
काठमाडों, असार ३० । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका, सोतीमा भएको हत्याकाण्डबारे छनबिन गर्न गठित संसदीय समितिले आज प्रतिवेदन बुझाउने भएको छ ।
दिउँसो ४ बजे सिंहदरबारमा रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका, सोती घटना छानबिन संसदीय विशेष समितिले सभामुख अग्नि सापकोटालाई प्रतिवदेन बुझाउने सभामुखको सचिवालयले जनाएको छ ।
अन्तरजातीय विवाहसँग जोडिएको उक्त घटनामा जेठ १० गते नवराज बिकसहित ६ जना मारिएका थिए । नवराजको सोतीका मल्ल थरकी केटीसँग प्रेम भएको र आफ्नी प्रेमिकालाई लिन भनि गएका नवराजसहित १९ युवा मध्ये ६ जनालाई मारेर भेरी नदीमा फालिएको दाबी केटा पक्षले गरेका थिए ।
घटनामा संलग्न भएको आरोपमा सोतीका वडाध्यक्षसहित ३४ जनाभन्दा बढी स्थानीयलाई प्रतिवादी बनाई कर्तव्य ज्यान मुद्दामा चलाइएको छ । घटनाको सर्वत्र आलोचना हुने क्रममा सांसदहरुले संसदीय छानबिनको माग गरेपछि छानबिन समिति बनाइएको थियो ।
२०७७ जेठ २६ को प्रतिनिधि सभा बैठकबाट रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको थियो ।
समितिलाई काम थालेको मितिले एकमहिना भित्र प्रतिवेदन तयार गरी पेश गर्न कार्यादेश थियो ।
प्रतिक्रिया दिनुहोस्