानकर्ता र सल्लाहकार सनिता अम्बास्टले भन्नुभयो ।
एम्नेष्टीले भनेको छ, ‘आफ्नो जीवनलाई नै जोखिममा पार्न सक्ने अवस्थाहरूका बारेमा आवाज उठाउने स्वास्थ्यकर्मीहरूलाई केही सरकारले त सजायँनै गरेको देखिनु एकदमै चिन्ताजनक छ । अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरूले नै कुनै सरकारी नीतिले काम गरेको छ वा छैन भनी सबैभन्दा पहिला थाहा पाउँदछन् र उनीहरूलाई चुप लगाउने अधिरकारीहरूले जनस्वास्थ्यलाई प्राथमिकतामा राखेका छन् भनेर गम्भीरताका साथ दाबी गर्न सक्दैनन् ।’
तीन हजारभन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भएकामा सबैभन्दा धेरै रसिया ५४५, अमेरिकामा ५०७, बेलायत २६२ सामाजिक सेवाकर्मीहरू सहित ५४०, ब्राजिल ३५१, मेक्सिको २४८, इटली १८८, इजिप्ट १११, इरान ९१, इक्वेडर ८२ र स्पेन ६३ रहेको एम्नेष्टीले उल्लेख गरेको छ ।
एम्नेस्टी इन्टरनेसनलले सर्भे गरेको ६३ देश र भुभागमध्ये प्रायः सबै ठाउँका स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षात्मक सामग्रीको गम्भीर अभाव झेलेको पाइएको जनाएको छ । यो अवस्था भारत र ब्राजिल लगायत अफ्रिकाका थुप्रै देशमा अझै देखिन बाँकी रहेको पनि उसले जनाएको छ ।
मेक्सिकोमा त चिकित्सकको मासिक पारिश्रमिकबाट १२ प्रतिशत काटेर सुरक्षात्मक सामग्री खरिद गर्न लगाइएको छ ।
असुरक्षित अवस्थाका काम गर्न नसक्ने भन्दै हड्ताल गरेका वा गर्ने चेतावनी दिएकाहरुमाथि ती देशका अधिकारीहरूले प्रतिशोध साँध्ने गरेको भेटिएको छ । इजिप्टमा नौजना स्वास्थ्यकर्मीलाई यसैगरी हिरासतमा लिइएको थियो ।
सरकारका कमजोरीबारे बोल्ने डाक्टरहरुलाई धम्क्याउने, राष्ट्रिय सुरक्षा निकायबाट केरकार गर्ने, प्रशासनिक प्रश्नवाजी गर्ने र सजायँ गर्ने गरिएको एम्नेस्टी इन्टरनेसनलले उल्लेख गरेको छ ।
अमेरिकामै नर्सिङ्ग सहायक टैनिका सोमर्भिललाई सुरक्षात्मक समग्री माग गर्दै फेसबुकमा भिडियो राखेको भन्दै कामबाट बर्खास्त गरियो ।
सुरक्षात्मक सामग्रीको अभवाका बारेमा गुनासो गरेकै कारण रसियामा चिकित्सकलाई मुद्दानै लगाइएको छ । कतिको पारिश्रमिक नदिने जस्ता समस्या पनि देखिएका छन् । स्वास्थ्य र अत्यावश्यक कर्मचारीले आफ्नो पेशाको कारण बदनामी र हिंसाको सामना गर्नुपरेको पनि एम्नेष्टीले जनाएको छ ।
सबै स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीहरूलाई पर्याप्त क्षतिपूर्ति सुनिश्चित गर्नु, प्रतिशोधयुक्त कार्वाहीमा छानबिन गर्न, बोलेकै कारण रोजगारी गुमाएकाहरूलाई पुनस्र्थापित गर्न एम्नेष्टीले अपील पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्