
काठमाडौं, जेठ २० । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं सांसद भीम रावलले मुलुकमा विदेशीहरुको चियोचर्चो ह्वात्तै बढेको तर सरकार निरीह देखिएको भन्दै ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको वैठकमा भाग लिँदै उनले एउटा देशको राजदूतले भियना सन्धिको खुलेआम उल्लंघन गर्दै काम गरिरहँदा सरकारले केही गर्न नसकी निरीह बनेको टिप्पणी गरे । कुरा मात्र गरेर हुँदैन राष्ट्रिय अखण्डता र स्वाभीमान जोगाउनेतर्फ सरकारले तत्काल ध्यान दिओस् उनले भने ।
‘निरंकुशतन्त्रहरुले समेत रक्षा गरेका हाम्रा सीमाहरु किन लोप हुँदैछन्’ भन्दै रावलले ‘यस्ता विषय नीतिगत तहमा आएर मात्र हुँदैन, व्यवहारमै कार्यान्वयनमा होस् र बजेटले यता ध्यान दिन सकोस्’ भन्ने सुझाव दिए ।
धर्म प्रचारक संस्थालाई प्रश्रय दिएकामा आक्रोश
एकपछि अर्को गर्दै धर्म प्रचारक संस्थालाई देशमा भित्र्याइएर तिनीहरुलाई प्रश्रय दिन थालिएको भन्दै उनले आपत्ति पनि जनाए । एक विश्वविद्यालयको नाममा क्रिष्चियन धर्म प्रचार गर्ने संस्थासँग प्रधानमन्त्री स्वयंले उपाधि लिएको तर्फ इंग्गित गर्दै नेता रावलले यसले के सन्देश गइरहेको छ भन्ने प्रश्न गरे ।
नागरिकता वितरणसम्बन्धि सरकारको नीतिको आलोचना गर्दै रावलले जुन ढंगले काम गरिरहेका छौं त्यो कति सही छ भन्ने निक्र्यौल गर्न आग्रह गरे । उनले सोचविचार पुर्याएर राष्ट्रिय परिचय पत्र लागु गर्न आग्रह पनि गरे ।
प्रतिक्रिया दिनुहोस्