
काठमाडौं, असार ३१ । भारतका पूर्व केन्द्रीय मन्त्री एवं कांग्रेस आईका नेता करण सिंहले अयोध्या र रामबारे नेपालका प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिले विश्वभरका हिन्दू धर्मावलम्बी मर्माहत बनेको टिप्पणी गर्नुभएको छ ।
रामको जन्म पूर्वी नेपालको एक गाउँमा भएको र भारतले कृत्रिम अयोध्या तयार गरेको भन्दै ओलीले दिएको अभिव्यक्तिले आफू आश्चर्यचकित भएको सिंहको भनाइ छ ।
भारतका मात्र नभएर नेपालका अनि विश्वभरका करोडौं हिन्दू धर्मावलम्बी मर्माहत भएको भन्दै सिंहले प्रधानमन्त्री ओली सकेजति जे पनि गर्न उद्धत रहेको आरोप पनि लगाउनुभएको छ ।
ओलीको राम र अयोध्या अभिव्यक्तिले दुई देशबीचको दूरी अझ बढाउन खोजेको भन्दै सिंहले दुबै देशका बौद्धिक बर्गले दुई देशबीचको वर्षौँदेखिको सुमधुर सम्बन्ध पुनर्बहाली गर्न काम गर्नुपर्ने आग्रह पनि गर्नुभएको छ ।
यसैबीच भारतका विश्व हिन्दू परिषद, श्री राम जन्मभूमि ट्रष्ट र आयोध्याका सन्तहरुले नेपालका प्रधानमन्त्री ओलीलाई भगवान रामलाई क्षेत्रीय राजनीतिबाट टाढा राख्न आग्रह गरेका छन् ।
विश्व हिन्दू परिषदका क्षेत्रीय प्रवक्ता शरद शर्माले नेपालका प्रधानमन्त्रीले चीनको आदेशमा गलत दाबी गरेको आरोप लगाउनुभयो ।
पछिल्लो समय भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा सडक बनाएपछि नेपालले त्यसको प्रतिवाद गर्दै नयाँ नक्शा जारी गरेको छ । दुई देशबीच संवादसम्म हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्