१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


प्रधानमन्त्री ओलीको अर्को विवादास्पद उद्घोषः भारतले नक्कली अयोध्या खडा गर्‍यो, राम भारतीय होइनन्


0
Shares

kp oli nepal india aayodhya ram laxman balmiki

काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी ओलीले भारतले नक्कली अयोध्या खडा गरेको र भगवान् राम भारतीय पनि नभएको भन्दै अर्को विवादास्पद उद्घोष गर्नुभएको छ ।

भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नक्कली अयोध्या खडा गरेर भारतले सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाउन पनि भ्याउनुभयो ।

नेपाल सांस्कृतिक हिसाबले थिचिएको भन्दै प्रधानमन्त्री ओलीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको जिकिर गर्नुभयो ।

यसो भन्दा आफ्नो आलोचना हुने भन्दै उहाँले थप्नुभयो, ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौं । तथ्यहरूमा अतिक्रमण भएको छ । हामी अहिले सीता भारतका राजकुमार रामलाई दियौं भनेर ठानिरहेका छौं । भारतका हैन अध्योध्याकालाई दिएका हौं । अयोध्या भनेको वीरगन्जभन्दा अलि पश्चिमपट्टिको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या भीषण विवाद छ त्यहाँ ।’

अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मिकी आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीको भएको दाबी गर्दै उहाँले भन्नुभयो, ‘(दशरथका) सन्तान (राम) पनि भारतीयका हुँदै होइनन्, ठाउँ (अयोध्या) पनि भारतीयको होइन । ठाउँ पनि नेपालको हो ।’

भारतले भनेको अयोध्या सही हुन्थ्यो भने त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भन्ने प्रश्न गर्दै ओलीले ‘त्यसबेला न टेलिफोन न मोबाइल कताबाट थाहा होस्, थाहा हुन सम्भव थिएन । नजिकै खोजिन्थ्यो र बिहे भइहाल्थ्यो’ भन्नुभयो ।

रामले सीतालाई (अहिले भनिँदै आएको) अयोध्याबाट त्यत्रो दिन लगाएर वाल्मिकी आश्रममा छोडेको होइन भन्ने दलिल पेश गर्दै उहाँले भन्नुभयो ‘जंगलमा यसो परतिर लगेर छोडिदिनु भनेको ठाउँमा लक्ष्मण भाउजु लिएर महिनौं हराएका होइनन् । खुर्रर वाल्मिकी आश्रम पुर्‍याइदिए, फर्किए ।’